Comments Add Comment

रुकुमलाई नमूना जिल्ला निर्माण गर्ने निर्णय, पूर्वी रुकुमको सदरमुकाम तोक्न माग

कामी बुढाको फोटोमा माल्यार्पण गरेर जिसस पदाधिकारीद्वारा पदभार ग्रहण

 

९ असोज, रुकुम । जिल्ला समन्वय समिति रुकुमको पहिलो बैठकले नमूना जिल्ला निर्माण गर्ने निर्णय गरेको छ ।

शान्त, समृद्ध र समाजवाद उन्मुख रुकुमको आधार, सुशासन जीवन उपयोगी शिक्षा र गुणस्तरीय भौतिक पूर्वाधार भन्ने मूल नारासहित नमूना जिल्ला निर्माण गर्ने निर्णय गरेको हो ।

बैठकले जिल्लामा सुशासन एवं दिगो विकास, भ्रष्टाचारमुक्त समाज निर्माण, अर्थपूर्ण जनसहभागिता सुनिश्चितता, आवश्यकता अनुसार विज्ञ सहितको अनुगमन कार्य गर्ने निर्णय गरेको छ ।

जिल्ला समन्वय समितिका वरिष्ठ कार्यक्रम अधिकृत चिन्तामणी दाहालका अनुसार बैठकले संघीयता कार्यान्वयनका लागि संविधान र ऐन नियम अनुसार स्थानीय तहमा समायोजन हुने कार्यालयहरुलाई यथासक्य चाडो क्रियाशिल गराउने निर्णय पनि गरेको छ ।

त्यस्तै स्थानीय तहका निर्वाचनलाई शान्तिपूर्ण भयरहित र उत्साहपूर्ण सम्पन्न गर्न भूमिका खेल्ने निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी तथा समस्त मतदातालाई धन्यवाद दिएको छ ।

यसैगरी बैठकले साविकको जिल्ला समन्वय समितिको स्रोतलाई दुवै जिल्ला समन्वय समितिलाई बराबरी रुपमा बाँडफाँड गर्न कर्मचारीलाई निर्देशन दिएको छ ।

पूर्वी रुकुमको सदरमुकाम तोक्न माग

यसैगरी, जिल्ला समन्वय समिति पूर्वी रुकुमको बैठकले जिल्ला सदरमुकाम तोक्न सरकारसँग माग गरेको छ ।

पूर्वी रुकुमकै उपयुक्त स्थानमा सदरमुकाम तोकी सबै प्रकारका सेवा सुचारु गर्ने व्यवस्था मिलाउन नेपाल सरकार समक्ष माग गर्ने निर्णय गरेको छ ।

पूर्वी रुकुमको सदरमुकाम पनि साविककै रुकुम जिल्ला सदरमुकाममा राख्दा जिल्लाबासी नागरिकलाई असहज भएको भन्दै बैठकले यस्तो निर्णय गरेको हो ।

शहीद कामी बुढाको सम्झना

नवनिर्वाचित जिल्ला समन्वय समितिका पदाधिकारीहरुले राष्ट्रिय शहीद कामी बुढाको फोटोमा माल्यार्पण गरेर पदभार ग्रहण गरेका थिए । निर्वाचित भएपछि दुवै जिल्ला पश्चिम र पूर्वी रुकुममा पदाधिकारीले पदभार ग्रहण गर्नुअघि शहीद बुढाको फोटोमा पुष्प गुच्छा चढाएका थिए ।

जिल्ला समन्वय समितिको कार्यालयमा राखिएको शहीद कामी बुढाको तस्वीरमा नवनिर्वाचित पश्चिम रुकुमका प्रमुख राजकुमार शर्मा, पूर्वी रुकुमका प्रमुख गजेन्द्रबहादुर ओली लगायतका पदाधिकारीहरुले पालैपालो माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरेका थिए ।

जनताका नाममा सपथ लिएका समन्वय समितिका पदाधिकारीहरुले शहीदको तस्वीरमा माल्यार्पण गरेर सपथ ग्रहण तथा पदभार ग्रहणमा नयाँ परम्पराको थालनी गरेका छन् ।

पदभार ग्रहणलगत्तै बसेको जिल्ला समन्वय समिति पश्चिम रुकुमको बैठकले नेपालकै प्रथम कम्युनिष्ट शहीद कामी बुढा लगायतका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुको साथै आन्दोलनका क्रममा घाइते अपांग तथा वेपत्ताहरु योद्धाहरुप्रति सम्मान तथा शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment