Comments Add Comment

‘मैना’ निर्देशकका दुःख : सेन्सर पास गराउन प्रचण्डलाई प्रमुख अतिथि

काठमाडौं । ०६२/६३ को आन्दोलनमा कवि, कलाकार, लेखक, फिल्मकर्मीलगायत सर्जक सरिक भए । कविले सडकमै जनताको पक्षमा कविता वाचन गरे भने, नाट्यकर्मीहरुले सडकमै नाटक मञ्चन गरे ।

केपी पाठक, श्याम सापकोटालगायत चलचित्रकर्मी थिए, सडकमै निस्किएका थिए । ‘हामी जतिखेर लोकतान्त्रिक आन्दोलनमा थियौं, त्यतिबेलै बहस भएको थियो सिनेमामा पनि अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ,’ पाठक भन्छन् ‘नेपाली सिनेमाले आफ्नै पहिचान स्थापना गर्नुपर्छ भनेर हामीले बहस सुरु गरेका थियौं ।’

आन्दोलन सकियो । राजनीतिक दलहरु संविधानसभा निर्वाचनको तयारीमा जुटे । कवि, कलाकार, लेखकको फेरि पुरानै जीवनचक्र सुरु भयो । मौलिक सिनेमाको वकालत गरेका पाठक कस्सिए, त्यस्तै चलचित्र निर्माण गर्न ।

मौलिक फिल्म त बनाउने तर कुन विषयमा ? विषय धेरै थिए । तर, कुन छान्ने ? विषय छनोट गाह्रो थियो । एकल महिलाको विषयमा ‘रिसर्च’ गर्दै थिए । एउटा दैनिक पत्रिकामा सेनाद्वारा मारिएकी मैना सुनारकी आमा देवी रुँदै गरेको तस्बिर छापियो । त्यही तस्बिरले उनको ध्यान तान्यो ।

मुलुकमा लोकतन्त्र त आयो । तर, मान्छेका आँखाबाट आँशु र्झन रोकिएका छैनन् । मैनाकी आमा देवी छोरीका हत्यारालाई कारवाही गराउन विभिन्न संघसंस्था धाउँदै थिइन् । तर, अहिलेसम्म पनि कारवाही भएको छैन । यही विषयमा फिल्म बनाउँदा किन हुँदैन ? गल्ति गर्नेलाई कारवाही हुनुपर्छ । तर, भएको छैन । मैनाकै विषयमा फिल्म बनाउने निधो गरे, पाठकले ।

उनको परिवारसँग पाठकको चिनजान थिएन । अधिकारकर्मी मन्दिरा शर्माको सहयोग लिए । वसन्तपुरको गल्लीभित्र सानो कोठामा बस्थिन्, देवी । ‘हामी तपाईंकी छोरीको हत्याको विषयमा फिल्म बनाउँदै छौं,’ उनले भेटेर भने ।

उनको कुरा सुनेर देवीका गह आँशुले भरिए । अनपत्यारिलो शैलीमा भनिन्, ‘तपाईं यो विषयमा फिल्म बनाउन सक्नु होला र ? तपाईं आँट्न सक्नुहुन्छ ?’

देवीको कुरा सुनेपछि पाठकमा जसरी पनि फिल्म बनाउने आँट पलायो । त्यही भेटमा देवीले भनेकी थिइन्, ‘यो त सेनासँग जोडिएको विषय हो । सेनाको बारेमा बोल्न राज्य त डराउँछ । तपाईं कसरी काम गर्नुहुन्छ ?’

उनीसँग विदा हुँदै पाठकले भनेका थिए, ‘हामी रिसर्च गर्छौं र फिल्म बनाउछौं ।’

रिसर्चको सुरुवात काभ्रेको खरेलथोकबाट सुरु भयो । त्यसबारे पत्रपत्रिकामा समाचार आउन थाल्यो ।

आफन्तले नै दिए धम्की

रिसर्च गरे । स्क्रिप्ट तयार भयो तर मैना भेटिइनन् । खोज्नकै लागि भनेर विद्यालयस्तरीय नाटक हेर्नेदेखि डान्स सेन्टर चहार्ने कामसमेत भयो । पाठक सम्भिmन्छन्, ‘मैनाजस्तै जिउडाल भएकी नायिका भेट्न निकै सकस पर्‍यो ।’

निर्माण समूह मैनाको खोजीमा थियो । फोनका घण्टी र त्यसपछि आउने धम्की सह्य हुने प्रकृतिका थिएनन् । उताबाट भनिन्थ्यो, ‘तपाईंलाई मैनामाथि नै किन फिल्म बनाउनुपर्ने ? विषय त अरु पनि छन् नि । सेनासँग किन निहुँ खोजेको ?’

