
२१ असोज, चितवन । चितवनको चैनपुरमा केरा लगाउने ठाँउ नै पाइन छाडेको छ । केरा उत्पादको पकेट क्षेत्रका रुपमा परिचित चैनपुरमा थप केरा खेतीको योजना बनाएका युवा जग्गा नपाएर हैरान छन् ।
जिल्लामा बढ्दै गएको जग्गा प्लटिङले केराका किसानलाई समस्या पारेको छ । तयार हुन लागेको केरा मासेर जग्गा छाडनुपर्ने अवस्था समेत आएको चितवन केरा उत्पादक संघ अध्यक्ष विष्णुहरि पन्तले गुनासो गरे ।
‘केराभन्दा माटोको कारोबारबाट बढी आम्दानी हुने भएपछि के भयो र ? ‘ पन्तले भने, ‘राज्यको नीति पनि छैन । किसानलाई कुनै राहत र। सहुलियत पनि छैन ।’
हिजोआज केरा खेतीका लागि सस्तो मूल्यमा जग्गा भाडामा पाउन नै मुस्किल हुने गरेको किसानहरुको दुखेसो छ । उत्पादन बढ्दै गए पनि केरा किसानहरुले व्यवसायबाटै विस्तापित हुने खालका समस्या झेल्न बाध्य छन् ।
प्लटिङका कारण जग्गा भाडामा नपाउनु मात्रै हैन, खेती गरिरहेको जग्गा प्लटिङकै कारण छाडनु पर्ने, भारतीय केराको आयातले मूल्यमा एकरुपता नहुने, रोगलेसखाप हुनु, बैंक ऋण सहुलियतमा नपाउने र हावाहुरीर रोगकिराले केरा नष्ट हुने लगायतका कारण किसान समस्या छन् ।
तर पनि हरेक बर्ष जिल्लामा केराको उत्पादन बढ्दै गएको छ । बाढी, असिना र हावाहुरी केरा उत्पादनको क्षेत्रमा अर्को मुख्य समस्या बनेको छ । तथापी, केरा किसानहरुको आर्कषण भने यसतर्फ बढेको पाइन्छ ।
पशुपालन, माछा, पोल्ट्रीमा व्यावसायिक फड्को मारेको चितवनले केरा खेतीमा पनि राम्रो पहिचान स्थापित गरेको छ । पछिल्लो समयमा चितवनमा व्यावसायिक केरा खेती गर्ने किसानहरुको संख्या बढ्दो छ । यो सँगै उत्पादन वृद्धि पनि वृद्धि भएको छ ।
२२ वर्ष अघिदेखि जिल्लामा व्यावसायिक केरा खेती हँुदै आएको छ । २०५१ सालदेखि चितवनको जयमंगलामा अम्बिकाप्रसाद अधिकारीले व्यवासायिक केरा खेती सुरु गरेका थिए ।
अहिले जिल्लामा व्यावसायिक केरा किसानको संख्या ६३० को हाराहारीमा छ । यहाँ वाषिर्क एक अर्ब दश करोड रूपैयाँ बराबरको केरा उत्पादन हुन्छ ।
नेपालको केराको कूल मागको ४५ प्रतिशत आपूर्ति चितवनकै केराले धानेको ब्यबसायीको दावी छ । चितवनमा अहिले ३ हजार विगाह क्षेत्रमा केरा खेती हुँदै आएको छ ।
केरा उत्पादक संघका अध्यक्ष पन्त अधिकांश किसानहरुले जग्गा भाडामा लिएर केरा खेती गर्दै आएको बताउँछन् । विभिन्न समस्या झेलेर भएपनि चितवनका किसानहरुले उत्पादन हरेक बर्ष बढाउँदै गएको संघका पूर्व अध्यक्ष यज्ञप्रसाद सुवेदीको भनाइ छ ।
सरकारले जिल्ला कृषि विकास कार्यालय भरतपुरमार्फत जिल्लामा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम सञ्चालन गरेपछि चितवनको केरा उत्पादनले पहिचान र व्यापकता पाएको हो ।
उद्योग बाणिज्य संघ चितवनले समेत २०६८ सालदेखि ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमलाई प्रर्वद्धन गर्दै आएको छ ।
यो कार्यक्रमले केरा खेती गर्ने तरिका, तालिका, आवश्यक औजार उपलब्ध गराउँदै आएको छ ।
जिल्लामा हुने मेला महोत्सवमा केराका परिकारलाई विषेश आर्कषणका रुपमा प्रस्तुत गर्ने गरिएको छ । कुनै समय तोरी उत्पादनका लागि प्रसिद्ध पदमपुर क्षेत्र अहिले केराघारीले भरिएको छ । पदमपुर जस्तैः जिल्लाका अन्य क्षेत्र पछिल्लो समय केरामय भएको छ ।
चितवनमा उत्पादन भएको केरा नारायणगढदेखि काठमाडौं, पोखरा, बुटवल, भैरहवा, गोरखा लगायतका क्षेत्रमा पुग्ने गरेको छ । कालिका नगरपालिकाको पदमपुर, चैनपुर, जगतपुर र ठिमुरा, माडी, मेघौली केरा खेतीका लागि पकेट क्षेत्र मानिन्छ ।
बढ्दै उत्पादन

अहिलेसम्म केरा खेतीका लागि जिल्लामा ८१ करोडको लगानी भइसकेको अनुमान छ । चितवनमा आर्थिक वर्ष २०७१/०७२ मा ३५ हजार टन केरा उत्पादन भएको थियो । सो वर्ष ८० करोड रूपैयाँ बराबरको केरा बिक्री भएको थियो । किसानहरुको आम्दानी २० करोड थियोयो ।
आर्थिक वर्ष २०७२/२०७३ मा त्यो परिमाण बढेर ४६ हजार मेटि्रक टन केरा उत्पादन भएको संघका अध्यक्ष पन्तले जानकारी दिए । एक अर्बको केरा बिक्री गर्दा खर्च कटाएर किसानहरुले २४ करोड आम्दानी गर्न सफल भएका छन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा २०७२/२०७३ मा ४० प्रतिशत उत्पादन बढेको पाइएको छ । राम्रो आम्दानी हुन थालेपछि पछिल्लो ६ वर्ष यता किसानहरुले केरा खेतीमा लगानी बढाएका छन् ।
गएको आर्थिक बर्ष १ अर्व १० करोड करोड कारोबार भएको र २५ करोड रकम नाफा भएको व्यवसायीहरुको भनाइ छ । उत्पादन लागत औसतमा प्रतिबोट २२३ रुपैयाँ लाग्छ । उत्दादित केराको घरीको मूल्य प्रतिवेाट ३५० देखि ४/५ सय रुपैयाँसम्म पर्न आउँछ ।
अहिले स्थानीय बजारमा उपभोक्ताले एक दर्जन पाकेको केरालाई ८० रुपैयाँ भन्दा बढी तिर्नुपर्छ ।
केराको बीमा
चितवनका केरा किसानहरुले ७१ सालबाट बीमा सुरू गरेका थिए । जिल्लामा शिखर इन्स्योरेन्स कम्पनीले केराको बीमा गराउँदै आएको छ ।
किसानले लागत मूल्यको ५ प्रतिशत रकम तिर्नुपर्छ । त्यसको ७५ प्रतिशत नेपाल सरकार र २५ प्रतिशत किसानको भागमा पर्छ ।

केराको प्रति बोट २२३ लागत मूल्य हुन आउँछ । यसको ५ प्रतिशत ११.१५ रुपैयाँ प्रति बोट बीमा हुन्छ । यसको ७५ प्रतिशत ८.३६ रुपैयाँ सरकारले र २ रुपैयाँ ७८ पैसा पैसा किसानले तिर्ने गरेका छन् । केरा क्षति भएमा बीमा कम्पनीले ९० प्रतिशत रकम दिन्छ ।
जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार कृषि बीमा गर्नेमा अधिकांश केरा किसान मात्रै छन् ।
समस्यामा किसान
भारतीय केरा अनियन्त्रित रूपमा नेपाल भित्रिनु नै नेपाली केरा किसानको मूल समस्या हो । कम विजकीकरण गरी केरा नेपाल भित्र्याउँदा नेपाली केराले बजारमा बिस्थापित हुनुपरेको उनीहरुको गुनासो छ ।
झण्डै १० विगाह क्षेत्रफलमा केरा खेती गरेका किसान मेघनाथ भट्ट भारतीय केराको उत्पादन लागत कम हुने र बजारमा सस्तो पाइने हुँदा नेपाली केराले प्रतिस्पर्धा नै गर्न नसक्ने बताउँछन् ।
भन्सार छलेर ल्याब समेत परीक्षण नगराई नेपाली बजारमा भारतीय केरा भित्रिने गरेको उनको दावी छ ।
नेपाली बजारका लागि नेपाली उत्पादन कम हुने भएपनि नेपाली केरा किसानलाई प्रोत्साहन गर्न भारतिय केराको आयात बन्द गरिनुपर्ने केरा किसान तथा संघका निर्वतमान अध्यक्ष सुवेदीको भनाइ छ ।
भारतबाट त्रिवेणीको नाका, गडडा्चौकी, विहार लगायतका क्षेत्रबाट नेपाली बजारमा केरा भित्रिने गरेको छ । भारतमै पनि एक प्रान्तबाट अर्को प्रान्तमा केरालाई लैजान नदिने गरिएको सुवेदीले बताए । भारतमा सरकारले किसानलाई ९५ प्रतिशतसम्म अनुदान दिएर उत्पदान बढाइरहेको छ ।
‘राज्यले किसानका यावत समस्या समाधान गरेर भारतीय केराको आयत रोक्न सके अझै उत्पादन र आम्दानी बढाउन सक्ने क्षमता नेपाली किसानहरुसँग छ, ‘संघका निर्वतमान अध्यक्ष सुवेदीले भने ,’ यहाँ झोलामा कागजात बोकेर हिड्नेलाई अनुदान दिइन्छ, काम गर्नेलाई छैन ।’
उत्पादनको आधारका सरकारी आउनुपर्ने केरा किसान यज्ञप्रसाद सुवेदीको बताउँछन् ।

केरामा बोट ओइलाउने, गुभो कुँहिने, वषर्ातका कारण ढुसीले ब्याक्टेरीयाहरु लाग्ने समस्या पनि छन् । थम्वामा प्वाल पार्ने गवाँरो लाग्ने समस्या पनि निकै छ । केरामा गर्मीयाममा किराको समस्या बढी हुन्छ ।
केरामा खासै बिषादीको प्रयोग भने गरिदैन् । गुभोँ लागेपछि केही पनि बिषादी हाल्न नपर्ने किसानहरु बताउँछन् ।
केरमा लागेको रोगको उपचार गर्ने प्राविधिक जिल्लामा छैनन् । समस्याका बारेमा कृषि कार्यालयलाई जानकारी गराउँदा उखेलेर फाल्न र खाल्डो खनेर पुर्न सुझाव मात्रै आउने गरेको गुनासो किसानहरुको छ ।
साधारण तय १ कठ्ठामा ७० बोट केरा रोप्नुपर्ने भएपनि किसानहरुले कतिपय बोट मर्ने र कुहिने भएकाले १४० बोटसम्म केरा रोप्छन् । यसले किसानहरुको खर्च बढाउने गरेको छ । लगाएको मध्ये २५ प्रतिशत केरामा लस हुन्छ ।
जनशक्तिको समेत अभाव छ । कृषिमा काम गर्ने मान्छे पाउन समस्या छ । पाएपनि महंगो मूल्य तिर्नुपर्छ । प्राविधिक जनशक्ति उपलब्ध छैनन् ।
दुई सिजनमा उत्पादन
नेपालमा मालभोग, विलियम, जिनाइन, चिनी चम्पा, चरिनङग्रे, मुग्रे, घिउकेरा, रोवास्टा लगायतका प्रजातिका केरा नेपालमा प्रचलित छन् । केराको व्यावसायिक उत्पादन भने मालभोग, विलियम र जिनाइनको मात्रै गर्ने गरिन्छ ।
केराका मूलतः २ सिजन हुन्छन् । फागुनदेखि भदौसम्म मालभोगको उत्पादन बढी मात्रामा हुन्छ भने भदौदेखि माघसम्म विलियम र जिनाइनको उत्पादन धेरै हुन्छ ।
पहाडमा भन्दा तराईको पानी नजम्ने ठाँउमा केराको उत्पादन राम्रो हुने सुवेदी बताउँछन् । न्यूनतम् २५ डिग्रीभन्दा माथिको तापक्रप यसलाई उपयोगी मानिन्न ।

खूल्यो बनाना क्याफे
केराको उत्पादनलाई विविधीकरण गर्ने उद्देश्यले चितवनका व्यावसायिक केरा किसानहरुले भरतपुर-९ आस्थाचोकमा चितवन बनाना क्याफे सञ्चालनमा ल्याएका छन् ।
यसअघि मेला महोत्सवमा मात्रै केराका परिकारहरु बनाएर बेच्ने गरेका व्यवसायीहरु आफैंले नै यो क्याफे चलाएका हुन् ।
झण्डै १ करोडको लगानीमा ३ जना व्यवसायीहरु यज्ञप्रसाद सुवेदी, मेघनाथ भट्ट, रामचन्द्र भट्ट मिलेर साउन २५ गतेबाट क्याफे सञ्चालनमा ल्याएका हुन् ।
क्याफेमा केराको मःम, चिप्स, चिल्ली, पकौडा, बनाना जिरा, वनाना थुप्पा, बनाना चाउमिन, बनाना सलाद, बंुगाको अचार, केराको लस्सी, बनाना खाजा उपलब्ध हुन्छ ।
दैनिक ३० हजारको करोबार हुने क्याफेमा १३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
प्रतिक्रिया 4