Comments Add Comment

क्यानडा उडेका श्रीलंकाली युवती काठमाडौंमा बन्धक !

मानव तस्करीको ट्रान्जिट बन्यो काठमाडौं

२५ भदौ, काठमाडौं । यतिबेला सलोमी र जेनी आफ्नो देश श्रीलंका पुगिसकेका छन् । सायद उनीहरु अब कहिल्यै अमेरिका र क्यानडाको सपना देख्ने छैनन्, बरु नेपालमा रोएर बिताएका हरेक रातले उनीहरुलाई आफ्नै भूमिमा केही गर्न आत्मबल दिएको छ ।

धेरै नेपाली युवायुवती अमेरिका, युरोप र क्यानाडा जाने चक्करमा विश्वका विभिन्न देशमा बन्धक बनेका र दुःख पाएका कथा धेरै सुनियो । तर, दुई श्रीलंकाली युवतीको उद्दारपछि नेपाल प्रहरीले निष्कर्ष निकालेको छ- मानव तस्करको सञ्जालले नेपाललाई समेत ट्रान्जिट बनाउन थालेको रहेछ ।

२४ वर्षीया सलोमी पद्मनाभम् र ३४ वर्षीया जेनी सुसाइपिल्लाई श्रीलंकाको तमिल बाहुल्य अनुराधापुरममा व्युटीपार्लर चलाउँथे । मध्यमवर्गीय परिवारका यी तमिल युवतीलाई क्याडनामा सेटल हुने लोभले ३ महिनासम्म नेपालको एक होटलमा बन्धक बनायो ।

धनुसन भन्ने व्यक्तिले उनीहरुलाई क्यानडा पठाउने भनेर पाँच/पाँच लाख श्रीलंकन पैसा लियो । परिवार नै क्यानडामा सेटल हुने भनेपछि उनीहरु जुन २६ मा कोलम्बोबाट इण्डोनेसिया उडे ।

पाँच दिनसम्म दलालले जकार्ता विमानस्थलमै राखेपछि फेरि मलेसिया पुर्‍यायो । मलेसियाबाट क्यानडा उडेका जेनी र सलोमी काठमाडौंमा आइपुगे । जम्माजम्मी कथा यत्ति हो, तर यसबीचमा उनीहरुले भोगेको त्रासदी बिर्सनलायक छ भने मानव तस्कारको सञ्जाल भत्काउन इन्टरपोल नै सक्रिय बनाउनुपर्ने देखिन्छ ।

क्यानडा हिँडेका दुई श्रीलंकाली युवती तीन महिना काठमाडौंको ठमेलस्थित एक होटलमा ‘बन्धक’ बनाइए । जकार्ताबाट मलेसिया हुँदै काठमाडौं ल्याइपुर्‍याउँदासम्म उनीहरुले क्यानडा जाने आशा मारिसकेका थिएनन् । काठमाडौंमै रहेको अर्को श्रीलंकाली र नेपाली दलालले उनीहरुलाई तीन चार दिनका लागि भनेर विश्वनाथ होटलमा राखेर हिँडेपछि कहिल्यै फर्किएनन् ।

‘हाम्रो पासपोर्ट र टिकट होटल मालिकले लियो । हामीलाई होटल पुर्‍याउने व्यक्ति कहिल्यै फर्किएनन् । होटलवालाले बाहिर निस्कन पनि दिएन । हामी हरेक दिन घर सम्झेर रुन्थ्यौं’ बन्धक अवस्थाबाट उद्दार भएपछि ललोमीले भनिन् ‘हामीले पाएको जस्तो दुःख संसारका कसैले पनि पाउन नपरोस’ ।

तीन महिनासम्म होटलमा बन्धक बनाइएका सलोमी र जेनीलाई आइओएम, नेपाल प्रहरीको अपराध अनुसन्धान व्यूरो -सिआइबी र शक्ति समूहको पहलमा उद्दार गरियो । उद्दारपछि उनीहरु केही दिन शक्ति समूहको सेप होममा बसेर गत विहीवार आइओएमकै सहयोगमा स्वदेश फर्किसकेका छन् ।

घर फर्किदैगर्दा उनीहरुले नेपाल धेरै राम्रो लागेको र तीन महिनाको बन्धक अवधि बिर्सने हो भने नेपालीहरु धेरै सहयोगी रहेछन् भने । ‘हामीजस्ता धेरै श्रीलंकाली युवती विदेशको चक्करमा हराइरहेका छन्,कतै उनीहरुलाई पनि नेपालमा ल्याएर बन्धक बनाइएको छ कि ?’ जेनीले शंका व्यक्त गरिन् । दलालहरुले क्यानडा भनेर काठमाडौंमा ल्याएर अलपत्र पारेपछि उनीहरु यो कुरा आफ्नो देशमा गएर मिडियालाई भन्नेवाला छन् ।

सलोनीले भनिन्-अब हामी फर्किएपछि आफ्नै गाउँमा दुःख गर्छौं । हामीलाई बेच्ने अपराधीमाथि कारवाही गराउन सरकारलाई गुहार्छौं । मानव तस्करहरुको कुनै जात धर्म र देश हुँदो रहेनछ । यिनीहरुको सन्जाल भत्काउन र हामी जस्ता बेचिन लागेकाहरुलाई जोगाउन नेपाल र श्रीलंकाको सरकारले मिलेर काम गर्नुपर्छ ।

शक्ति समूहका परियोजना निर्देशक दिलिप कोइरालाले धेरै बंगलादेशीलाई नेपालबाट तेस्रो मुुलुक उडाउने गरेका घटना आए पनि श्रीलंकालीको उद्दार गरिएको यो पहिलो पटक भएको बताए । उनले मानव तस्करले पछिल्लो सयम नेपाललाई ट्रान्जिटका रुपमा प्रयोग गर्न थालेको यो घटनाले देखाएको बताए ।

कोइरालाले भने-मानव तस्करीको सन्जालसम्म पुग्ने हो भने प्रहरीले होटलवालाबाट अनुसन्धान गर्नुपर्छ । तीन महिनासम्म यी युवतीलाई थुनेर राख्ने होटल मालिक पनि यो गिरोहमा हुनुपर्छ ।

होटल सञ्चालकले यी युवतीको भिसा लगाउन पैसा मागेको वयान दिएका छन् । यसबाट पनि कहीँ न कहीँ ठमेलका होटलहरु मानव तस्करीको धन्दामा प्रयोग हुने गरेको आशंका प्रहरीको छ ।

सीआइबी प्रमुख पुष्कर कार्कीले मानव तस्करको सञ्जाल निकै बलियो बनेको भन्दै यो प्रकरणपछि प्रहरीले थप अनुसन्धान थालेको बताए । मानव तस्करहरुले काठमाडौंलाई ट्रान्जिटका रुपमा प्रयोग गर्न थालेको आशंका प्रहरीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment