Comments Add Comment

बाढीले दक्षिण एसियामा वार्षिक २१५ खर्ब रुपैयाँको क्षति, नेपाल पनि प्रभावित

३० भदौ, काठमाडौं । अहिले विश्वको ध्यान इर्मा र हार्वे आँधीको चपेटातिर छ । यससँगै दक्षिण एसियाका बासिन्दाले बर्सेनि बेहोर्ने बाढीको चपेटाबारे बहस पनि सुरु भएको छ ।

दक्षिण एसियाका चार करोड १० लाखभन्दा बढी मानिसले बाढीसँग जुझ्नुपर्छ । त्यसको ठूलो संख्या विस्थापित हुने गरेको छ ।

वल्र्ड रिसर्च इन्सटिच्युटको ग्लोबल फ्लड एनालाइजरको सन् २०१५ को तथ्यांकलाई आधार मान्ने हो भने सन् २०३० सम्ममा हरेक वर्ष दुई सय १५ खर्ब रुपैयाँ क्षतिको मुल कारण बाढी हुने सम्भावना छ । यसको प्रभाव पश्चिममा अफगानिस्तानदेखि पूर्वमा बंगलादेशसम्म पर्नेछ ।

‘ठूला नदीका किनार र तल्लो तटीय क्षेत्रमा बसेका शहरहरुमा बाढीको बढी जोखिम देखिएको छ, जहाँ ढल निकासको राम्रो व्यवस्था छैन,’ नयाँदिल्लीस्थित जोखिम नियन्त्रण, संकट तथा सुरक्षा परामर्शदाताका कार्यकारी निर्देशक टम हिल भन्छन् ।

उनका अनुसार तीव्र वर्षा तथा जटिल मौसमको प्रभाव दक्षिण एसियाका व्यवसायीलाई मात्र पर्ने छैन, बहुराष्ट्रिय कम्पनीहरु पनि अछुतो रहने छैनन् । त्यस्ता कम्पनीका लागि कच्चा पदार्थको स्रोत दक्षिण एसिया हो ।

गत महिनामा मात्रै भारत, बंगलादेश र नेपालमा बाढीबाट कम्तिमा पनि एक हजार दुई सय जनाको मृत्यु भयो । मौसममा आएको परिवर्तनको कारण आगामी वर्षहरुमा अझ बढ्ने विनाशकारी बाढीबाट दक्षिण एसियामै जोखिम निम्तिने अनुसन्धानदाताहरुले बताइरहेका छन् ।

यो क्षेत्रमा अहिले पनि वाषिर्क ९५ लाख मानिस बाढीबाट प्रभावित हुन्छन् । त्यसका कारण भारत र बंगलादेशको कुल गार्हस्थ उत्पादनमा जोखिम देखिने गरेको तथ्यांक छ ।

सन् २०१६ मा मात्रै एसियामा तीन सय २० वटा प्राकृतिक विपत्ती देखिए । तिनबाट भएको नोक्सानको परिमाण करिब ८७ खर्ब रुपैयाँको थियो । त्यसमध्ये ७७ खर्ब रुपैयाँबराबरको जोखिमको बीमासमेत नभएको पाइएको थियो ।

यी क्षेत्रको ग्रामिण भेग सुख्खाबाट आक्रान्त छन् भने शहरमा बाढीको कहर देखिन्छ । यस वर्ष मुम्बईमा दशकयताकै ठूलो बाढी आयो । प्रतिघण्टा एक सय ५० मिलिमिटर -६ इन्च)सम्म वर्षात् भयो ।

बंगलादेशमा दुई चरणको बाढीले परनिर्भरता बढायो । ६ वर्षसम्म चामलमा आत्मनिर्भर बनेको बंगलादेशले यसवर्ष १५ लाख टन आयात गर्नुपर्‍यो ।

संयुक्त राष्ट्रसंघीय विपत्ती जोखिम नियन्त्रण कार्यालयका अनुसार सन् १९९५ देखि २०१५ सम्ममा विश्वमा देखिएका विपत्तीमध्ये ४७ प्रतिशतको कारक बाढी नै थियो । जसका कारण दुई अर्ब ३० करोड जनसंख्या प्रभावित भयो । त्यसमध्ये ९५ प्रतिशत एसियाकै थियो ।

सार्वजनिक पूर्वाधार आयोजनाहरुमा सरकारको व्यवस्थित योजना नहुनुले नै एसियामा बाढीको प्रभाव अन्यत्रको तुलनामा बढी देखिने गरेको छ ।

मौसममा आधारित अवरोधहरुका कारण दक्षिण एसियाका कम्पनीहरुले लगानी योजना अगाडि बढाउन सकिरहेका छैनन् । सडक, बाँध मर्मत र बाढीपछिको राहतलगायत विषयमा सरकारहरुले खर्च गर्नु परिरहेको छ ।

विश्व बैंकका अनुसार एसियामा व्यवस्थित शहरी विकास योजनाको अभाव छ । त्यसका कारण करिब १३ करोड मानिस अवस्थित बसोबास र गरिबीमा बाँच्न बाध्य छन् । जनसंख्याको यो हिस्सा पुरै जापानको बराबर हो ।

सन् २०३० सम्ममा दक्षिण एसियाका मुख्य शहरहरुमा करिब २५ करोड जनसंख्याको बसोबास हुने अनुमान छ । तर, मौसम परिवर्तनमा लगानी नभइरहँदा यस्ता शहरहरुमा पूर्वाधार सुधारको मुद्दा अझ पेचिलो बनेको छ ।

नेपाल, भारत र बंगलादेशले मात्रै हाल बाढी नियन्त्रणका लागि ७८ वटा आयोजनामा ३२ खर्ब रुपैयाँबराबरको लगानी गरिरहेका छन् ।

यसअघि सय वर्षमा एकाध पटक मौसमको कारण आउने ठूला विपत्ति अहिले ३/४ वर्षकै अन्तरालमा दोहोरिन थालेका छन् । अब नीति निर्माता र केन्द्रीय बैंकहरुले आर्थिक योजना बनाउँदा पनि मौसमको जोखिमलाई ध्यानमा राख्नै पर्ने अवस्था आएको भारतीय केन्द्रीय बैंकका पूर्वगभर्नर रघुराम राजन बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment