Comments Add Comment

ओम अस्पतालको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द

मृतकका आफन्तद्वारा अस्पताल खारेजीको माग

२९ भदौ, काठमाडौ । विरामीको मृत्युलाई लिएर उत्पन्न तनावका कारण चावहिलस्थित ओम अस्पतालको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

अस्पतालले सुचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि अस्पतालको ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको हो ।

नाकको शल्यक्रिया गर्ने क्रममा गुल्मी मदाने गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई हाल बुटवलस्थित शंकरनगर बस्ने ४० वर्षीया कमला भट्टराईको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा विरोध सहित नाराबाजी गर्दै आएका छन् ।

कमला शंकरनगर स्वास्थ्य चौकीकी सिनियर अहेव थिइन् । अस्पतालको लापरवाहीका कारण विरामीको ज्यान गएको भन्दै उनका आफन्तले हिजो देखि नै अस्पतालमा नाराबाजी गर्दै आएका छन् ।

मृतकका आफन्तले अस्पताल परिषरमा बिरोध कार्यक्रम जारी राखेका छन् । उनीहरुले घटनाको बिषयमा प्रभावकारी छानविन तथा ओम अस्पतालको खारेजीको माग गरेका छन् ।

‘अस्पतालले आफूहरुबाट लापरवाही भएको स्वीकारिसकेको अवस्थामा उक्त अस्पतालको लाइसेन्स खारेज हुनुपर्छ भन्ने हाम्रो माग हो’, मृतकका भाइ नारायण न्यौपानेले भने ।

उनले सोही माग पूरा नहुँदा मृतकका परिवार तथा अस्पताल प्रशासनबीच दिउँसो दुई बजे सुरु भएको वार्ता टुङ्गोमा पुग्न नसकेको बताए ।

यता अस्पतालले भने चिकित्सकको लापरवाहीका कारण विरामीको मृत्यु नभएको दावी गर्दै स्वास्थ्य मन्त्रालयबाट गठित उच्चस्तरीय छानविन टोलीलाई छानविनमा पूर्ण सहयोग गर्न आफूहरु तयार रहेको बताएको छ ।

ओम अस्पतालमा विरामीको मृत्युलाई लिएर स्वास्थ्य मन्त्रालयले बुधबार नै उच्चस्तरीय छानबिन समिति गठन गरेकेा थियो । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्टको नेतृत्वमा सात सदस्यीय टोलीले हिजैबाट अनुसन्धान सुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment