Comments Add Comment

प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारबारे छलफल गर्न एमालेले बोलायो बैठक

३० भदौ, काठमाडौं । तीनै चरणका स्थानीय तह निर्वाचन लगत्तै नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रणनीति बनाउन केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । एमाले केन्द्रीय कमिटी बैठक असोज ६,७ र ८ गते काठमाडौंमा बस्ने तय भएको हो ।

असोज २ को प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको परिणाम आइरहेका बेला एमालेले केन्द्रीय कमिटी बैठकमा सातै प्रदेशका स्थानीय तह निर्वाचन परिणामकोसमेत समिक्षा गर्ने केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

एमालेले निर्वाचन सम्पन्न भएका ६ प्रदेशमध्ये १ र ३ नम्बर प्रदेशमा बहुमत स्थानीय तह जितेको छ भने ६ र ७ मा सबैभन्दा ठूलो दल बनेको छ । प्रदेश २ मा ठूलो दल बन्ने दावी एमालेको छ ।

केन्द्रीय कमिटी बैठक मूलतः आसन्न प्रदेशसभा र प्रतिनिसभा निर्वाचनको तयारीका लागि आयोजना गरिएको श्रेष्ठले बताए । यो बैठकले दुवै संसदका समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारहरुको मापदण्ड तय गर्ने र उम्मेदवार सिफारिस प्रक्रिया टुंगो लगाउनेछ ।

यहि बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाका उम्मेदवारहरुको बारेमा छलफल गर्ने उनले बताए । असोज अन्तिम साता समानुपातिक उम्मेवदवारको बन्द सुची पेश गर्नुपर्ने र कात्तिक ४ गते प्रत्यक्ष तर्फ मनोनयन गर्नुपर्ने भएकाले बैठकले सबै विषय टुंगो लगाएर स्थायी कमिटीलाई जिम्मा लगाउने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment