Comments Add Comment

प्रदेश २ मा नयाँ शक्तिको साख जोगाउने कुरुड को हुन् ?

८ असोज, सप्तरी । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एउटा सिट जित्यो । प्रदेश नम्बर २ को निर्वाचनमा सप्तरीबाट नयाँ शक्तिले एक सिट जितेको हो । छिन्नमस्ता गाउँपालिकाको प्रमुखमा नयाँ शक्तिका सुर्यनारायण मण्डल ‘कुरुड’ले प्रमुख जित्दा उपप्रमुख राष्ट्रिय जनता पार्टीले जित्यो ।

सबैलाई आश्चर्यचकित बनाउँदै नयाँ शक्तिबाट कुरुड विजयी भए । सबैलाई आश्चर्य लाग्न सक्छ नेकपा माओवादी केन्द्र, राजपा र संघीय फोरमका प्रमुख नेताहरुको गाउँपालिकाबाट कुरुडले कसरी प्रमुख पद जिते ? यसको विश्लेषण सबैको आ-आफ्नै किसिमको छ ।

नेपालकै पर्यटकीय गाउँ छिन्नमस्ता जहाँ छिन्नमस्ता भगवती मन्दिर छ । र, यो मन्दिरमा स्वदेशी तथा विदेशी भक्तजनको १२ महिना नै भिड लाग्ने गर्दछ । यो गाउँपालिकामा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य उमेश यादवको घर छ । माओवादीबाट सिंचाई मन्त्री बनिसकेका यादवको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ मा घर छ ।

अर्काे राजपाका प्रभावशाली नेता सत्यनारायण यादव, रामनारायण यादव र किशोर कुमार यादव केसीको घर पनि यसै गाउँपालिकामा छ । संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादवको गाउँ पनि छिन्नमस्ता नै हो । तर यत्रा ठूला नेताहरुको घर रहेको गाउँपालिकामा कसैको पार्टीले प्रमुख पद जित्न सकेनन् ।

प्रमुख पद मात्र होइन् आफ्नो वडामा समेत यी नेताहरुले पार्टीको साख जोगाउन सकेनन् । माओवादी नेता उमेश यादव र राजपाका नेता किशोर कुमार यादव तथा फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादवको घर रहेको वडा नम्बर ४ मा कांग्रेसले वडा अध्यक्ष जित्यो । कांग्रेसका रामनन्दन पण्डित वडा अध्यक्षमा विजयी भए । यसो त कांग्रेसका जिल्ला सचिव रामकुमार यादवको पनि गाउँ हो छिन्नमस्ता वडा नम्बर ४ । तर रामकुमार जिल्ला सचिव भएका नेता हुन् भने माओवादी, राजपाका नेताहरु केन्द्रीयस्तरका ।

राजपाका अर्का नेता सत्यनारायण यादव र रामनारायण यादवको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ मा घर छ । रामनारायण यादव उही हुन् जसका पत्नीले राजपाबाट प्रमुखको टिकट पाएकी थिइन् । तर यी नेताहरुले आफ्नो वडामा समेत पार्टीको साख बचाउन सकेनन् । यो वडामा स्वतन्त्र उम्मेदवार दीपेन्द्र यादव निर्वाचित भएका छन् ।

कसरी जिते कुरुडले ?

नयाँ शक्तिबाट प्रमुखमा कुरुड जित्नुलाई स्थानीयहरुले एउटै समुदायबाट धेरै उम्मेदवार बन्नुलाई कारण ठान्छन् । एउटै समुदायबाट धेरै उम्मेदवार नबनेको भए माओवादी र राजपा जित्ने सम्भावना उनीहरुले व्यक्त गरेका छन् ।

स्थानीयहरुको भनाइअनुसार राष्ट्रिय जनता पार्टीबाट प्रमुखमा बिमल देवी यादव, नेपाली कांग्रेसबाट कुलानन्द यादव, माओवादी केन्द्रबाट जयप्रकाश यादव, संघीय समाजवादी फोरम नेपालबाट केदार यादव, नेपाल लोकतान्त्रिक फोरमबाट निर्मल प्रसाद यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजदेव यादवको उम्मेदवारी परेको थियो । यस गाउँपालिकामा यादव समुदायको मत अरु समुदायभन्दा बढी छ ।

राजपा नेता किशोर कुमार यादव एउटै समुदायबाट धेरैको उम्मेदवारी पर्नु आफ्नो ठाउँमा ठीक भएपनि मुख्य नेताहरुको अहम् पनि मण्डलको जीतको कारण बनेको बताउँछन् । उनको भनाइमा अधिकांश ठूला नेताभित्र देखिएको अहमका कारण धेरै मतदाता कुरुडतिर आकर्षित भएका हुन् ।

राजपाका लागि एउटा ठूलो समस्या के भयो भने नेता पत्नीलाई टिकट दिनु । स्थानीयहरुका अनुसार राजपाले कुनै सकृय नेतालाई टिकट दिएको भए जित्ने सम्भावना राम्रो थियो ।

२ वटा वडामा पनि विजयी

आफ्नो उम्मेदवारी दर्ता गराएसँगै डमी उम्मेदवार समेत बनाए कुरुडले । आफ्नै छोरा तेजनारायणलाई स्वतन्त्र उम्मेदवारी दिन लगाएर उनी निर्वाचनमा होमिए । हुन त  कुरुड र उनको छोराले उम्मेदवारी दर्ता गराए लगत्तै उनीहरुबिरुद्व राजपा उम्मेदवारले उजुरी नै हाले पुरानो मुद्दा दर्शाउँदै ।

सुर्यनारायणबिरुद्व २०५५ सालको फौजदारी नम्वर ५१, हातहतियार खरखजाना मुद्दामा ६ महिना कैद र पाँच हजार पाँच सय जरिवाना रहेको दावी गर्दै उजुरी परेको थियो । उनको छोराबिरुद्व साविकको छिन्नमस्ता गाविसको कार्यालयबाट आ.व. २०६७/६८ को लेखापरीक्षणबाट उनले लिएको पेश्की रु २ लाख ५० हजार बेरुजु नै रहेको भन्दै उजुरी दिइएको थियो ।

तर प्रमाण फेला नपरेको भन्दै निर्वाचन अधिकृतले सफाई दिएका थिए । सफाई पाए लगत्तै छोराको सहयोग पाएर प्रचार-प्रसार तिब्र बनाएका कुरुड हरेक मतदाताको घरसम्म पुग्न सफल भए । जसको फलस्वरुप उनले मिठो जीत हासिल गरेका छन् छिन्नमस्ताको प्रमुख बनेर ।

कुरुड आफू मात्रै प्रमुखमा निर्वाचित भएनन् । छिन्नमस्ता गाउँपालिकाका २ वटा वडामा समेत पार्टीलाई निर्वाचित गराए । कुल ७ वटा वडा रहेको छिन्नमस्ता गाउँपालिकामा नयाँ शक्तिले २ वटा वडा पनि जितेको छ । वडा नम्बर २ मा नयाँ शक्तिका चुनचुन साह र वडा नम्बर ६ मा बिरेन्द्र साह वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

को हुन् कुरुड ?

सुर्यनारायण मण्डल ‘कुरुड’ सप्तरीको चर्चित नाम हो । पञ्चायतकालदेखि नै राजनीतिमा सकृय ६१ वर्षीय कुरुड २०४० सालमै जनप्रतिनिधी बनिसकेका थिए । सधैं दलित वर्गसँग घुलमिल गर्दै आएका कुरुड २०४८ सालको स्थानीय निकाय निर्वाचनमा पनि छिन्नमस्ताको प्रधानपञ्च बनेका थिए ।

राजा ज्ञानेन्द्रले देशमा ‘कू’ गरेको बेला पनि यिनलाई क्षेत्रपालमा मनोनित गरिएको थियो । पहिलो संविधानसभा निर्वाचनमा मतदाता मात्रै रहेका उनी दोस्रो संविधानसभाको निर्वाचनमा स्वतन्त्रबाट चुनाव लडे । तर पराजित रहे ।

अहिले गाउँपालिकाको प्रमुख बनेपछि उनको पहिलो एजेन्डा समाजमा तल्लो वर्गको दृष्टिले हेर्दै आएका डोम, मुसहरको उत्थान गर्दै समाजमा समान हैसियत बनाउनु हो । ‘दलित वर्गलाई समाजमा जहिले पनि हेप्ने काम हुँदै आएको छ,’ उनले भने, ‘पहिला उनीहरुलाई समाजमा समान हैसियत दिलाउने काम गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment