+
+

गाउँघरमै दामी हुन्छ दशैं

ध्रुव लम्साल ध्रुव लम्साल
२०७४ असोज १३ गते २१:२८

 

‘दशैंमा सबैभन्दा रमाइलो लाग्ने दिन कुन हो ?’, प्रश्न ।

‘टीकाको दिन’, अधिकांशको उत्तर ।

हो, निधारभरि अक्षता लाएर हिँड्दा छुट्टै मज्जा आउँछ धेरैलाई । तर, दशैंको रमाइलो पक्ष यो मात्रै हैन । अरु धेरै छन्, मज्जा लिन भने जान्नुपर्छ ।

काठमाडौको दशैं कस्तो हुन्छ, मलाई थाहा छैन । तर, गाउँको दशैंको भरपुर मज्जा लिने गरेको छु । प्रायः फूलपातीको दिन घर (धादिङ) पुगिन्छ । पहिला-पहिला बसको छतमा बसेर गइन्थ्यो । केहि वर्षयता मेरो दशैंयात्रा मोटरसाइकलमा हुने गरेको छ, पछाडि बसेर । खासमा मलाई मोटरसाइकल चलाउन आउँदैन । पछिल्लो समय गाउँमा एकघर एक बाइक भएकाले भाइहरुको पछाडि बसेर हिँड्ने मेसो मिलेको छ । लामो यात्रामा पछाडि बस्दा पनि हेल्मेट लाउने गरेको छु ।

घर नजिकै राममणी काकाको किराना दोकान छ । अरु बेलामा सुनसान भएपनि दशैं तिहारमा दोकानमा थेगिनसक्नु भिड हुन्छ । दोकान अगाडि पुगेपछि उनलाई ‘हाई’ नभनी गयो भने साफ झपार्छन् । त्यसकारण भन्नैपर्छ, ‘अंकल आइपुगेम् ।’

‘खाने बेलाँ त किन आउँदैन थिइस् त,’ मलाई मात्रै हैन अरुलाई पनि अँकल यस्तै भन्छन् प्रत्युत्तरमा ।

राममणी काका ठाडो बोल्छन् । उनलाई नचिन्नेहरुले एकछिन उनको कुरा सुन्यो भने ठान्दा हुन्, ‘योभन्दा छुच्चो मान्छे दुनियाँमै कोहि छैन ।’

तर, उनी अरुले सोचे जस्तो छैनन् । वास्तवमै ‘माई डियर’ छन् । नातामा उनी सबैको काका हुन् । सबलाई तँ भनेर सम्वोधन गर्छन् तर, उनको ‘तँ’मा छुट्टै मिठास हुन्छ । गाउँका अभिभावक उनै हुन् । उनकै उमेरका अरु कोहि करिअर बनाउन भन्दै शहर छिरे । कोहि पैसा कमाउन खाडी पुगे तर, उनी गाउँमा किराना दोकान थापेर बसेका छन् । दाल, चामल, चिनी भैंसीलाई ढुटोदेखि सियोसम्म पाइन्छ उनको दोकानमा ।

अर्को पनि फाइदा छ । सामानको पोको हातमा लिएपछि ‘अंकल खातामा लेख्नु है’ भनेर हिँड्न पाइन्छ । गाउँमा कोही बिरामी भयो भने फोन गरेर एम्बुलेन्सको जोहो गरिदिनेदेखि भैंसी बिरामी हुँदा निको पार्ने उपाय सिकाउने पनि उनै हुन् ।

साँझपख घरका एकजनाको दरले उनकै दोकानमा जम्मा हुन्छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले दशैं खर्च बाँडेकोदेखि उत्तर कोरिया-जापान तनावका विषयमा समेत गच्छे अनुसारको टिप्पणी हुन्छ । सबैको कुरा सकिएपछि मलाई सोध्छन्, ‘ल भन् काठमाडौंको नयाँ खबर के छ ?’

चौताराडाँडामा एकभारी घाँस

समाचार लेख्ने कुरामा अल्छि गरेँ होला तर, घरेलु काम गर्न खुब जाँगर लाग्छ मलाई ।

फराकिलो भाँडोमा तोरीको तेल हाल्नुस् । तेल तातेपछि ज्वानो मेथी फुराउनुस् । मासु ओइरिनुस् । दाउरामा पकाउँदा मासु भुटिन एक घण्टाजति लाग्छ । जब मासु पाक्छ आगोबाट बाहिर निकाल्नुस् अनि नुन र जिराको धुलो हालेर मोल्नुस् । अनि अर्को मुख ठूलो भएको भाँडोमा खन्याउनुस् ।

घर पुगेको पहिलो दिन गाउँ चहार्दैमा फुर्सद हुँदैन ।

‘घर आउन पा’छैन फुत्त गाउँमा,’ पहिला-पहिला आमा भन्नुहुन्थ्यो ।

अहिले यसो भन्नेमा श्रीमती र छोरी पनि थपिएका छन् । नानीदेखि लागेको बानी मलाई गाउँ नचहारी चित्तै बुझ्दैन ।

घरमा एउटा लौनो भैंसी, एउटा गाई ५ वटा खसी र ७ ओटा बाख्रा छन् । घर पुगेको भोलिपल्ट बिहानदेखि एकभारी धुलो घाँस काट्नु मेरो ठेक्कै हो । घरबाट १० मिनेट तल छ चौतारो डाँडो (हाम्रो बारी) । जेठदेखि मंसिरसम्म घाँस काट्ने त्यहि बारी हो । सिंगै पाखोमा घाँस मात्रै पाल्ने चलन छ ।

बिहान आठ बजे बारीमा पुगेपछि नौ बजे घाँसको भारी पुग्छ । भारी बोकेर घर आउँदा २० मिनेटजति लाग्छ । २० मिनेट भारी बोक्दा ज्यानमा मज्जाले पसिना आउँछ । घाँसको भारी बिसाएपछि थाहा हुन्छ जिन्दगीको वास्तविक मज्जा । नौ बजेतिर पँधेरामा भिड हुन्छ । त्यहि भिडमा पालो कुरेर नुहाउँदाको मज्जा कति हो कति ।

भात खाइसकेपछि खास काम हुँदैन । १५ वटा जति अम्बाको बोट छ । जोख्ने हो भने दिनमा पाँच किलो खाइन्छ होला तर, आजसम्म अम्बा खाएर पेट दुखेको थाहा छैन ।

दिउँसो मज्जाको घाम चर्किन्छ । ३ बजेसम्म यताउति डुलेरै बित्छ । साँझ तीन बजेपछि रायो, मुला, बकुल्ला लगायत अरु तरकारी लाउनलाई बारी खनिन्छ ।

मासु मिठो बनाउने ‘मेथड’

अष्टमीको दिन घरमै पालेको खसी काट्ने चलन छ । तीन दाजु भाइलाई ३० किलोको एउटा खसी काटेर मासु टुक्रयाउन ४ घण्टा जति लाग्छ ।

पकाउने ठेक्का मेरै हो । २० वर्ष भयो दशैंको मासु मैले नै पकाउँदै आएको छु । मासु पकाउने धेरै तरिका होला । तर, मेरो स्टाइल फरक छ । आन्द्राभुँडी, रक्ति र फोक्सोबाहेक अरु सबै मासु एउटै भाँडोमा पकाउने चलन छ । टाउको, डुडी खुट्टालगायत अन्य सबै मासुलाई एउटै भाँडोमा राखेर भुटेपछि बल्ल तयार हुन्छ गाउँले स्वादको मासु ।

यसरी मासु पकाउँदा २० किलो मासुका लागि एक लिटर तोरीको तेल चाहिन्छ । फराकिलो भाँडोमा तोरीको तेल हाल्नुस् । तेल तातेपछि ज्वानो मेथी फुराउनुस् । अनि मासु ओइरिनुस् । दाउरामा पकाउँदा एक घण्टाजति लाग्छ मासु भुटिन । जब मासु पाक्छ आगोवाट बाहिर निकाल्नुस् र नुन र जिराको धुलो हालेर मोल्नुस् । अनि अर्को मुख ठूलो भएको भाँडोमा खन्याउनुस् ।

त्यसरि भुटेको मासु छोप्नु हुन्न । नछोपी राख्दा तीन महिनासम्म खान सकिन्छ, उस्तै स्वादमा । तर, खानु अगाडि आफूलाई मनपर्ने स्टाइलमा बनाउनुपर्छ । झोंल मनपर्छ भने सानो भाँडोमा पहिला थोरै तेल तताउनुस्, प्याज भुट्नुस् त्यहि भुटेको मासुलाई एकछिन् भुट्नुस र गोलभेंडा, अदुवा खुर्सानीको पेष्ट हाल्नुस् । स्वादिलो खाने हो भने अदुवा, खुर्सानी सिलौटोमा पिस्नुपर्छ । अनि आवश्यकता अनुसार पानी राखेर झोल बनाउनुस् त्यति गरेपछि दाल चाँहिदैन ।

यसरी पकाएको मासु खाँदा मही सकेसम्म धेरै खानुस् । स्वादमा मिठो, ज्यानलाई सन्चो ।

आँगनमा पिङ

पहिला-पहिला घर नजिकै खाँदाको डाँडामा तिँदुको रुखमा पिङ हाल्ने चलन थियो । अहिले पिङ हाल्न कोहि तात्दैन । तर, छोरीहरुका लागि घरमा भने लिंगे पिङ हाल्नैपर्छ । पहिला पिङका लागि बाले बाबियोको डोरी बाटिदिनुहुन्थ्यो ।

अहिले भैंसी बाँध्ने दाम्लोसमेत प्लाष्टिककै डोरीको चलन छ । तिनै राममणी काकाले पिङका लागि डोरी ल्याइसकेका हुन्छन् । चार वटा बाँस गाडेर सानो लिंगे पिङ बनाएपछि छोरीहरुका लागि स्पेशल दशैं आउछ । छोरीहरु खुसी भएपछि हामी लोग्नेस्वास्नी झन् खुसी ।

खाम हेर्न छाडें

टीका लगाउने, मावली, ससुराली धाउने चलन पुरानै हो । सानो छँदा आमा, बासँग मावली जाँदा मामाहरुले टीका लगाइदिएर कति देलान् भनेर बाटैदेखि खुल्दुली लाग्थ्यो । टीका लगाइदिने बित्तिकै खुसुक्क खाम हेर्थें । मावलीले दिएको पैसा तिहारमा लंगुरबुर्जामा थापेर झ्वाम पार्ने चलन थियो । अहिले मेरै स्टाइलमा छोरीले खाम हेर्ने गरेकी छे । तर, छोरीलाई लङगुर बुर्जा कस्तो हुन्छ थाहा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?