कहिल्यै फोन नगर्ने आफन्तले समेत फोन गरेर भन्न थाले, ‘यस्तो जोखिम नमोल्नुस् ।’ उनका एक आफन्त मानव अधिकारको क्षेत्रमा काम गर्थे । उनको फोनको घण्टी बज्दा पाठकलाई लागेको थियो, ‘एक जना भए पनि सहयोगी भेटियो ।’

फिल्म सुपर फ्लप भयो, निर्माताले २६ लाख डुबाए, सम्मान गर्न बोलाउँदा पनि पैसा मागियो

उल्टै ती आफन्तले भने, ‘म तपार्इको फिल्मको सन्दर्भमा कुनै पनि सहयोग गर्न सक्दिनँ । यस्तो विषयमा फिल्म बनाएपछि बाटोमा हिँड्दै गर्दा कसैले मारिदिन सक्छ । अनावश्यक जोखिम नलिनु ।’

फिल्म नबनाउन व्यापक दबाब आउन थालेपछि उनलाई भने जसरी पनि बनाउनैपर्ने दाइत्वबोध भयो । मैना बन्न लाग्दा धेरैले अनुमान गरे, ‘यो फिल्म त सेनाको विरुद्धमा बन्दैछ ।’

पाठक ती मान्छेलाई जवाफ दिन्थे, ‘मैले सेनाको पक्ष वा विपक्षमा फिल्म बनाउन लागेको होइन । एउटा पीडितको आवाज हो यो ।’ फिल्म निर्माण क्रममा उनले मैनाकी आमा देवीको पुरै सहयोग पाए ।

सेन्सर पास गराउन प्रचण्डलाई अतिथि

फिल्म तयार भएपछि हलमा रिलिज गर्न सेन्सर बोर्डबाट पास गर्नुपर्ने नियम छ । पाठकलाई आफ्नो फिल्म सेन्सरले पास नगर्देला भन्ने ठूलो चिन्ता थियो । किनकि, ‘केपी पाठकले सेनाको विरुद्धमा फिल्म बनाए’ भनेर व्यापक हल्ला भइसकेको थियो । सेनाविरुद्धको फिल्म सेन्सरले पास गर्ने सम्भावना कमै थियो ।

पास त गराउनै पर्‍यो । जुक्ति लगाए । फिल्म सेन्सरको लागि पठाएपछि पि्रमियर सोको मिति तोकेर कार्ड बाँड्न सुरु भयो । प्रमुख अतिथि तत्कालीन प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्ड । त्यही कार्ड सेन्सर बोर्डका अधिकारीलाई पनि दिए ।

कार्ड बाँडिसकेपछि सेन्सर बोर्डमा गएर भने, ‘प्रधानमन्त्री आउने पक्का भयो । मेरो फिल्म कहिले सेन्सर हुन्छ ?’ नभन्दै, भोलिपल्टै सेन्सरबोर्डले फिल्म पास भएको प्रमाणपत्र दियो । तर, कार्यक्रममा प्रधानमन्त्री आएनन् । तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महरालाई पठाए । महराले पनि पुरा फिल्म हेरेनन्, मध्यान्तरमै हिँडे ।

घर बनाइदिनुपर्ने सर्त

फिल्मको पि्रमियर सोको तयारी हुँदै थियो । देवीले फोन गरिन्, ‘पाठकजी एक पटक भेट्नु पर्‍यो ।’ निर्माता जीवनाथ सुवेदी र तेजनारायण सापकोटालाई लिएर पाठक देवीलाई भेट्न पुगे । ‘हामीले काभ्रेमा जग्गा पाएका छौं, तपाईंहरुले घर बनाइदिनु पर्‍यो,’ देवीले भनिन् ।

पाठक झसंग भए । घर बनाउने विषयमा कुनै छलफलै भएको थिएन । फिल्मले कमाएको नाफाको पाँच प्रतिशत देवीको परिवारलाई दिने सहमति भएको थियो । ‘हामीले तपाईंलाई अधिकार दिलाउन र मैनाका हत्यारालाई कारवाहीका लागि फिल्म बनाएका हौं । घर बनाइदिन सक्दैनौं,’ पाठक रिसाए ।

देवी पनि डगिनन्, ‘यदि घर बनाइदिनु भएन भने हामी फिल्म रोकिदिन्छौं ।’ निर्माताहरु तीनै जनाले छलफल गरेर भने, ‘ठीकै छ, त्यसो भए रोकिदिनुस् । फिल्म रोकियो भने हाम्रो पनि ज्यान खतरामा हुँदैन ।’ फिल्म रिलिज भएमा जे पनि हुनसक्ने बताउँदै मैनाको टिमलाई धम्की आउने क्रम जारी थियो ।

अन्तिममा फेरि अर्को सहमति भयो, ‘काभ्रेभित्र फिल्मले गरेको सम्पूर्ण आम्दानी देवीको परिवारलाई दिने ।’ देवीले सहमति जनाइन् ।

विप्लवले थर्काए

पाठकले सोचेका थिए, मैनाजस्तो भर्जिन विषयमा फिल्म बनाएपछि राजनीतिक दल, विद्यार्थी संगठन, अधिकारवादीलगायतको व्यापक सहयोग पाइन्छ । तर, भयो उल्टो ।

सेनाले माओवादीको फिल्म भन्यो, माओवादीले सेनाको । तत्कालीन माओवादी नेता विप्लवले थर्काउँदै भने, ‘पाठकजी तपाईंले के गर्‍या ? जनमुक्ति सेना र शाही सेनालाई एकै ठाउँमा राखेर फिल्म बनाउन मिल्छ ? यो फिल्म कसको लागि ?’

विप्लवको आशय थियो, फिल्म माओवादी लाइनको हुनु पथ्र्यो, सेनाको उछित्तो काढिएको ।’

पाठकले जवाफ दिए, ‘तपाईंले भन्याजस्तो फिल्म बनाउन त तपाईंहरु आफैंले लगानी गर्नुपर्छ अनि मात्रै बन्छ । यो फिल्म एउटा पीडित पात्रको पक्षमा हो, सेना वा माओवादीको विपक्षमा होइन ।’

प्रचारप्रसार गरिदिने सर्तमा रिलिज

फिल्म रिलिज हुने बेलासम्म निर्माता टाट पल्टिसकेका थिए । बनेको लामो समयसम्म फिल्म रिलिज नहुँदा तीनै जना पार्टनर तीनतिर थिए । तीनै जना निर्मातालाई फिल्म डुब्यो भन्ने परिसकेको थियो । त्यसकारण एकअर्कासँग बोलचाल गर्न पनि जाँगर लगाउँदैनथे ।

जसरी पनि फिल्म रिलिज त गर्नै पर्‍यो । तत्कालीन वितरक प्रदीप उदयलाई मुलुकभर रिलिजको जिम्मा दिए । पोस्टर र प्रचारमा लाग्ने खर्च पाँच लाख तत्कालै खर्च गर्ने सर्त थियो ।

मैना हलमा त लाग्यो तर दर्शकले हेर्ने जाँगर चलाएनन् । उदयसँग पाठकको भेट भयो । पाठकले भने, ‘हाम्रो फिल्मको हिसाब गर्नुपर्ने ।’ उदयले जवाफ दिए, ‘मैले लगानी गरेको पाँच लाखै उठेको छैन ।’ त्यसपछि फेरि यसबारे कुरा भएन ।

पैसा माग्दै सम्मान गर्ने निम्तो

स्वदेशमा मात्रै होइन, विदेशमा पनि ‘मैना’ले राम्रो आम्दानी गर्न सकेन । माओवादीआवद्ध केही शुभचिन्तकले विदेशमा फिल्म प्रदर्शनका लागि निम्तो दिए तर आर्थिक रुपले बलियो बनाउन सकेनन् । ‘जाने आउने खर्च उठ्यो । आम्दानी भएन,’ पाठक भन्छन् ।

यही फिल्म देखाउने शीर्षकमा दुई पटक युरोप टुर गरेपछि काठमाडौंमा हल्ला चल्यो, ‘मैनाले व्यापक पैसा कमाएको छ ।’ पाठक अफिसमा काम गर्दै थिए । एउटा अधिकारवादी संस्थाबाट फोन आयो, ‘तपाईंलाई सम्मान गर्ने योजना बनाएका छौं, आउनु पर्‍यो ।’

उनले सोचे, राम्रै काम गरेको रहेछु, फिल्म नचले पनि सम्मान पाइने भयो ।

कार्यक्रमस्थलमा कानुन व्यवसायी दिनेश त्रिपाठी, पत्रकार कनकमणि दिक्षित, देवी सुनुवारलगायत थिए । एकछिनको कुराकानीपछि उनले थाहा पाए । खासमा, उनलाई सम्मान गर्न होइन, पैसा माग्न बोलाइएको रहेछ ।

‘देश-विदेश घुमेर प्रसस्त कमाउनु भएको छ रे । हामीलाई पनि हिस्सा दिनु पर्‍यो,’ देवीले भनिन् । फिल्मले कमाइ गर्न नसकेपछि निर्माता साथीसँग बोलचाल बन्द भएको पीडा छँदै थियो, धेरै कमाएको कुरा सुनेपछि उनी झोंक्किए ।

‘तपाईंलाई हामीले नाफाको पाँच प्रतिशत दिने सहमति गरेका छौं । घाटाको पाँच प्रतिशत बेहोर्न तयार हुनुस् ।’ देवीले बजारमा सुनेको कुरा गरिन् । दिक्षित र त्रिपाठीले उनीहरुको कुरा सुने मात्रै, केही बोलेनन् । दिक्षितलाई साक्षी राख्दै पाठकले विदेशमा फिल्म प्रदर्शन गरेका संस्थाको नम्बर दिएर आम्दानी खर्चबारे बुझ्न आग्रह गर्दै हिँडे ।

‘म डुबे पनि पीडितले न्याय पाउन्’

मैना सुनार हत्याकाण्ड एक्लो घटना होइन । यस्ता धेरै घटना छन्, जहाँ पीडित र पीडकलाई राज्यले चिनेको छ तर कारवाही गर्दैन ।

पीडितलाई न्याय दिन पहल होस् भन्दै फिल्म बनाएका पाठक ‘मैना’ शीर्षकमा तीन जनाको २६ लाख डुबेको हिसाब देखाउँछन् । ‘फिल्म त डुब्यो, डुब्यो । पीडितले न्याय पाए अलिकति सन्तुष्टि मिल्थ्यो,’ उनले कुराकानीको बिट मारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment