+
+

आचारसंहिता लागू भएपछि ‘मन्त्रीको घर र होटलबाट कर्मचारी सरुवा’

मन्त्री बस्नेतले सिस्टम भत्काएको र कागजपत्र लुकाएको आरोप

विनोद घिमिरे विनोद घिमिरे
२०७४ भदौ १६ गते २०:५५
सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत

१६ भदौ, काठमाडौं । सरकारले निर्वाचन आचारसंहिता विपरित कर्मचारीहरुको रातारात सरुवा गरेपछि विवाद उत्पन्न भएको छ । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतको ‘स्वार्थअनुकूल’ जथाभाबी सरुवा गरिएपछि कर्मचारीहरु आक्रोशित बनेका छन् ।

निर्वाचन आचारसंहिता लागू भएपछि ‘ब्याकडेट’मा खरिदारदेखि उपसचिवसम्मका कर्मचारीहरुलाई सरुवा गरिएको छ । गृहमन्त्रालय मातहतका कार्यालयमा कार्यरत उपसचिव सरहका दुई दर्जन बढी कर्मचारीहरुलाई स्थानीय विकास मन्त्रालय वा सो अन्तर्गतका कार्यालयमा तानिएको छ ।

यसबाट कर्मचारीहरुमा निराशा छाएको मात्रै छैन आक्रोशितसमेत बनाएको छ । केही दिनअघिमात्र गृहमा सरुवा भएका कर्मचारीलाई लगत्तै अन्यत्र पठाइएको छ ।

‘कर्मचारीहरुको बदनाम’

निर्वाचन आचारसंहिता भदौ १ गतेबाट लागू भएको छ । तर, कर्मचारीको सरुवा भदौ १५ गते गरिएको छ । त्यसअघि पनि मन्त्री बस्नेतको ‘निवास र होटेलमा बसेर’ कर्मचारीको सरुवा सूची तयार पारिएको स्रोतले बतायो ।

बिहीबार बिहान मन्त्रालयमा सरुवा पत्रको चलानी नम्बर खोज्ने क्रममा नभेटिएपछि मन्त्री निवासमा बसेर सरुवा पत्र तयार पारिएको तथ्य बाहिर आएको हो । यो तथ्य बाहिर आउनासाथ आधिकारिक ट्रेड युनियनले आपत्ति जनाएको छ ।

मन्त्री बस्नेतले सामान्य प्रशासन मन्त्रालय सम्हालेपछि प्रणाली भत्काएको र नीति नियम उल्लंघन गरेको कर्मचारीहरुको आरोप छ । मन्त्री बस्नेतको कार्यशैलीप्रति माओवादी निकटकै कर्मचारीहरु समेत आक्रोशित भएका छन् ।

‘निर्वाचन आयोगले आचारसंहिता लागू भयो भनेर घोषणा गरेको छ । अनि त्यही दिन राति बसेर सरुवा गरिएको छ,’ आधिकारिक ट्रेड युनियनका केन्द्रीय सदस्य लेखनाथ कोइरालाले भने, ‘नीति उल्लंघन भयो, विधि पालना भएन, सिस्टम भत्कियो । सारा निजामती कर्मचारीहरुलाई बदनाम गर्ने काम सामान्य प्रशासन मन्त्रालयले गरेको छ ।’

आर्थिक चलखेलको आशंका

निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले मन्त्री बस्नेतलाई भेटेर सरुवा आतंक बन्द गर्न ध्यानाकर्षण गराएको छ । साथै नियमविपरीतको सरुवा रद्ध गर्न पनि माग गरेको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले जानकारी दिए ।

ढकालले भने, ‘विना कुनै नियम र विधि विपरित जथाभावि कर्मचारी सरुवा गरिएको छ । यो तुरुन्त सच्याइनुपर्दछ ।’

मन्त्रालयका कर्मचारीहरुले सरुवा पत्र र चलानी गरिएको रजिष्टर समेत लुकाउने हदसम्म काम गरेको कोइरालाले बताए । कर्मचारी सरुवामा आर्थिक चलखेल समेत गरिएकाले सार्बजनिक हुने डरले कागजपत्र लुकाउने गरिएको आशंका उनले गरे ।

‘कर्मचारी प्रशासन महाशाखासँग सम्बन्धित सहसचिवदेखि त्यहाँ काम गर्ने साथीहरुबाट बदनियतपूर्वक रजिष्टर लुकाइएको छ । साथीहरुको सरुवा गरिएको चिठी लुकाइएको छ । बदमासी गरेको कारणले ती लुकाइएका छन्,’ कोइरालाले भने, ‘सरुवामा आर्थिक चलखेल समेत भएको छ भनेर साथीहरुले हामीलाई भन्नु भएको छ,यसबारे सत्य तथ्य बाहिर आउनेछ ।’

‘बोल्नै चाहेनन् मन्त्री’

सरुवाको विरोध गर्दै कर्मचारीहरुले मन्त्री बस्नेतलाई भेटेर ध्यानाकर्षण गराएका छन् । तर, मन्त्री बस्नेत यस विषयमा बोल्नै नचाहेको कोइरालाले बताए ।

‘हामी मन्त्री कहाँ गएर यस विषयमा छलफल गर्‍यौं । सरुवा गर्दा कानुनअनुसार गर्नुपर्छ, ऐन नियमअनुसार गर्नुपर्छ, विधिसम्मत ढंगले गर्नुपर्छ भन्यौं । तर, मन्त्री बोल्नै चाहानु भएन,’ कोइरालाले भने ।

नियमविपरीतका सरुवा रद्ध नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिँदै उनले भने, ‘यो रद्ध भएन भने ट्रेड युनियनको तर्फबाट आन्दोलन गर्नुपर्छ, तालाबन्दी गर्नुपर्छ, के गर्नुपर्छ हामी गर्न तयार छौं ।’

स्रोतका अनुसार आर्थिक चलखेलमा धेरै कर्मचारीहरुको सरुवा गरिएको छ । कतिपयलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर खेदिएको छ । निर्वाचन आचारसंहिता लागू भइसकेपछि पुरानो मिति राखेर कर्मचारी सरुवा गरिएको भए त्यो आचारसंहिता विपरीत हुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

माओवादी मन्त्री बस्नेतले कांग्रेसको पक्षमा काम गरेको र कांग्रेस आबद्ध कर्मचारीलाई आकर्षक र चुनाव प्रभावित पार्ने ठाउँमा सरुवा गरेको आरोप माओवादी भित्रैबाट लागेको छ । आचारसंहिता विपरीत बुधवार वा त्योभन्दा अघिको मिति राखेर गरिएको सरुवा खारेज नभए आन्दोलन गर्ने चेतावनी युनियनले दिएको छ ।

लेखकको बारेमा
विनोद घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?