Comments Add Comment

दशैंमा लत्ताकपडाको माग धान्न धौधौ

संघ भन्छ-सडकको दुरावस्ताले मागअनुसारको आपूर्ति गर्नै सकिएन

२५ भदौ, काठमाडौं । दशैं नजिकिँदै जाँदा बजारमा लत्ताकपडा किनमेल गर्नेहरुको संख्या बढ्दो छ । तर, आपूर्तिमा कठिनाई हुँदा माग धान्नै धौधौ परेको व्यवसायीहरुले बताएका छन् ।

नेपाल हिमालय सिमापार वाणिज्य संघका अनुसार बजारको माग अनुसार वितरण दिनै कठिन भएको छ । अहिले बजारमा मागको झण्डै ७५ प्रतिशतमात्र आपूर्ति धान्न सकिएको संघ बताउँछ ।

खासगरी चीनबाट वस्तु आयात ततोपानी नाका लामो समयदेखि बन्द छ । त्यसको विकल्पमा रहेको रसुवागढी सडको दुरावस्ताका कारण मागबमोजिम वस्तु आयात गर्न नसकिएको संघले बताएको छ । संघका अनुसार नेपालमा झण्डै ८० प्रतिशत लत्ताकपडा, कस्मेटिक लगायतका वस्तु चीनबाटै आयात हुन्छ ।

‘नेपालतर्फको राजमार्गको समस्याका कारण चीनबाट ढुवानी गरेर ल्याइएका वस्तु सहज ढंगले आउन सक्ने स्थिति छैन । सामान बोकेर आएका कन्टेनर बाटोमै रोकिनुपर्ने अवस्था छ,’ संघका महासचिव अर्जुनप्रसाद गौतमले भने, ‘त्यसैका कारण हामीलाई बजारको मागअनुसारको आपूर्ति दिनै गाह्रो भएको हो ।’

चीनबाट अहिले दैनिक झण्डै ३० देखि ४० वटा कन्टेनर नेपाल भित्रिने गरेका संघको भनाइ छ । जसअनुसार दैनिक औषतमा ४० देखि ५० करोड रुपैयाँ मूल्यका वस्तु नेपाल भित्रिन्छन् ।

अन्य वस्तुमा भन्दा लत्ताकपडामा अहिले माग धान्न कठिन भएको व्यावपारीहरू बताउँछन् ।

व्यापारीहरूका अनुसार वर्षभरीको कुल कारोबारमध्ये करीव ४० प्रतिशत दशैं र तिहारको समयमा हुन्छ । ‘अधिकांशले दशैंको समयमा नयाँ लत्ताकपडा लगाउने भएकाले हामीलाई बजारबाट पनि अत्यधिक माग आउँछ,’ संघका महासचिव गौतमले भने ।

दशैंमा मागअनुसारको आपूर्ति व्यवस्थापन गर्न नसक्दा लत्ताकपडा महंगो पर्ने गरेको आयातकर्ता व्यवसायीको अनुभव छ । ‘जति माग छ, सोहीअनुरुप आपूर्ति दिन सकिए जनताले सस्तो मूल्यमा वस्तु खरिद गर्न पाउँछन्’ उनी भन्छन्, ‘आपूर्ति व्यवस्थापन गर्न नसक्दा व्यापारीले कृतिम अभाव गराएर महंगी बढाउँछन् ।’

त्यस्तै, भारतबाट हुने आयात पनि सहज नभएको व्यापारीहरूको अनुभव छ । पछिल्लो समय भारतले अंगालेको वस्तु तथा सेवा कर (जीएसटी) कारण पनि आपूर्ति साविक बमोजिम नभएको व्यापारीहरू बताउँछन् ।

जीएसटी लागू हुनुअघि स्थानीय व्यापारीबाट पनि वस्तु आयात गरिने गरेकामा अहिले स्थानीय व्यापारीबाट हुने कारोबार ठप्प भएको छ । यसले पनि आपूर्तिमा केही समस्या पारेको व्यापारी बताउँछन् । कोलकत्ता बन्दरगाहको प्रशासनिक लगायतका झण्झटका कारण पनि आवश्यकता पर्दा समयमै वस्तु आयात गर्न कठिन भएको उनिहरू बताउँछन् ।

नेपालमा राजधानीको ‘लाइफलाइन’ मार्ग मानिएको मुग्लिन -नारायणगढ खण्डको सडकको अवस्थाले पनि निर्धारित समयमा वस्तु ढुवानी हुन नसकेको व्यापारीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment