Comments Add Comment

कांग्रेस विधीसम्मत नचल्दाको असर स्थानीय चुनावमा पर्यो: प्रकाशमान

७ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी प्रजातान्त्रिक मूल्य र मान्यताबाट चल्न नसकेको बताएका छन् । नेता सिंहले पार्टी विधीसम्मत नचल्दाको असर स्थानीय चुनावमा परेको बताए ।

नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिले दशैं, तिहार र छठ पर्वको अवसरमा आज राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले भने, ‘पार्टी विधीसम्मत र नियमसम्मत ढंगले चल्न नसक्दा स्थानीय तहको निर्वाचनमा पराजय भोग्नुपर्यो ।’

पूर्व महामन्त्री समेत रहेका सिंहले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सबै क्षेत्रमा कांग्रेसलाई जिताउने गरी लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए। सम्वृद्धि र विकास आगामी चुनावका एजेण्डा बन्नुपर्ने नेता सिंहले बताए ।

‘कांग्रेसको सरकारका पालामा निर्माण भएको संविधानअनुरुप प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुन लागेको छ अब कांग्रेसले सम्वृद्धिको नारा लिएर आम मतदातासमक्ष जानुपर्छ,’ उनले भने ।

निर्वाचनमा राम्रो नतिजा आए जस लिने र नराम्रो नतिजा आए फलानोले गर्दा त हो नी भनेर अरुलाई दोष थोपर्दै उम्कन नमिल्ने उनले बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशी र ध्यानगोविन्द रञ्जितले मेरो वा तेरो मान्छे भन्दापनि कांग्रेसको मान्छे बनेर निर्वाचनमा गएमात्र कांग्रेसले जित हाँसिल गर्न सक्ने बताए ।

नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेद्वार तय गर्न केन्द्रबाट निर्देशन जारी भइसकेको भन्दै सबै वडा र क्षेत्रले राम्रो उम्मेद्वारलाई छनोट गरी सिफारिस गर्न आग्रह गरे ।

कार्यक्रममा गत साउन अन्तिम साता तराईमा आएको बाढीबाट पीडित बनेकाहरुलाई सहयोग गर्नका लागि काठमाडौं कांग्रेसले संकलन गरेको ५ लाख ५५ हजार ५५५ रुपैयाँ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment