Comments Add Comment

एनआरएनको राहत वितरण सम्पन्न, चार हजार परिवार लाभान्वित

पीडामा सानो मल्हममात्रै लगायौं, सहयोगी सबैलाई धन्यवादः घले

९ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)ले चार दिनको अवधिमा सप्तरीका चार हजार बाढीपीडित परिवारलाई राहत वितरण गरेको छ । गत मंगलबारबाट सुरु भएको राहत वितरण कार्य शुक्रबार सम्पन्न भएको छ ।

राहत वितरणको अन्तिम दिन शुक्रबार कोहिलारी, बसाईन र कोमध्यपुराका एक हजार पाँच सय परिवारलाई राहत बाँडिएको छ । यसअघि एनआरएन टोलीले तिलाठी, बोदेबर्साइन, तिरहुत लगायतका स्थानमा पुगेर राहत बाँडेको थियो । बाढीपीडित परिवारलाई त्रिपाल, झुल, चामल, दाल, नुन, तेल लगायतका सामाग्रीसहितको प्याकेज वितरण गरिएको छ । प्रतिपरिवार झण्डै ६ हजार रुपैयाँको राहत प्याकेज हस्तान्तरण गरिएको एनआरएनले जनाएको छ ।

राहत वितरण सकिएलगत्तै एनआरएन अध्यक्ष शेष घलेले घर र परिवार गुमाएका दाजुभाइ दिदीबहिनीको पीडामा सानो मल्हम मात्रै लगाएको बताए । उनले भनेका छन्, ‘चार दिनमा हामीले सप्तरीका झण्डै चार हजार परिवारलाई प्रति परिवार झण्डै ६ हजार रुपैयाँको राहत प्याकेज हस्तान्तरण गरेका छौं । घर र परिवारका सदस्य गुमाएको पीडामा रहेका दाजुभाइ दिदीबहिनीका लागि यो ठूलो सहयोग हैन, तर हामी बिदेशमा रहेका नेपालीहरुले उहाँहरुको घाउमा लगाएको सानो मल्हम मात्र हो ।’

नेपालमा बाढी र डबान हुनासाथ संघले आपतकालिन राहत कोष स्थापना गर्दै रकम संकलन अभियान थालेको थियो । अध्यक्ष घले र उनकी पत्नी जमुना गुरुङले कोषमा एक करोड रुपैयाँ दान गरेका थिए । झण्डै दुई करोड रुपैयाँ संकलन गरी एनआरएन टोली नेपाल आएको थियो ।

एनआरएन अध्यक्ष शेष घलेले आजबाट राहत वितरण सकिएको जानकारी दिँदै राहत वितरणको अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘बिभिन्न मुलुकमा रहेर योगदान गर्ने सबै गैरआवासीय नेपाली साथीहरुलाई हार्दिक आभार प्रकट गर्दछु जसले ४२ डिगि्रको तापक्रममा खटिएर राहत वितरण गर्नुभयो ।’

अध्यक्ष घलेले गृहमन्त्री, सप्तरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी, स्थानीय स्वयंसेवी, राहत सामाग्री खरिद व्यवस्थापन र ढुवानीमा सक्रिय गैरआवासीय नेपाली तथा संघको सचिवालयका सदस्यहरु, राहत वितरणका लागि दिनरात नभनी खटेका गैरआवासीय नेपाली स्वयंसेवक तथा टीम लिडर, मेडिकल क्याम्पमा सहभागी टोली र स्वास्थ्यकर्मीहरुमा आभार प्रकट गरेका छन् ।

घलेले फेसबुमा लेखेका छन, ‘यो प्रक्रियामा सहयोग गर्ने सबै साथीहरुमा हार्दिक आभार, यहाँहरुको अमूल्य सहयोग गैरआवासीय नेपाली संघले सदैव सम्झिरहने छ ।’

गैरआवासीय नेपाली संघले यस्तो विपत मुलुकलाई फेरि नपरोस् र बिपत परिहाले पनि त्यसको व्यवस्थापनका लागि सरकारी तहबाट पर्याप्त पूर्वतयारी होस् भन्ने कामनासमेत गरेको छ ।

एनआरएनले बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ । शिविरमा उपचारका लागि आएकाहरुलाई निःशुल्क स्वास्थ्य जाँच र निःशुल्क औषधि वितरण गरेको छ । दुषित पानीका कारण धेरैजसोमा झाडापखाला, आउँ लगायतका बिरामी धेरै छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment