+
+

गिद्धको साँस्कृतिक साईनो

कृष्णप्रसाद भुसाल कृष्णप्रसाद भुसाल
२०७४ भदौ १५ गते ११:२१

हामीलाई थाहा नै छ गिद्ध आफै शिकार नगरी मरेका जनावरको सिनो मात्र खाँने एक मांसाहारी चरा हो । ‘प्रकृतीको कूचिकार’ यस पंक्षीले हाम्रो वरपर रहेको सिनो र मासुजन्य फोहरलाई खाई प्रदुषित र दुर्गन्धित वातावरणलाई स्वच्छ र सफा राखी  विभिन्न महामारी सरुवा रोगहरु हैजा रेबिज प्लेग एन्थ्राक्स फैलनबाट रोक्न मद्दत गर्दछ ।

पर्यावरणीय चक्र र खाद्यशृङखला सन्तुलित र गतिशील राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने यस पंक्षीको उपस्थिति पारिस्थितिकीय स्वास्थताको अनिवार्य आवस्यकता हो । तर, हामी धेरैलाई गिद्धको कतिपय मानव जातिको संस्कारसँगको सम्बन्धबारे जानकारी नहुन पनि सक्छ । आज नवौं अन्तराष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा यसपाटोमा मन्थन गर्ने प्रयास गरिएको छ ।

गिद्धको पर्यावरणीय मात्र होइन धर्मशास्त्र, रितिरिवाज र संस्कारमा पनि छुट्टै महत्व छ । जस्तो हिन्दू धर्ममा गिद्धलाई सनी देवताको बहानको रुपमा पुजिन्छ । प्रसिद्ध धर्मग्रन्थ रामायणमा पनि रावण राक्षसले सीताहरण गरी लंका लैजादै गर्दा सीतालाई बचाउन रावण सँग रक्षक न्यायिक योद्धाको भूमिका निर्वाह गरेको उल्लेख छ ।

यहाँ अब हामी नेपालको माथिल्लो मुस्ताङको जनजीवन, धर्मसंस्कार र त्यससँग गिद्धको सम्बन्धका बारे चर्चा गरौ । माथिल्लो मुस्ताङ नेपालको भौगोलिक, जैविक, राजनैतिक, सामाजिक र साँस्कृतिक परिदृश्यमा अनुपम, अलग र विशिष्ट पहिचान भएको स्थान हो ।

माथिल्लो मुस्ताङ नेपालमा हिमाली गिद्ध र हाडफोर गिद्धको उच्च घनत्व भएको सम्भवत सर्वाेउत्कृष्ट वासस्थान पनि हो । यी गिद्धहरु यहाँका गुˆफा, ओडार, छाडिएका गुम्बा र प्राचिन मानववस्तीमा गुड बनाउँछन ।

भौगोलिक हिसाबले तिब्बती पठार जस्तो बनावट भएको उक्त क्षेत्र धर्म, भाषा, भेषभुषा, रहनसहन, संस्कार र संस्कृतिमा पनि समान छ । यस क्षेत्रमा बस्ने तिब्तीयन मूलका लामा समुदाय र मुस्ताङी गुरुङहरुको मृत्यु संस्कार अनुसार मृत आफन्तको शव गिद्धलाई खुवाउने चलन प्राचीनकालदेखि नै प्रचलित छ । यसर्थ गिद्धलाई मृतक (आत्मा)लाई स्वर्ग पुराउने दुतका रुपमा लिने गरिन्छ ।

जब कुनै व्यक्तिको देवासन हुन्छ तब लामा(पुजारी)ले त्यसको अन्त्येष्टी गर्ने समय र विधि बारे जोखना हेर्दछन । मूलभूत रुपमा उनले दाहसंस्कारका चार विधि गिद्धलाई खुवाउने, जलाउने, गाडने र पानीमा बगाउने -माछालाई खुवाउने) मध्ये कुनै एक प्रक्रिया खुट्टयाउने लोमान्थाङ्गका टासी उङ्गेलको भनाइ छ । तर, व्यवहारिकतामा प्राय गिद्धलाई लै खुवाउने गरिन्छ किनकी त्यहाँ जलाउन प्रसस्त दाउरा र जडिबुटी आवस्यक पर्नु, गाड्न त्यहाँको माटो (जमिन) अनुपयुक्त र अस्थिर हुनु र बगाउन पनि सधै खोलामा प्रयाप्त पानी नहुँदा यदी विधिमा त्यस्तो देखिए पनि आंशिक भागमात्र त्यसो गरी बाँकी गिद्धलाईनै खुवाउने छुसाङ्ग ७ का ठाकुर गुरुङ बताउँछन् ।

लामाले तय गरेको समय र स्थानमा शवलाई लगिन्छ र टुक्रा-टुक्रा पारी तान्त्रिक मन्त्र उच्चारण गर्दै गिद्धलाई आमन्त्रित गरिने याराका छेन्दुप गुरुङ्ग भन्नुहुन्छ । यसरी खुवाउदा शवलाई छिटो र सम्पूर्ण रुपमा गिद्धले खाए भने उक्त ब्यक्ति धर्माप्त भएको मानिने र अन्यथा पापी अथवा अपसगुन मानिने जनविश्वाश रहेको चोसेरका छोजेन लामा बताउनुहुन्छ ।

अन्त्यमा बचेको खप्पर र हाडहरुलाई समेत टुक्राई गिद्धहरुलाई खुवाउने स्याङमोचेनका झसेङ्ग तेन्जिङ्ग प्रस्ट्याउनुहुन्छ जसलाई विज्ञहरु चरालाई आवस्यक पर्ने क्यालसियम लगायत अन्य तत्व उपलब्धताको महत्वपूर्ण कडी ठान्दछन । हिमाली गिद्धले मासु र हाडफोर गिद्धले बचेेका हाडहरुलाई टुक्राई त्यस भित्रको मासी र साना टुक्रा खाई शवको पूर्णरुपमा अन्त्यष्टी गर्न सघाउ पुर्‍याउँछन ।

यसरी माथिल्लो मुस्ताङका करिव ९० प्रतिशत भन्दा बढी समुदाएको शव अन्तेष्टी संस्कार र गिद्धको सम्बन्ध प्राचिनकालदेखि अनोन्यास्रित र घनिष्ट रहँदै आएको छ । पछिल्लो दशकमा त्यस क्षेत्रमा पनि गिद्धको संख्या क्रमशः ओरालो लागेको विभिन्न अनुसन्धान प्रतिवेदन र स्वयम स्थानीयबासीको भोगाई अनुभवले बताउँछ । जसले त्यस क्षेत्रको यउटा प्रमुख संस्कार र आस्था प्रभावित हुँदैछ भने एउटा प्रजाती लोपको सुदूर संकेतले मानवजातीलाई हाँक दिइरहेको छ ।

विश्वका भ्रमण प्रेमीहरुका लागि उत्कृष्ट गन्तब्यको पहिचान गर्ने लन्ली प्लानेटले माथिल्लो मुस्ताङलाई विश्वका प्रमुख तीन गन्तब्यमा राखेको छ ।

यहाँ वाषिर्क हजारौ पर्यटकहरु अतिरिक्त शुल्क तिरेर आउँछन र उनीहरुको आर्कषणको एउटा पाटो यहाँको संस्कृती रितिरिवाज र यस्ता अपवाद जैविक सम्बन्ध पनि हुन जुन त्याहाँका स्थानीयवासीको प्रमुख आयस्रोत हो । यसर्थ गिद्ध खाद्यशृङ्खलाको संयोजक र जैविक विविधताको महत्वपूर्ण सूचक मात्र होइन लाखौं मानिसहरुको धार्मिक र साँस्कृतिक आस्थाको धरोहर र आर्कषणको केन्द्र पनि हो ।

यस प्रकारको चलन नेपालका अन्य माथिल्लो हिमाली क्षेत्रहरु जस्तै मनाङ डोल्पा लगायतका क्षेत्रहरुमा पनि प्रचलनमा छन ।

अत, पारिस्थितिक मात्र होइन धार्मिक र सांस्कृतिक महत्व बोकेका प्रकृतिको अभिन्न अङ्ग गिद्ध र तिनको वासस्थान संरक्षण तिनको लोपको प्रमुख तत्व डाइक्लोफेनेक र अन्य विषहरुको प्रयोगमा निरुत्साहित गर्न र प्रतिवन्ध लगाउन र गिद्ध संरक्षण सचेतना अभिवृद्धिका लागि आम सरोकारवाला निकाय र समुदाय सबैले हातेमालो गरी हाम्रो साँस्कृतिक चालचलनको सम्वर्द्धनका साथै जैविक सन्तुलन र सनातन खाद्यचक्रलाई दीर्घकालसम्म कायम राखी पूर्खा र प्रकृतिको यो सुन्दर नासो भावि पुस्तामा हस्तान्तरणका लागि जिम्मेवार बनौ ।  (लेखक नेपाल पन्छी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम अधिकृत हुन् । )

तस्वीरहरू, राजेन्द्र गुरुङ, महासचिव, नेपाल पन्छी संरक्षण संघ

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?