Comments Add Comment

दीपक बोहोरालाई मन्त्री बनाउन देउवाले मानेनन्, पशुपतिको पार्टीमा संकट

एमाले भन्छ- सरकार विस्तार गर्न पाइन्न, आचारसंहिता लाग्छ

१८ भदौ, काठमाडौं । आयल निगम प्रकरणमा विवादमा तानिएका राप्रपा नेता दीपक बोहोरालाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री नबनाउने अडान लिएपछि राप्रपा प्रजातान्त्रिकमा विवाद उत्पन्न भएको छ ।

चार मन्त्री र राज्यमन्त्रीसहित सरकारमा जान वार्ता गरिरहेका पशुपति समशेर जबरालाई देउवाले दीपक बोहोरा बाहेक अरुको नाम ल्याउन आग्रह गरेको स्रोतले जनाएको छ ।

देउवाले राणालाई आफू राप्रपालाई सरकारमा सहभागी गराउन तयार रहेको तर दीपक बोहोराको नाम भने नल्याउन आग्रह गरेका थिए । उनले तीन मन्त्रालय दिने समेत बताएका थिए । आयल निगमको जग्गा खरिद प्रकरणमा समेत मुछिएका बोहोरालाई देउवाले रुचाएका छैनन् ।

राणाले प्रधानमन्त्रीको आग्रह अनुरुप बोहोराको नाम कटाएर सुनीलबहादुर थापा, विक्रम पाण्डे र रामकुमार सुब्बाको नाम मन्त्री बनाउन खुसुक्क प्रधानमन्त्रीलाई दिएपछि विवाद शुरु भएको स्रोतले बतायो । बोहोराले मन्त्री बन्न नपाए राप्रपा प्रजातान्त्रिक नामको नयाँ पार्टी नै फुटाउने धम्की दिएको स्रोतले जनाएको छ ।

एमालेको आपत्ति

यसैबीच सरकार विस्तारको चर्चा चलिरहेकै बेला प्रमुख विपक्षी नेकपा एमालेले निर्वाचन आचार संहिता लागिसकेको अवस्थामा मन्त्री नियुक्त गर्न नपाइने भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहितका पदाधिकारीलाई मौखिक ध्यानाकर्षण गराएका हुन् । निर्वाचन आरसंहिता लागेपछि खरदार/सुब्बाको समेत नियुक्ति र सरुवा गर्न नपाइने भएकाले नयाँ मन्त्री नियुक्त गर्न नमिल्ने नेम्वाङले बताए ।

चुनावलाई प्रभावित पार्ने गरी कुनै दललाई सरकारमा सहभागी गराउने, नयाँ मन्त्री नियुक्ति गर्ने कुरा निर्वाचन आचारसंहिता विपरीत हुने भएकाले आयोगले रोक्नुपर्ने नेम्वाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment