+

ताजिकिस्तानसँग घरमै हार्‍यो नेपाल

२०७४ भदौ  २० गते १६:५६ २०७४ भदौ २० गते १६:५६
ताजिकिस्तानसँग घरमै हार्‍यो नेपाल

२० भदौ, काठमाडौं । २०१९ मा युएईमा हुने एएफसी एसियन कपको छनौट चरण अन्तर्गत तेस्रो खेलमा ताजिकिस्तानसँग नेपालले घरेलु मैदानमै पराजय ब्यहोरेको छ ।

सातदोवाटोस्थित एन्फा मैदानमा सम्पन्न खेलमा नेपालले खेलको नतिजा २-१ ले ताजिकिस्तानलाई सुम्पियो ।

एसियन कप छनौटको यसअघिका दुई खेलमा नेपाल जितबिहीन छ । पहिलो खेलमा फिलिपिन्ससँग मनिलामा पराजय ब्यहोरेको नेपालले काठमाडौंमै भएको दोस्रो खेलमा यमननसँग गोलरहित बराबरी खेलेको थियो ।

स्ट्राइकर बिमल घर्तीमगर र मिडफिल्डर बिक्रम लामा सुरुवाती टोलीमा नपरेको खेलमा रक्षापंक्तिको तालमेल नमिल्दा नेपाल खेल सुरु भएको ३० मिनेटभित्रै २ गोलले पछि परेको थियो ।

खेलको २५औं मिनेटमा ताजिकिस्तानले गोलको अग्रता बनाएको थियो । ताजिकिस्तानका उमरवेभले प्रहार गरेको कर्नर किकलाई जालिलोभ मानुचेरले हेडमार्फत गोल गर्दा नेपाली डिफेण्डर र गोलरक्षक किरण चेम्जोङले कुनै मौका पाएनन् ।

पहिलो गोल गरेको पाँच मिनेटपछि नै ताजिकिस्तानले अर्को गोल थप्यो । अलिभले प्रहार गरेको बल किरण चेम्जोङले राम्ररी कलेक्ट गर्न नसक्दा आएको अवसरलाई भासिव दिल्सोभले सदुपयोग गरेका थिए ।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो । फलस्वरुप नेपालले ६१औं मिनेटमा १ गोल फर्काउन सफल भयो ।

मिडफिल्डर अञ्जन विष्टको पासमा सब्सिच्युड स्ट्राइकर बिमल घर्तीमगरले उत्कृष्ट गोल गरेका थिए । त्यसपछि सुधारिएको नेपाली अग्रपंक्तिले आक्रमण बुनेपनि गोल भने गर्न सकेन ।

नेपाल अार्मीका स्ट्राइकर जर्ज प्रिन्स कार्कीले नेपाली राष्ट्रिय टोलीबाट डेब्यू गरेका छन् । ६२अाैं मिनेटमा बिशाल रार्इको स्थानमा मैदान छिरेका कार्कीले अाधा घण्टा मैदानमा रहँदा प्रभावकारी खेल देखाए । उनलार्इ ७ नम्बर जर्सी दिइएको छ ।

एसियन कप छनौटको तेस्रो चरणको समूह एफमा रहेको नेपाल तीन खेलबाट १ अंक बटुल्दै समूहको चौथो स्थानमा झरेको छ । नेपाललाई हराउँदै ताजिकिस्तान ३ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । समूहको पहिलो स्थानमा फिलिपिन्स र दोस्रो स्थानमा यमन छन् ।

नेपालले समूहको अर्को खेलमा अागामी अक्टोबर १० मा ताजिकिस्तान भ्रमण गर्नेछ । नेपालले नोभेम्बर १४ मा फिलिपिन्ससँग काठमाडाैंमा र २७ मार्च २०१८ मा यमनसँग उसकै मैदानमा खेल्नेछ ।

तस्वीरः श्रीधर पाैडेल/अनलाइनखबर

एएफसी एसियन कप छनाैट नेपाली फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय