Comments Add Comment

सप्तरीका मतदाताः हातमा अधकट्टी छ, सूचीमा नामै छैन

३१ भदौ, सप्तरी । छिन्नमस्ता गाउँपालिका १ का रामनारायण यादव मतदाता परिचय पत्र लिन वडा कार्यालय पुगे । तर, उनले परिचय पत्र पाएनन् ।

‘लिस्टमा नामै छैन’ भन्दै कर्मचारीहरुले मतदाता परिचय पत्र दिएनन् । जबकि, उनले नामावलीका लागि तस्बिर पनि खिचाएका थिए ।

दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा मतदान गर्न हौसिएका थिए, उनी । मतदाता बन्न उनले ०७२ सालमै सदरमुकाम राजविराजस्थित जिल्ला प्रशासन पुगेर तस्बिर खिचाएका थिए ।

हनुमाननगर-कंकालनी नगरपालिका १ भारदहकी पारादेवी मण्डल पनि मतदान गर्नबाट वञ्चित भइन् । जबकि, दोस्रो संविधानसभा निर्वाचनसम्म उनले मत खसाल्न पाएकी थिइन् । यस पटक मतदाता परिचय पत्र लिन जाँदा नामै फेला पार्न सकिनन् ।
सोही ठाउँका राजकुमार माझी पनि अक्क न बक्क भए, मतदाता नामावलीमा आफ्नो नाम नभेट्दा । उनले ०७१ सालमै तत्कालीन भारदह गाविस कार्यालयमा तस्बिर खिचाएका थिए ।

त्यसको रसिद देखाउँदै उनले भने, ‘कागजमा त तपाईंको दर्ता भयो भनेर छाप पनि लगाइएको छ । किन मेरो नाम आएन ?’

सप्तरीमा उनीहरु जस्ता सयौं मतदाताले परिचय पत्र पाउन सकेका छैनन् । मतदान केन्द्रमा खुशीसाथ परिचय पत्र लिन पुगेका धेरै व्यक्ति रित्तो हात निराश हुँदै घर र्फकन बाध्य भएका छन् । सदरमुकाम राजविराजसहित जिल्लाका १८ वटै स्थानीय तहमा यस्तो समस्या देखापरेको छ ।

कतिपय ठाउँमा सूचीमा नाम भएकाहरुको परिचय पत्रसमेत आएको छैन । कुनै ठाउँमा पतिको मात्रै नाम छ भने कुनैमा पत्नीको मात्रै । ‘श्रीमान्, श्रीमतीले सँगै मतदान गर्ने सोचेका थियौं,’ हनुमाननगर-कंकालनी ७ की विदनीदेवी मरिक डोमले भनिन्, ‘तर, त्यो सपना मात्र बन्यो ।’

उनी पति मिश्रीलालसहित मतदान केन्द्रमा शनिबार परिचय पत्र लिन पुगेकी थिइन् । पतिको मात्र परिचय पत्र फेला पर्‍यो । डोमले संविधानसभाका दुवै निर्वाचनमा मतदान गरेकी थिइन् । आफ्नै गाउँघरको नेतृत्व छान्ने बेलामा भने उनको नाम मतदाता सूचीमै छैन ।

उक्त नगरपालिकाको वडा नम्बर ७ मा करिब १८ सय मतदाता थिए । उनीहरु मध्ये ११ सय जनाको मात्र नाम आएको छ ।

कसरी यस्तो समस्या आयो त ? जिल्ला निर्वाचन कार्यालय प्रमुख महेश ठाकुरले भने, ‘यो जिल्लाको समस्या होइन, निर्वाचन आयोगको त्रुटी हो ।’

उनका अनुसार ०७०, ०७१ र ०७२ मा मतदाता परिचय पत्रका लागि तस्वीर खिचाएका सबैको विवरण आयोगमा पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment