Comments Add Comment

आमसञ्चार प्रतिष्ठानमा व्यक्तिको नाम नजोड्न सन्चारमन्त्रीलाई चौतारीको आग्रह

२६ भदौ, काठमाडौं । प्रेस चौतारी नेपालले सरकारले गठन गर्न लागेको आम सञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको नाम फेरेर व्यक्तिको नाम राखिएमा स्वीकार नगर्ने चेतावनी दिएको छ ।

चौतारीको केन्द्रीय नेतृत्वले सोमबार सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै प्रतिष्ठानको नाम हेरफेर नगर्न चेतावनी दिएको हो ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारका सन्चारमन्त्री शेरधन राईले राष्ट्रिय आमसन्चार नीति पारित गराई प्रतिष्ठान गठनको प्रक्रिया अघि बढाएका थिए । सोही सरकारले पत्रकारिता पेसालाई व्यावसायिक र मर्यादित बनाउन सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न ‘आम सञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान’ गठन गर्ने निर्णय गरेको थियो ।

तत्कालिन सरकारले बजेट समेत व्यवस्था गरिसकेको तर पछिल्ला सरकारले प्रतिष्ठान गठनको काम अघि नबढाएको आरोप चौतारीले लगाएको छ । अहिले आएर प्रतिष्ठानको नाम कृष्णप्रसाद भट्टराई आमसन्चार प्रतिष्ठान राखेर गठन गर्न लागिएको भन्दै चौतारीले मन्त्रीलाई भेटेर आपत्ति जनाएको छ ।

सम्मानति नेताको नाम विवादमा नपार्न मन्त्रीलाई आग्रह गरिएको चौतारीका महासचिव राजेश राईले बताए । उनले पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको तथ्य बंग्याउने प्रयास भइरहेको बताए ।

उनले व्यक्तिको नाम राखिएमा चौतारीले तालाबन्दी गर्ने र असहयोग गर्ने जानकारी गराइसकेको जानकारी दिए । यसबारेमा चौतारीले नेपाल पत्रकार महासंघको समेत आधिकारिक धारणा माग गरेको छ ।

ज्ञापनपत्र बुझाउँदै चौतारीका अध्यक्ष गणेश बस्नेतले आमसन्चार नीति र प्रतिष्ठानमा राजनीतिकरण नगर्न मन्त्री बस्नेतलाई सुझाव दिए । मन्त्री बस्नेतले सम्मानित व्यक्तिको नाम राख्दा आपत्ति जनाउनुनपर्ने बताए ।

भट्टराईकै नाममा प्रतिष्ठान गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको र यसमा पत्रकार महासंघले सहमति जनाएको मन्त्री बस्नेतले बताए । चौतारीले उठाएका अन्य माग पूरा गर्न आफू प्रतिबद्ध रहेको समेत उनले बताए ।

चौतारीले समानुपातिक विज्ञान प्रणाली लागु गर्नुपर्ने, पत्रकारको न्युनतम पारिश्रमिक लागु गर्न तथा अनुगमन गर्न मन्त्रालयले पहल गर्नुपर्ने लगायतका १४ बुँदे माग राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment