बिहीबार, २ कार्तिक, २०७४
OnlineKhabar.com

लघुकथाः भेज दशैं

मित्र पाठक 'काँचुली'

जब जब दशैं नजिक आउँछ, तब तब काटमार र पशु बलिको विषय राम्रैसँग उठ्छ । वर्षभरि बफ, पोर्क र मटनलाई सित्तन बनाउनेहरुले पनि दशैं आसपास बलिको विरोध गरेको सुनेर होला उसले अघिल्लो राति सुत्ने बेला आफ्नी बुढीलाई भन्यो, ‘हेर बुढी, वास्तवमा हरेक जीवजन्तुको प्राण उस्तै हो । पशु मार्ने र खाने हामी दुवै दोषी हौं किनभने हामीले नखाइदिने हो भने काट्नेले पनि काट्न छोड्छ । त्यसैले मलाई भित्रैदेखि अब मांसहारी जीवन त्याग्नु पर्छजस्तो लागि रा’छ । धेरै खान मन लाग्ने यही बेलामा छोड्न पाए पछिलाई सजिलो हुन्थ्यो ।’

बुढी गन्गनाई, ‘तिम्रो छोड्ने कुरा सबै कथा हुन्, राति भइसक्यो सुत अब ।’

‘हेर तिम्रो कसम भो भोलिबाटै म शाहकारी भएँ । स्वास्थ्य पनि राम्रो, जीवनभर डेराको जीवन बिताउने हामीजस्तालाई पैसाको पनि बचत ।’ यति बोल्दा नबोल्दै निदायो ऊ ।
…………

भोलिपल्ट उज्यालो भयो । बडा फुर्तिका साथ उठ्यो ऊ । नुहाइ-धुवाइ गर्‍यो । जप, मन्त्र के के जानेको थियो सबै गर्‍यो । एक छिनमा बाहिर गयो र टन्न फलफूल पनि किन्यो । दशैंको यस्तो माहोलमा पनि दिनभर मासुको कुरा नगरी बस्यो अनि मासु छोड्न सक्नेमा ढुक्क देखियो ।

जब साँझ ढल्क्यो । बिस्तरामा पल्टेर पत्रिका हेर्दै गरेको ऊ अचानक पल्लो कोठामा डेरामा बस्नेलाई लक्षित गरेर बम्कियो, ‘को हो त्यो अर्काको रुममा बास्ना आउने गरेर खसीको मासु पकाउने ?’

देवचुली ७ सीताबास, नवलपरासी

२०७४ असोज १४ गते १९:०३ मा प्रकाशित (२०७४ असोज १५ गते १६:००मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this