Comments Add Comment

‘विद्यासुन्दरले सय दिन पुरै खेर फाल्नुभयो’

'मलाई भोट नहाल्ने मतदाता पछुतोमा हुनुहुन्छ'

काठमाडौंका मेयर र उपमेयरसहित जननिर्वाचित प्रतिनिधि पाएको लगभग सय दिन पुरा भएको छ । २० वर्षपछि स्थानीय चुनाव भएको, त्यो पनि स्थानीय सरकार नै चुनेकाले जनतामा जनप्रतिनिधिप्रति धेरै अपेक्षा हुनु स्वाभाविक नै हो ।

झन् देशकै राजधानीका मेयर/उपमेयरप्रति जनताले राखेको अपेक्षालाई नाजायज मान्न सकिन्न । मेयरमा निर्वाचित हुनुअघि नै विद्यासुन्दर शाक्यले त सय दिनमा गर्ने १०१ कामको सूची नै बनाएका थिए । तर, केही गर्न नसकेको गुनासो व्याप्त छ ।

स्थानीय चुनावमा लोकपि्रय मत पाएका पूर्वसचिव तथा साझा विवेकशील पार्टीका मेयरका उम्मेदवार किशोर थापाले भने मेयर शाक्यको कामलाई कसरी हेरेका होलान् ? यो जान्न खोज्दा थापाले आफू र आफ्नो पार्टीले जनप्रतिनिधि र विशेषतः मेयरले के गरे र के गरेनन् भनेर फेहरिस्त तयार पारेको बताए । उनीसँग कुराकानी सारसंक्षेप यस्तो छ-

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको सय दिन कस्तो रहृयो ?

निर्वाचित मेयरले सय दिनमा १०१ काम गर्छु भन्नु भएको थियो, मलाई लागेको थियो, नमच्चिने पिङको सय झड्का । काठमाडौंवासीले न्यूनतम अपेक्षा गरेका थिए । उनीहरुको जीवनमा सानोभन्दा सानो परिवर्तन हुने ठानेका थिए, जुन पूरा भएको म देख्दिनँ । मैले आफ्ना समर्थक, मतदातासँग कुरा गर्दा पनि निराशा पाएको छु ।

उहाँहरुले सम्मान कार्यक्रममा भाग लिएको, फूलका माला र खादाहरु पहिरिएको धेरै देखेँ । केही वडाध्यक्ष/सदस्यहरु भेट्दा भन्नु भयो, हामीलाई फुर्सद नै छैन, कहिले तिज, कहिले सम्मान कार्यक्रम, कहिले के । राम्रोसँग वडामा बस्न र मेयरलाई भेट्न पाएका छैनौं भन्नु भयो । त्यसको अर्थ उहाँहरुको तीन महिना सम्मान कार्यक्रम, फूलमाला, खादा लगाउँदा र भोज खाँदैमा बितेको छ । जितेको खुशीयालीमा यो सबै कुरा त हुने नै भए तर सय दिनसम्म खुशीयाली मात्र मनाएर यो शहरको उन्नती हुने अवस्था छैन ।

वडा नम्बर ३ मा क्लिन द सिटी अभियान सुरु गर्दै झाडू लगाएको तस्वीर पनि देखिए । केही काम त भएका होलान् नि ?

म आफैं पनि सफाइ अभियानमा लागेको व्यक्ति भएकाले क्लिन द सिटी अभियानलाई एकदमै सकारात्मक रुपमा लिन्छु । यो अभियान निरन्तर चल्नुपर्छ भन्ने मेरो मान्यता छ । तर, त्यसको व्यवस्थापन राम्रो भएन ।

जस्तो- म हरेक साता वागमती वा शाखा नदीहरुको सरसफाइमा जुटिरहेकै छु । पछिल्लो शनिबार मात्र बल्खु खोलाको शुभारम्भ गरेका छौं, अर्को साता मनोहराको थाल्छौं । म आफैं यो अभियानमा लागेको हुनाले उहाँले चाहेको भए त मलाई ‘ब्रान्ड एम्बेसडर’ नै बनाउन सक्नुहुन्थ्यो । म सहयोग गर्न पनि तयार छु । सफाइ अभियान मेरो मिसन हो । यसमा मेरो अनुभव पनि छ र मेरा पछाडि हजारौं समर्थक छन् । उनीहरुलाई क्लिन द सिटीमा परिचालन गर्न सकिन्थ्यो । तर, उहाँले कहिल्यै मेरो भूमिका खोज्नु भएन ।

हामी अरुजस्तो खुट्टा तानेर बस्ने व्यक्ति होइनौं । उहाँ मेयरमा निर्वाचित भएपछि सपथ ग्रहण कार्यक्रममा मैले भनेको थिएँ, यहाँले थाल्ने कुनै पनि राम्रा काममा निःशर्त सहयोग गर्छु । रञ्जु दर्शनाले पनि भन्नुभएको थियो । अहिले हामी एउटै पार्टीमा छौं र हामीहरु उहाँलाई सहयोग गर्न तयार छौं ।

मेयरसा’बले कुनै सरसल्लाह वा सहयोग माग्नु भएन ?

उहाँहरुको तीन महिना सम्मान कार्यक्रम, फूलमाला, खादा लगाउँदा र भोज खाँदैमा बितेको छ । जितेको खुशीयालीमा यो सबै कुरा त हुने नै भए तर सय दिनसम्म खुशीयाली मात्र मनाएर यो शहरको उन्नती हुने अवस्था छैन

हामीले सम्झिरहका छौं तर उहाँले सम्झिनु भएन भन्नुपर्दा मलाई धेरै दुःख लागेको छ । उहाँले सुरुमा सबैसँग सरसल्लाह गरेर अगाडि बढ्छु भन्नु भएको थियो ।

हाम्रा ४२ हजार मतदाता छन्, उहाँहरुको म्यान्डेटबाट हामी टाढा रहन सक्दैनौं । र, हामी निर्वाचित जनप्रतिनिधिहरुको सफलतामा सहभागी हुन चाहन्छौं ।

उहाँको कार्यकाल मोबाइल प्रकरणबाट सुरु भयो । यसले उहाँको छवि धमिल्यायो । त्यसलाई कसरी हेर्नुहुन्छ ?

उहाँजस्तो अनुभवी राजनीतिज्ञले त्यस्तो निर्णय नलिएको भए हुन्थ्योजस्तो लाग्छ ।

मेयर र उपमेयरलाई मोबाइल नै आवश्यक पर्दैन र ? यति धेरै विरोध गर्न जरुरी थियो ?

जनप्रतिनिधिलाई मात्र होइन, आम मानिसलाई पनि मोबाइल अनिवार्यजस्तै भइसकेको छ । त्यसैले मोबाइल सेट किन्ने निर्णयलाई हामीले ज्यादै नराम्रो रुपमा लिनु हुँदैन । तर, पहिलो बैठकमै मोबाइल बाँड्ने निर्णय गर्दा जनतामा राम्रो सन्देश गएन । उहाँले त्यसभन्दा बढी सकारात्मक निर्णय गर्न सक्नुहुन्थ्यो ।

त्यसपछि अर्को स्क्यान्डल आयो नि गाडीको ?

आम जनताको अपेक्षा हाम्रा जनप्रतिनिधि किफायती होउन्, उनीहरुको जीवनशैली सरल होस्, जनतालाई बढीभन्दा बढी सेवा सुविधा दिउन् भन्ने छ । आफ्नै लागि मोबाइल र गाडी किन्ने निर्णय गर्दा नकारात्मक सन्देश गएकै हो ।

तपाईं त पूर्व प्रशासक पनि हुनु हुन्छ । बेला-बेलामा प्रधानमन्त्री र मन्त्रीहरुले नै भनेजस्तो कर्मचारी संयन्त्रले पो काम गर्नै दिएन कि ?

त्यस्तो मलाई लाग्दैन । म काठमाडौं महानगरका अधिकृत तहका हरेक कर्मचारी चिन्छु । वागमती सफाइ अभियानमा वडाका धेरै कर्मचारीसँग काम गर्‍यौं । उहाँहरुलाई कसरी परिचालन गर्ने भन्ने अहम् प्रश्न हो । कर्मचारीहरु कुन परिस्थितिमा काम गर्छन् र कुनमा गर्दैनन् भन्ने बुझ्नुपर्छ । काम गर्ने पनि हुन्छन्, ठग्ने पनि हुन्छन् । हरेक संस्थामा मिहिनेत गर्ने कर्मचारी २० प्रतिशत हुन्छन् । उनीहरुलाई साथमा लिएर जान सके सफल भइन्छ ।

केशव स्थापितले यही कर्मचारीतन्त्रलाई काम गराएकै हो । तत्कालीन सरकारमा हुँदा हामीलाई काजमा लगेर काम गराउनुभएको हो । त्यस्तै नेतृत्व क्षमता देखाउन सक्नुपर्छ । कर्मचारीको विज्ञता र क्षमता कम छैन । त्यो संयन्त्रलाई हाँक्नचाहिँ सक्नुपर्छ ।

भनेपछि, यो सय दिन पुरै खेर गयो ?

हो, पूर्ण रुपमा खेर गयो । बडो निराशाजनक स्थिति छ । उहाँ विगतमा वडाध्यक्ष भएर काम गर्नुभएको व्यक्ति । अहिले राम्रो मत ल्याएर जित्नुभयो । आम महानगरवासीले केही आशा र अपेक्षाका साथ उहाँलाई जिताए । तर, उहाँले कामै सुरु गर्न सक्नुभएन ।

हो, कामको परिणाम देखिन समय लाग्छ । मैले भन्ने गरेको छु, आज गरेको कामको परिणाम एक वर्षपछि देखिन्छ र तीन वर्षपछि जनताले लाभ पाउँछन् । तर, केही न केही सुरु गर्न सकिन्थ्यो । धुलो-मैलो, खाल्डाखुल्डी सामान्य कुरा हुन्, त्यसलाई सुधार गर्न सकिन्थ्यो । फुटपाथलाई व्यवस्थित गर्न सकिन्थ्यो । खोलाछेउका झुपडी बस्तीमा केही न केही सुधारका काम गर्न सकिन्थ्यो । महानगरपालिकाको आफ्नो नियन्त्रणमा भएका काम गर्न धेरै खर्च लाग्दैन, डीपीआर बनाउनु पर्दैन ।

मेयरले त वर्षायाममा खाल्डाखुल्डी पुरेर जनताले तिरेको करको दुरुपयोग गर्दिन भन्नुभयो नि ?

त्यसो भन्न मिल्दैन, होइन भने जनतालाई सडकमै ननिस्क, फुटपाथमा नहिँड, घरमै बस भन्नुपर्‍यो । ४५ प्रतिशत काठमाडौंवासी अहिले पनि फुटपाथमै हिँड्छन् । हालै मात्र दुई वटा दुर्घटना हामीले भोग्यौं । यी खाल्डो पुर्नलाई हिउँद कुर्नुपर्दैन । कुनै ठाउँमा खाल्डो भयो भने तुरुन्त पुर्नुपर्छ ।

मेयरको त आलोचना भइरहेको छ । तर, उपमेयरको कुर्सीमा कांग्रेसबाट निर्वाचित हरिप्रभा खड्गी हुनुहुन्छ । उहाँको भूमिकालाई कसरी हेर्नु भएको छ ?

विगतमा कांग्रेसको मेयर र उपमेयर हुँदा झगडा परेको पनि मैले देखेको थिएँ । अहिले त झन् उहाँहरु फरक पार्टीको हुनुहुन्छ । एउटै पार्टीमा त झगडा भयो भने फरक पार्टीमा झन् के होला ? पार्टीगत रुपमा उहाँहरुका प्राथमिकता फरक हुन सक्छन् ।

तर, महानगरवासीको अपेक्षाअनुसार काम गर्न उपमेयरले पनि भूमिका निर्वाह गर्नसक्नु हुन्छ । कांग्रेसबाट त थुप्रै वडाध्यक्ष निर्वाचित भएका छन्, उहाँहरुको साथ लिएर दबाब दिन सक्नुहुन्थ्यो । त्यसो गरेको देखिएन, सुनिएन ।

यदि तपाईंले चुनाव जित्नुभएको भएचाहिँ सय दिनभित्र के-के गर्नुहुन्थ्यो ?

हामीलाई जसरी पनि गन्तव्यमा पुग्नुछ । चालकले गाडी हाँकेन भनेर हामी यथास्थितिमा बस्ने होइन, गाडीलाई धकेलेर होस् वा तानेर, अगाडि बढाउनैपर्छ

पहिलो काम फुटपाथलाई सुधार गर्थेँ । किनभने त्यो पूर्ण रुपमा महानगरको प्रत्यक्ष नियन्त्रणमा हुन्छ । फुटपाथ सुधार गर्ने भनेको तुरुन्तैै टायलहरु हटाएर अर्को चिल्लो टायल राख्ने होइन । भएकै चिजलाई राम्रोसँग सम्म पारेर बुढाबुढी र केटाकेटीसमेत हिँड्न सक्ने बनाउँथे । बाटो सफासुग्घर राख्थेँ । हजारौं स्वयंसेवक परिचालन गरेर शनिबार एक बिहान दुई घण्टा सरसफाई गराउँथेँ । तीन महिनाभित्र काठमाडौंमा जति पनि फुटपाथ छन्, सबै सफा गर्ने थियौं ।

दोस्रो कुरा, सार्वजनिक यातायातमा १३ रुपैयाँ लिनुपर्ने ठाउँमा १५ लिइरहेका छन् । कतिपय यात्रुलाई भाडा १३ रुपैयाँ हो भने नै थाहा छैन । १५ रुपैयाँलाई १३ मा झार्न ठूलो कसरत गर्नु पर्दैन, कार्यान्वयनमा कडाइ गरे पुग्छ ।

तेस्रो, म ठाउँ-ठाउँमा अत्याधुनिक बस स्ट्यान्ड बनाउने थिएँ । त्यसो त, कति ठाउँमा त्यस्ता बस स्ट्यान्डहरु बनेका पनि छन् । महानगरले आफैं गर्न सक्ने कामहरुमा पनि पहल भएन, अहिले ।

अबको पाँच वर्षमा काठमाडौं महानगर कस्तो होला त ?

पाँच वर्षमा यो शहरलाई रुपान्तरण गर्नैपर्छ । यस्तो अस्तव्यस्ततामा कति दिन बस्ने ? भोट दिएर जिताउनेले पनि जनप्रतिनिधिलाई दबाब दिनुपर्‍यो । सँगसँगै हामी पनि प्रतिपक्षको हिसाबले यो कुरा जोडदार रुपमा उठाउँछौं । हामी शहरलाई अस्तव्यस्त राख्न दिँदैनौं । केही न केही सकारात्मक काम गरेर देखाउँछौ ।

कतिपय कुराका लागि नीतिगत निर्णय गर्नुपर्छ, त्यसमा उहाँले राजनीतिक लाभ-हानीको कुरा गर्नुभएन । कतिपय अवस्थामा साधन-स्रोतहरु हामीलाई उपलब्ध गराइदिनुपर्छ । कतिपय अवस्थामा प्राविधिक सहयोग पनि गर्नुपर्ने हुन्छ ।

तर चालकले नै लत्तो छोडेपछि यात्रुले धकेलेर गाडीलाई कहाँसम्म पुर्‍याउन सकिएला र ?

नेपालमा विभिन्न ठाउँमा बाटो बिग्रिएर गाडीलाई यात्रुहरुले डोरीले तानेको हामीले देखेकै छौं । हामीलाई जसरी पनि गन्तव्यमा पुग्नुछ । चालकले गाडी हाँकेन भनेर हामी यथास्थितिमा बस्ने होइन, गाडीलाई धकेलेर होस् वा तानेर, अगाडि बढाउनैपर्छ ।

भनेको सय दिनमा के भयो भनेर सार्वजनिक गर्नुहुन्छ र त्यसपछि आफ्नै हिसाबले काम गर्नुहुन्छ वा दबाब दिनुहुन्छ ?

हामी दबाब पनि दिन्छौं । यसबीचमा उहाँहरुले राम्रा काम सुरु गर्नुभयो भने त्यसमा सहयोग पनि गर्छौं । भएन भने केही न केही गर्छौं, महानगरवासीलाई बन्धक बनाएर पाँच वर्षसम्म राख्दैनौं । यो बन्धनबाट मुक्त गर्छौ ।

छाया महानगर चलाउनुहुन्छ ?

होइन । हामीलाई कसैको छायाँ बन्नु छैन । देखिने गरेर हामी नेतृत्व लिन्छौं ।

विवेकशील र साझा पार्टी मिल्नु नै रहेछ, चुनावअघि नै मिलेको भए चुनावी परिणाम अर्कै पनि आउन सक्थ्यो । काठमाडौंका बासिन्दालाई उचित विकल्प दिन नसक्नुमा आफूहरुलाई कत्तिको दोषी ठान्नुहुन्छ ?

हामीले चुनावअघि नै मिल्न चाहेका हौं, कोशिस पनि गरेका हौं । तर, पर्याप्त समय पाएनौं । प्राविधिक रुपमा पनि सम्भव भएन । तर, मैले र रञ्जु दर्शनाले पाएको भोट हेर्ने हो भने परिवर्तनकारी जमात हाम्रो पछाडि छ भन्ने बुझेका छौं । तर, परिवर्तन चाहनेको संख्याभन्दा नचाहनेको संख्या अलि बढी देखियो ।

निर्वाचित मेयरको चाला हेर्दा तपाईंलाई भोट नदिने मतदाताहरु कत्तिको पछुताएका होलान् ?

बेलाबेला म सडकमा हिँड्छु र सार्वजनिक बस चढ्छु, धेरै जनासँग कुराकानी हुन्छ । पुराना पार्टीहरुलाई भोट हालेर गल्ती गरियो भन्ने धेरैको महशुस पाएको छु । एक ठाउँमा सरसफाई अभियानका क्रममा जाँदा स्थानीयवासीको समूहले मसित क्षमायाचना गर्नुभयो । उहाँहरुले महशुस गर्नुभयो, म अहिले पनि सडक बढारेर हिँडेको छु । खोलानालामा डुबेर काम गरिरहेको छु । मेरो काम गराई देखेर उहाँहरुले भोट नदिएकामा पछुतो मान्नुभएको छ । तर, चुनाव भनेको यस्तै हो । यसमा धेरै फ्याक्टरले काम गर्छ । चुनावमा नजिते पनि मैले आफ्नो भूमिका छाडेको छैन ।

मेयरलाई के सुझाव दिन चाहनुहुन्छ ?

व्यक्तिगत रुपमा असाध्यै राम्रो मान्छे हुनुहुन्छ । केही गर्नुहुन्छ भन्ने आशा थियो । तर, सय दिनमा कुनै लक्षण देखाउनुभएन । आगामी दिनमा उहाँको टिमले नयाँ कार्यक्रम सुरु गर्दैछ भने ठीक छ । त्यो हामीले चाँडै नै देख्न पाउनुपर्‍यो ।

तर, सेवा, सुविधा लिएर, देश-विदेश भ्रमण गरेर, फुलमाला र खादा लगाएर पाँच वर्ष बिताउनुभयो भने हामीले राजनीतिक रुपमा पनि केही पहल गर्नुपर्ने हुन्छ । हामीले दबाब दिने मात्र होइन, महानगरवासीको जीवनमा केही परिवर्तन गर्नैपर्ने छ । तीन महिनाको समय बितेको छ, अब अर्को तीन महिना कुर्छौं । यसबीचमा केही कार्यक्रमको खाका आउँछ भन्ने अपेक्षा गरेको छु । आएन भने उहाँहरुले यो शहरमा केही गर्नुहुन्न भन्ने निस्कर्षमा पुग्छु ।

अझै तीन महिना कुर्छौं भन्नुभयो, ३-४ महिनापछि संसद र प्रान्तको चुनाव हुँदैछ । त्यसैले हो कि ?

होइन, हामीले उहाँहरुका लागि ग्रेस पिरियड दिएका हौं । अरु दल भए अहिले नै टायर बालिसक्थे, चक्का जाम गर्थे । हामी त्यस्तो काम गदैनौं । हामी सुसंस्कृत राजनीति गर्न अगाडि बढेको छौं । त्यसैले ६ महिना ग्रेस पिरियड दिएका हौं । यसबीचमा हाम्रो सहयोग माग्नुभयो भने हामी दिन्छौं । हाम्रो सुझाव र सल्लाह लिएर कुनै काम गर्नुभयो भने त्यसको उत्तरदायित्व लिन्छौं । त्यसको दोषिको भागिदार हामी पनि हुन्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment