Comments Add Comment

माधव नेपाल चिनियाँ राजदूतको सल्लाहमा उत्तर कोरिया गएका हुन्ः निधि

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले एमाले नेता माधवकुमार नेपाल चिनियाँ राजदूतको सल्लाहमा उत्तर कोरिया गएको दाबी गरेका छन् ।

जनकपुरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पूर्व गृहमन्त्री समेत रहेका निधिले राष्ट्रसंघले नाकाबन्दी लगाएको उत्तर कोरिया गएको भन्दै नेपालको आलोचना गरे । चीन र उत्तर कोरियाको साठगाँठ रहेको र चिनियाँ राजदूतकै सल्लाहमा पूर्वप्रधानमन्त्री नेपाल उत्तर कोरिया गएको उनले दाबी गरे ।

नेता निधिले भने, ‘एमालेको राष्ट्रियता कताबाट सञ्चालित छ भन्ने यसबाटै प्रष्ट हुन्छ ।’

नेता निधिले एमालेको चर्को आलोचना गरे । एमाले संघीयता र मधेस विरोधी पार्टी भएको भन्दै उनले प्रदेश २ का जनताले उसलाई नपत्याउने दाबी गरे ।

प्रदेश २ मा १०० सिट जित्ने कांग्रेसको लक्ष्य रहेको उनले बताए । साथै आफ्नो गृह जिल्ला समेत रहेको धनुषालाई कांग्रेसको किल्ला बनाउने उनको दाबी छ ।

पत्रकार सम्मेलनमा कांग्रेस नेता रमेश लेखकले प्रदेश २ को चुनाव संघीयता पक्षधर र संघीयता विरोधीहरुको जनमत संग्रह भएको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment