+

गर्मीमा घमौराबाट कसरी बच्ने ?

२०८१ जेठ  ७ गते १४:२३ २०८१ जेठ ७ गते १४:२३
गर्मीमा घमौराबाट कसरी बच्ने ?

गर्मीयाममा छालासम्बन्धी विभिन्न रोगले सताउँछ । त्यसमध्ये एक हो घमौरा आउनु । विशेषगरी तराई क्षेत्रमा त यो आम स्वास्थ्य समस्या नै बन्छ । घमौरा पसिनाको ग्रन्थीहरुबाट आउने एक प्रकारको संक्रमण हो, जुन पसिना ग्रन्थीका प्वालहरु कुनै बन्द भएमा आउने गर्छ । अर्थात् छालामा पसिनाका कारण आउने स-साना बिमिरालाई घमौरा भनेर बुझिन्छ । यसलाई चिकित्सकीय भाषामा मिलिरिया भनिन्छ ।

अत्याधिक पसिना आउँदा, छालामा धुलोमैलो जम्मा हुँदा, गर्मीमा बाक्लो लुगा लगाउँदा, प्रदूषित वातावरणको कारण प्वाल बन्द हुनसक्छ । छाला चिलाउने, छालामा रातो-रातो बिमिरा आउने, पोल्ने, शरीर गन्हाउने जस्ता लक्षण घमौरा आउँदा देखापर्छ ।

पसिना निस्कने प्वाल तीन तरिकाले बन्द हुनसक्छ । छालाको सबैभन्दा माथिको पसिना निस्कने प्वाल बन्द भएर आउँछ । यसलाई मिलिरिया क्रिस्टालिना भनिन्छ । जसमा स-साना पानीको थोपाजस्तो देखिन्छ र बिमिरा आउँछ । अधिकांशलाई आउने यही प्रकारको घमौरा हो ।

पसिना निस्कने ग्रन्थीको ट्युबको बीचको भागमा बन्द भएर आउने घमौरालाई मिलिरिया रुब्रा भनिन्छ । यसमा रातोरातो बिमिरा देखिने हुन्छ । त्यस्तै पसिना ग्रन्थीको सबैभन्दा तल्लो भित्रको भाग बन्द भएर आउने घमौरालाई मिलिरिया प्रोफन्डा भनिन्छ ।

सलाई बढी आउँछ घमौरा ?

घमौराको समस्या सबैलाई हुनसक्छ । तर यसको समस्या भर्खरै जन्मेका शिशु र ज्वरो आउने बेलामा धेरै हुन्छ ।

किन हुन्छ ?

किनभने शिशुहरुमा पसिनाको प्वाल राम्रोसँग विकास भएको हुँदैन । त्यसैले शिशुको पसिना निस्कने प्वाल बन्द हुन्छ । जसकारण घमौराको समस्या हुन्छ । साथै ज्वरो आउँदा शरीरमा तापक्रम बढ्दा आउँछ । शिशु र ज्वरो आउँदा पानीको स-साना फोकाजस्तो देखिने मिलिरिया किस्टेरिया आउने गर्छ ।

त्यस्तै क्षयरोग, मधुमेह, थाइराइड, नसासम्बन्धी समस्या, क्यान्सर, मानसिक रोगका  बिरामीलाई पनि घमौराको समस्या हुन्छ । यी रोगका बिरामीमा पसिना धेरै आउने भएकाले प्वाल बन्द हुनपुग्छ ।

कस्सिएको कपडा लगाउँदा, पसिना नसोस्ने कपडा लगाउँदा, लामो समयदेखि बेडरेस्टमा भएका व्यक्तिलाई, पसिना निकाल्ने औषधिको प्रयोग, मोटोपन भएमा हुनसक्छ । त्यस्तै महिनावारी सुक्ने बेलामा महिलालाई यसको समस्या हुनसक्छ । यसबेला इरिटेसन भएर शरीरको तापक्रम बढेर पसिना आउने गर्छ ।

उपचार

छाला चिलाउने भएमा औषधिको रुपमा यसमा क्यालामाइन लोसनको प्रयोग गर्न सकिन्छ । यो एक ओभर द काउन्टर (ओटीसी) औषधि हो, जुन छाला हल्का चिलाउँदा प्रयोग गर्न सकिन्छ ।

शरीरलाई चिसो बनाउन चिसो पाउडरको प्रयोग गर्न सकिन्छ । यसले घमौरा कम गर्दैन र यसबाट हुने चिडचिडापन, पोल्ने र चिलाउने समस्यालाई राहत दिने गर्छ । पोल्ने समस्या छ भने सेट्रिजन औषधि खान सकिन्छ ।

घमौरामा कीटाणुको संक्रमण भएमा चिकित्सकलाई जाँच गराउनुपर्छ । ज्वरो छ भने पारासिटामोल खान सकिन्छ तर नभए गर्नुपर्दैन किनभने यसले घमौरालाई कुनै किसिमको असर गर्दैन । तापक्रमलाई नियन्त्रण गर्न सकेमा यो आफैं निको हुन्छ, यसको ठ्याक्कै औषधि उपचार छैन ।

बच्ने उपाय

घमौरा आउन नदिने पहिलो उपाय भनेको गर्मीबाट जोगिनु हो । त्यसैले घमौराको समस्या भएमा घाममा कम बस्ने गर्नुपर्छ । शरीरको तापक्रमलाई नियन्त्रण गर्नका लागि धेरै गर्मी भएमा पंखा,  एसी, कुलर वा चिसो भएको ठाउँमा बस्न सकिन्छ ।

धेरै पसिना आउने क्रियाकलाप जस्तै खेल्ने, कुद्ने, दौडिने व्यायाम लगायत कम गर्नुपर्छ । कोठामा हावाको आवतजावत बढाउन झ्यालढोका खुल्ला राख्नुपर्छ । शरीरलाई शीतल बनाउने कपडा लगाउँदा सुतीको, कटनको र प्राकृतिक कपडाहरु लगाउनुपर्छ । शरीरलाई चिसो बनाउन नियमित रुपमा दिनकै नुहाउने गर्नुपर्छ ।

शरीरलाई हाइड्रेट गर्न पानीको सेवन नियमित गर्नुपर्छ । बेटाजिन, डेटल, भ्यासलिन वा विभिन्न क्रम वा लेप बनाएर लगाउने गर्नुहुँदैन । यसले समस्या थप बढ्न सक्छ । यी कुरा गर्न सकेमा घमौरा एक-दुई दिनमा नै निको हुन्छ ।

घमौरा डा. विकास पौडेल स्वास्थ्य
डा. विकास पौडेल
लेखक
डा. विकास पौडेल
छाला, यौन तथा सौन्दर्य विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर :९१११ एमबीबीएस, एमडी, फेलोसिप इन क्लिनिकल डर्माटोलोजी (दक्षिण कोरिया) ललितपुर लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक, पाटन अस्पताल, नेसनल मेडिकल कलेज वीरगञ्ज, शंखमूल हेल्थकेयरर इलिट हेल्थ क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय