Comments Add Comment

मधेसमा आज उम्मेदवारी दर्ता, यस्तो छ चुनावी तथ्यांक

२१ भदौ, काठमाडौं । प्रदेश नम्बर २ मा तेस्रो चरणको स्थानीय निर्वाचन आजदेखि औपचारिक रुपमा प्रारम्भ भएको छ । मधेसका ८ जिल्लाका कुल १३६ स्थानीय तहका लागि दलहरुले आज उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ ।

सरकारले आगामी असोज २ गते दुई नम्बर प्रदेशका ८ जिल्लामा तेस्रो चरणमा स्थानीय चुनाव गर्न लागेको हो । बाँकी जिल्लामा बैशाख ३१ र असार १४ गते दुई चरणमा यसअघि नै निर्वाचन सम्पन्न भइकेको छ ।

आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म प्रदेश नम्बर दुईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट जिल्लाका स्थानीय तहमा मनोनयन दर्ता हुनेछ ।

अघिल्ला चुनाव बहिस्कार गरेको राष्ट्रिय जनता पार्टीले समेत निर्वाचनमा सहभागिता जनाएकाले चुनाव शान्तिपूर्ण एवं उत्साहजनक रुपमा सम्पन्न हुनेमा सरकार र निर्वाचन आयोग दुबै विश्वस्त देखिन्छन् ।

तेस्रो चरणको चुनावबारे केही तथ्य यस्ता छन्:

१. कुल ८ जिल्लाका १३६ स्थानीय तहमा चुनाव हुनेछ । यी स्थानीय तहबाट ६६२७ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । यस चरणमा हुने निर्वाचनमा मतदाताको कुल संख्या २६ लाख ६४ हजार ९ सय ५० छ ।

२. चुनावका लागि निर्वाचन आयोगले २१६६ मतदान स्थल र ३५७८ वटा मतदान केन्द्र तोकेको छ ।

३. यो चरणमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकामा चुनाव हुँदैछ । यीमध्ये महानगरपालिका र उपमहानगरपालिकामा हुने निर्वाचनप्रति दलहरुको विशेष चासो देखिन्छ । चासो रहेका यी स्थानीय तहमा वीरगञ्ज महानगरपालिका, जनकपुर उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र जीतपुृर-सिमरा उपमहानगरपालिका पर्छन् ।

४. निर्वाचन आयोगले महिला, दलित र उल्पसंख्यकलाई उम्मेदवारी मनोनयनमा लाग्ने शुल्क ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

५. यो निर्वाचनमा विभिन्न ४४ वटा संस्थाका २ हजार भन्दा बढी पर्यवेक्षकहरुले निर्वाचन पर्यवेक्षणको अनुमति पाएका छन् ।

६. यो चुनावमा मुख्यतः नेपाली कांग्रेस, एमाले, माओवादी, राजपा, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम, राप्रपा र नयाँशक्ति लगायतका दलहरु चुनावी मैदानमा छन् । यी बाहेक अन्य सानाम पार्टी र स्वतन्त्र समेत चुनावी मैदानमा सहभागी हुँदैछन् । यी मध्ये पहिलो दल को बन्ने भन्नेमा ठूला दलहरुको चासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment