दाम्पत्य सम्बन्धलाई सुमधुर र प्रगाढ राख्ने तत्व के-के हुन् ? हामी फ्याट्टै भन्न सक्छौ, प्रेम । एकअर्कामा गरिने प्रेमले नै दम्पतीलाई जोड्ने हो । त्यससँगै विश्वास, समर्पण र अन्तरंग सम्बन्धले दाम्पत्य जीवनलाई खुसी एवं सुखी तुल्याउँछ । तर, यतिमात्र काफी छ त ?
पक्कै छैन । पार्टनरको आनीबानी र स्वभावले पनि यसमा महत्वपूर्ण भूमिका खेल्छ । त्यस्ता केहि आनीबानी, जसले दाम्पत्य जीवनलाई स्वस्थ्य राख्छ । सुखमय राख्छ । सुमधुर राख्छ ।
१. एकसाथ मर्निङ वाक
सुन्दा सामान्य लाग्छ, तर आफ्नो पार्टनरसँग जब बिहान एकसाथ कतै दौडन निस्कनुहुन्छ, हिँड्नुहुन्छ भने त्यसले दम्पतीको सम्बन्ध थप कसिलो बनाउन भूमिका खेल्छ ।
अक्सर बिहान पति वा पत्नीमध्ये एकजना मात्र मर्निङ वाकमा निस्कन्छन् । तर दुबैजना एकसाथ मर्निङवाक निस्कने हो भने, बेग्लै रोमाञ्चकता अनुभव हुन्छ । साथै, मर्निङवाकको क्रममा हाँसीमजाक गर्न पाइन्छ ।
मर्निङवाकले दुबैको मुड फ्रेस हुन्छ । स्वस्थ्य र तन्दुरुती हुन्छ । यसले दाम्पत्य सम्बन्ध थप रसिलो र कसिलो बनाउँछ ।
२. भान्सामा एकसाथ
अक्सर हामीकहाँ भान्सको काम पत्नीको जिम्मामा लगाइन्छ । हरेक दिन एकनासे काम गर्दा गर्दा उनीहरुलाई दिक्क पनि लाग्दो हो । यद्यपी, भान्समा पार्टनरको उपस्थिती हुने हो भने, त्यो दिक्दारी हट्न सक्छ । त्यती मात्र होइन, भान्साको वातावरण थप रोमाञ्चक र प्रेममय हुन्छ ।
संभव भएसम्म पतिले पनि भान्साको काममा सघाउन सक्छन् । यसले पत्नीको बोझ हल्का हुने मात्र होइन, भान्साको माहौल नै रमाइलो हुन्छ । साथसाथै सहयोगको भावना पनि बढ्छ । भान्सामा नयाँ-नयाँ रेसेपी तयार गर्न सकिन्छ । एकअर्कालाई मनपर्ने परिकार बनाउन सकिन्छ ।
३. एकसाथ शयनकक्षमा
अक्सर के हुन्छ भने, रातको खानापछि पति टेलिभिजन हेर्न थाल्छन् वा ओछ्यानमा पुग्छन् । पत्नीलाई भान्सा सम्हाल्नमै भ्याइ नभ्याई हुन्छ । यसले पनि दम्पतीबीच कटुता ल्याउने हो । त्यसैले भान्साको काममा पत्नीलाई सहयोग गरौं । र, शयन कक्षामा एकसाथ जाने अभ्यास गरौं ।
४. एकसाथ बनाऔं योजना
घरमा पाहुना निम्त्याउँदै हुनुहुन्छ वा कतै घुम्ने सोंचमा हुनुहुन्छ भने, त्यसमा एकलौटी निर्णय नगरौ । पार्टनरको उपस्थितीमा मात्र कुनैपनि योजना बनाउनु राम्रो हो । घरको आर्थिक हिसाब किताबदेखि बालबच्चा पढाउने कुरामा पनि एकअर्काको राय-सुझाव लिनुपर्छ । यसले संभावित कलहबाट बचाउँछ । साथै नयाँ आइडिया समेत आउँछ ।
फ्याक्ट फाइल
– शिकागो युनिभर्सिटीद्वारा गरिएको एक अध्ययन अनुसार दम्पती एकदमै सकारात्मक छन् भने यस्तो दम्पतीमा मनमुटाव, झैझगडा हुँने संभावना कम हुन्छ ।
– एक अध्ययन अनुसार दम्पतीबीच झगडा हुने प्रमुख कारणमा पैसा र संवादहीनता हो ।
– एक सर्वेक्षणबाट थाहा भएको छ कि, जसले बिवाहपछि आफ्ना साथीसंगीसँग पनि समान सम्बन्ध कायम राख्न सक्छन्, आफ्नो सौख पुरा गर्नका लागि समय निकाल्छन्, उनीहरुको दाम्पत्य सुखमय हुन्छ ।