Comments Add Comment

खानेपानी संस्थानले पनि थाल्यो जारमा पानी बिक्री

प्रतिजार ४७ रुपैयाँ, एक महिनापछि बोतलमा पनि

९ भदौ, काठमाडौं । खानेपानी संस्थानले पनि जारमा पानी बिक्री थालेको छ । खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले शुक्रबार मिनरल वाटर आयोजनाको उद्घाटन गरे ।

संस्थानले काभ्रेको पनौति-७ मा प्लान्ट राखेको छ । नगरपालिकाले उपलब्ध गराएको सात आनामा उद्योग सञ्चालनमा आएको हो ।

उक्त प्लान्टबाट उत्पादित पानी २० लिटरको प्रतिजार ४७ रुपैयाँ कायम गरिएको छ, जुन होलसेल मूल्य हो ।

उक्त प्लान्टबाट प्रतिघण्टा एक हजार ६ सय लिटर पानी उत्पादन हुने छ । एक करोड १५ लाख रुपैयाँमा उक्त आयोजना सम्पन्न भएको मन्त्रालयका सचिव भीम उपाध्यायले जानकारी दिए ।

जारको पानी बिक्रीमा हालसम्म निजी क्षेत्र मात्र संलग्न थियो । सरकारी उत्पादन पहिलोपटक बजारमा आउन लागेको हो । निजी क्षेत्रले होलसेल मूल्य ४० रुपैयाँमा जारको पानी उपलब्ध गराउँछन्, जसको खुद्रा मूल्य ५० रुपैयाँ पर्छ ।

यस हिसाबले सरकारी जारको मूल्य निजीको भन्दा महँगो पर्नेछ ।

‘अहिलेलाई सरकारी कार्यालयहरुमा वितरण गर्ने योजना छ,’ सचिव उपाध्यायले भने, ‘आयोजनालाई विस्तार गर्दै लैजाने योजना छ ।’

एक महिनापछि बोतलमा पनि मिनरल वाटर बजारमा ल्याइने मन्त्रालयले जनाएको छ । गुणस्तरमा सम्झौता नगरिने सचिव उपाध्यायको कथन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment