Comments Add Comment

कूटनीतिको ध्यान अब सरकारबाट जनतातिरः अमेरिकी राजदूत

अलाइना बी टेप्लिजले नेपालका लागि अमेरिकी राजदूतको कार्यभार सम्हालेको दुई वर्ष भयो । महाशक्ति राष्ट्रकी उच्च प्रतिनिधिका रुपमा उनी चर्चामा रहनु स्वाभाविकै हो, धेरै नेपालीमाझ उनी नेपाली संस्कृति र चाडपर्व मन पराउने कूटनीतिज्ञका रुपमा परिचित छिन् । उनी घुम्न खुबै रुचाउँछिन्, समसामयिक विषयमा सर्वसाधारणसँग टि्वटरमार्फत् अन्तर्क्रिया गर्छिन् ।

नेपाल-अमेरिका दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा अनलाइनखबरका लागि उपेन्द्र पोखरेल, अभय जोशी र दिवाकर प्याकुरेलले गरेको कुराकानीमा उनी कूटनीतिक सम्बन्धका विविध आयामसँगै नेपाल, नेपाली र नेपाली संस्कृतिप्रतिको आफ्नो दृष्टिकोणबारे उनले खुलेरै प्रस्तुत भइन् ।

दशैंमा दूतावासमा यहाँले टीका लाएको र कर्मचारीसँग नाचगान गरेका तस्वीर सार्वजनिक भए । नेपाली संस्कृतिप्रति यहाँको धारणा बताइदिनूस् न । 

मानिससँग भेटघाट गर्दा र मेरा कर्मचारीसँग चाडबाड मनाउँदा मैले आफूलाई भाग्यमानी सम्झेकी छु । विदेश बसेकी एक अमेरिकीका रुपमा मलाई यस्ता स्थानीय पर्वहरु यहाँका मानिसलाई अझ राम्रोसँग बुझ्ने माध्यम हुन्जस्तो लाग्छ । यी पर्वलाई बुझ्दै जाँदा ममा यहाँको संस्कृतिप्रति सम्मान पनि बढ्दै गएको छ । अमेरिकामा मनाइने चाडपर्वमा पनि त्यहाँ रहेका विदेशीले पक्कै त्यस्तै गर्छन् । चाडपर्व द्विपक्षीय भावना आदानप्रदानका माध्यम हुन् र यिनले मलाई आफू बसेको ठाउँलाई अझ राम्ररी अनुभव गर्न, यसबारे सिक्न तथा सम्मान व्यक्त गर्न अवसर प्रदान गर्छन् ।

कुन पर्व मनाउन तपाईं उत्साहित हुनुहुन्छ ?

मलाई तिहार खुबै मन पर्छ । तिहारमा लक्ष्मीलाई घरभित्र बोलाउने अनि उनको आशिर्वाद थाप्ने अवधारणा नै गज्जबको छ । अनि, मलाई कुकुर तिहार पनि मन पर्छ किनकि मैले पनि कुकुर पालेकी छु । र, यो पर्वले मलाई आफ्नी साथीप्रति कृतज्ञता व्यक्त गर्ने अवसर दिन्छ ।

राजदूत नियुुक्त हुनुअघि नै तपाईं नेपाल घुम्न आइसक्नुभएको थियो ?

म यसअघि एक पटक नेपाल आएकी थिएँ, सन् २०१० मा । एउटा छोटो कामका लागि काठमाडौं आउँदा मैले पशुपतिनाथ, दरबार स्क्वायरलगायत काठमाडौंका महत्वपूर्ण ठाउँहरु घुमेकी थिएँ । त्यसैले राजदूतका लागि मेरो नाम सिफारिस हुँदा म कहाँ आउँदै छु भन्ने अनुमान गर्न सक्ने भएकी थिएँ ।

स्वयम्भूनाथमा खुला ठाउँमा बाँदरहरु रमाएको देख्दा अचम्ममा परेकी थिएँ । किनकि, अमेरिकामा चिडियाघरमा मात्र बाँदर भेटिन्छन् । त्यसबेला मलाई बाँदरहरुको पनि छुट्टै व्यक्तित्व रहेछ भन्ने महशुस भएको थियो ।

नेपालमा विनाशकारी भूकम्प जाँदा तपार्इ राजदूतमा सिफारिस भइसक्नु भएको थियो । तर, काठमाडौं आइसक्नु भएको थिएन। भूकम्पको खबर पहिलोचोटी सुन्दा के सोच्नुभयो ? परिवारबाट कस्तो प्रतिक्रिया आयो ?

भूकम्प गएका बेलामा मेरो नियुक्तिलाई संसद्ले सदर गरिसकेको थिएन र म नेपालका लागि प्रदान गरिने उद्धार सहयोगमा संलग्न हुन पाइनँ ।

नेपालमा भूकम्प गएको अघिल्लो दिन मात्र म वासिङ्टनस्थित वैदेशिक विपद् सहायता कार्यालयको संकट व्यवस्थापन केन्द्रमा गएकी थिएँ । र, हामीले त्यहाँ पनि नेपालमा भूकम्पबाट बच्न गर्नुपर्ने तयारीबारे कुरा गरेका थियौँ । भोलिपल्ट उठ्नेबित्तिकै भूकम्पको समाचार सुन्नु सायद मेरा निम्ति एउटा विडम्बना थियो ।

त्यसपछि मलाई धेरैले फोन र इमेल गरे । मेरो परिवार भने आत्तिएको थियो । किनकी म छोरालाई पनि यतै ल्याउनेवाला थिए । हुन त, त्यति धेरै चिन्ता थिएन किनकि म अक्टोबरमा मात्र नेपाल आउनेवाला थिएँ, त्यसैले उनीहरुलाई सम्झाउन पर्याप्त समय पाएँ ।

जुन २०१५ मा अमेरिकी संसद्को वैदेशिक सम्बन्ध समितिमा तपाईंले बताउनु भएअनुसार लोकतन्त्रको सबलीकरण, आर्थिक वृद्धिमा सहयोग र प्रकोप सामना क्षमता वृद्धिमा के के काम भए ?

आज पनि नेपालका सन्दर्भमा हाम्रा लक्ष्य यिनै हुन् । हालसालै स्थानीय चुनाव सम्पन्न भएका छन् । नेपालका लागि यी महत्वपूर्ण कोशेढुंगा हुन् । नेपालमा नयाँ संविधान जारी भएसँगै मैले लेखेकी थिएँ, यसका कतिपय कुरा अपूर्ण होलान्, सोचेजत्तिकै राम्रा नहोलान् । तर पनि, केही नहुनुभन्दा यी व्यवस्था हुनु धेरै राम्रो हो ।

विभिन्न परियोजनामार्फत् हामीले यस क्षेत्रमा ठोस आधार तयार गर्‍यौं, जनतालाई मतदाता नामावलीमा नाम दर्ता गर्न सघायौं, निर्वाचन आयोगलाई सहयोग दियौं र यसको क्षमता वृद्धिका लागि योगदान दियौं ।

कतिपय परियोजना परीक्षणकै क्रममा छन् । हामीले यिनको प्रतिफल पनि देखिसक्यौं । हाम्रा पहल अपूर्ण होलान् तर हामी केही हदसम्म सफल भएका छौं ।

नेपालको संविधान अब कता जानुपर्छ भन्ने विषयमा हाम्रा आफ्नै धारणा होलान् । नेपालमा समाजका सबै तप्काको समावेशीकरण अझ फराकिलो हुनुपर्छ भनेर वकालत पनि हामी निरन्तर नै गर्नेछौं । यी कुराहरु विस्तारै हुन्छन् भन्ने हामी बुझ्छौं । अहिले जति प्रगति भएको छ, त्यो राम्रो छ ।

यो प्रगति आर्थिक वृद्धिको हाम्रो दोस्रो लक्ष्यका लागि पनि महत्वपूर्ण छ । वैदेशिक लगानी भित्र्याउने सन्दर्भमा नियम कानुनका समस्या मात्र अवरोध होइनन्, अस्थिर राजनीति पनि ठूलो बाधक हो । हामी यही कुरालाई जोड दिँदै सरकारलाई लगानीमैत्री वातावरण बनाउने गरी कानुन निर्माण गर्न सहयोग गर्छौं ।

बौद्धिक सम्पत्तिको अधिकारसम्बन्धी कानुनको मस्यौदा तयार गर्नमा पनि सघाएका छौं । निजी क्षेत्रका चाहना के हुन् भन्ने विषयमा हामीले उनीहरुसँग पनि काम गरेका छौं ।

हामी उद्यमशीलताको विकासमा पनि केन्द्रित छौं । कृषि क्षेत्रको व्यापार शृंखलाबारे पनि काम गर्छौं । एउटा किसानले जति नै तरकारी फलाए पनि तिनलाई बेच्ने बजार पाएन भने आखिर के अर्थ हुन्छ र ?

प्रकोप सामनाका सन्दर्भमा नेपाली सेनालाई उद्धार तथा सुरक्षित रुपमा भवन भत्काउने तालिम प्रदान गरिरहेका छौं । कार्गोको व्यवस्थापनलाई अझ कसरी राम्रो बनाउने भन्ने विषयमा हामी विमानस्थलसँग पनि काम गर्दैछौं । सुन्दा त्यति महत्वपूर्ण लाग्दैन तर कार्गोको व्यवस्थापन भूकम्पका बेला एउटा प्रमुख चुनौती थियो ।

यी सबै क्षेत्रमा हामी सरकारसँग मात्र नभई निजी क्षेत्र, नागरिक समाज, सामुदायिक संस्था र शैक्षिक संस्थासँग पनि सहकार्य गरिरहेका छौं । हामी यी समस्याको समाधान लाद्न आएका पक्कै होइनौं बरु स्थानीय जनतालाई नै आफ्नो समाजको दिगो विकासमा सहयोग गर्न चाहन्छौं । नेपाली बलबुतामै विकास हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

तिब्बती शरणार्थी, महिला, पिछडिएका समुदाय तथा बेचविखनको जोखिममा रहेका मानिसका लागि काम गर्न तपाईं इच्छुक देखिनुहुन्छ । यसको खास कारण के होला ?

लोकतन्त्रको विकासका लागि महिला तथा सीमान्तकृत समूहलाई राजनीतिक तथा सामाजिक प्रक्रियामा समावेश गर्नु महत्वपूर्ण छ । सहभागिता सबैको अधिकार हो, त्यसैले यसका लागि सबै सक्षम हुनुपर्छ ।

जनसंख्याको आधा हिस्सा ओगट्ने महिला समावेश नभएको अर्थतन्त्रले पूर्ण लाभ प्रदान गर्न सक्दैन । सन् २०३० सम्म मध्यम आय भएको राष्ट्रका रुपमा विकसित हुनका लागि नेपालले सबैको समान पहुँच सुनिश्चित गर्नुपर्छ ।

शरणार्थीबारे कुरा गर्नुपर्दा नेपालमा विशेषतः दुई समूह छन् । धेरै भुटानी शरणार्थीलाई हामीले यहाँबाट अमेरिकामा पुनःस्थापित गराएका छौं । तर, यहाँ तिब्बती शरणार्थी पनि छन् र अन्तर्राष्ट्रिय सन्धि, सम्झौताअनुसारका अधिकार उनीहरुले पनि पाउनुपर्छ । नेपालले यी समूहहरुलाई सहृदयी आतिथ्यता प्रदान गरेको छ र हाम्रो उद्देश्य सरकारसँग मिलेर उनीहरुका लागि दिगो समाधान खोज्नु र उनीहरुले आफ्ना अधिकार पाएको सुनिश्चित गर्नु हो ।

तिब्बती शरणार्थीलाई पनि भुटानीजस्तै तेस्रो देशमा पुनर्वासको व्यवस्था गर्न सकिन्छ ?

धेरै भुटानी अझै नेपालमै छन् । र, उनीहरुको समस्या समाधान गर्नु अत्यन्त महत्वपूर्ण छ । तिब्बती शरणार्थी समस्याको समाधानबारे पनि हामीले सोच्नुपर्छ । तर, आज विश्वमै शरणार्थीका लागि उपलब्ध सहायताको संकट छ र विश्वका धेरै शरणार्थी पुनःस्थापित हुन सकेका छैनन् । उनीहरुको जीवनमा राम्रा विकल्प छैनन् र द्विविधामा बाँचेका छन् । त्यसैले हामी सकेसम्म धेरै सहयोग प्रदान गर्ने पक्षमा छौं । नेपालले उनीहरुलाई न्यानो आश्रय दिएको छ र हामी पनि राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायमार्फत् आर्थिक रुपमा उल्लेख्य सहयोग प्रदान गर्दै छौं ।

महिला बेचविखनको मुद्दालाई जोडतोडका साथ उठाउनुको पनि खास कारण छ कि ?

यी सबै मानिस जीवनमा अझ राम्रा अवसरका लागि लायक छन् । विशेषतः महिलाका लागि शिक्षामा पहुँच, आफ्ना अधिकारबारे पर्याप्त ज्ञान र सम्मानित रोजगारी हुनु महत्वपूर्ण छ । म एक महिला हुँ र मैले यी सबै अधिकार उपभोग गर्न पाएँ । म चाहन्छु नेपालका सबै महिलाले पनि यी अधिकार उपभोग गरुन् । अनि, यो लक्ष्य प्राप्त गर्न त्यति कठिन पनि छैन ।

बेचविखनमा परेका तथा जोखिममा रहेका महिला आफ्नो जीवन खुशी रहोस् भन्ने चाहन्छन् । तर, उनीहरुको घरको परिस्थिति सोचेजस्तो हुँदैन, शिक्षामा पहुँच नहुन सक्छ, गरिबीले गाँजेको हुन सक्छ । यदि समुदाय एकजुट हुने हो भने यी सबै समस्या समाधान गर्न सकिन्छ । मानिसलाई गलत निर्णय रोज्न बाध्य पारिनु अत्यन्त अपमानजनक हो भन्ने मलाई लाग्छ ।

हामीले यस क्षेत्रमा केही काम गरेका छौं । पहिलो, पीडितलाई समाजमा पुनः प्रवेश गर्ने अवसर दिलाउँदै छौं । दोस्रो, कानुन कार्यान्वयनमा जोड दिँदै बेचविखनकर्तालाई सजाय दिलाउन आवश्यक सहयोग र तालिम उपलब्ध गराउँदै छौं ।

नेपालका राष्ट्रपति तथा सभामुख महिला हुनुहुन्छ । केही महिना अघिसम्म प्रधानन्यायाधीश पनि महिला नै हुनुहुन्थ्यो । चाखलाग्दो कुरा, काठमाडौँमा महिला राजदूतको संख्या पनि बढिरहेको छ । तपाईं यसलाई कसरी लिनुहुन्छ ?

यी सबै उदाहरण अत्यन्त सकारात्मक छन् । यी व्यक्तित्वहरु नेपालीका लागि मात्र नभएर विश्वभरिका महिलाका लागि प्रेरणाका पात्र हुन् र यिनलाई हेरेर उनीहरु ‘ओहो, म पनि केही गर्न सक्छु’ भन्न सक्छन् ।

विविधता आफैंमा राम्रो कुरा हो, चाहे कुनै संस्था चलाउन होस् वा देश । छलफलका क्रममा विभिन्न दृष्टिकोण प्रस्तुत हुन्छन् । राष्ट्रपति, सभामुख, महिला तथा पुरुष सांसद् र विभिन्न जातीय समुदायका मानिसले कुनै समस्या समाधानका लागि छलफलका क्रममा एकअर्कालाई चुनौती दिन सक्छन् । तर, अन्ततः यसले अझ राम्रो समाधान प्राप्त हुन्छ भन्ने हाम्रो विश्वास हो ।

हाल नेपालका लागि चिनियाँ राजदूत यु हङ पनि महिला नै हुनुहुन्छ । उहाँसँग तपाईंको कस्तो सम्बन्ध छ ?

म र चिनियाँ राजदूतबीच मित्रवत् र हार्दिक सम्बन्ध छ । नेपालका सन्दर्भमा उहाँका र मेरा इच्छाहरु मेल खान्छन् । जस्तै- नेपालमा राजनीतिक स्थायित्व कायम होस्, आर्थिक विकास होस् । हुन त, अधिकांश नेपालीको चाहना पनि यही नै हो ।

आफ्नो कार्यकालमा तपाईं दुई ‘टी’ अर्थात् टि्वटर र ट्राभलमा पनि खुबै सक्रिय हुनुहुन्छ नि ?

सामाजिक सञ्जाल मानिसबीच सम्पर्क कायम गर्ने माध्यम हुन् र यिनीहरुले टेबलमा बसेर कुराकानी वा इमेलबाट सञ्चार गरेजस्तो भन्दा फरक तरिकाले काम गर्छन् । नेपालमा युवा पुस्ताको जनसंख्या उल्लेख्य छ अनि उनीहरुसँग संवाद हुनु अत्यन्त महत्वपूर्ण छ ।

टि्वटरमार्फत् यस्तै संवाद हुने गरेका छन् । आफ्नो विचार राख्न यहाँका मान्छे खुला नै छन् । मैले केही भन्नेबित्तिकै १/२ जनाले आफू सहमत वा असहमत भएको बताइहाल्छन् । वा, उनीहरु आफूलाई मेरा कुरा सही लागे कि गलत भन्ने बताउँछन् । तर, म टि्वटरमै झगडा गरेर भने बस्दिनँ र त्यो मेरो वशको कुरा पनि होइन ।

एउटा राजदूतका रुपमा टि्वटरमार्फत् मैले नेपालप्रतिको आफ्नो माया र सम्मान अभिव्यक्त गर्न पाएकी छु । मैले थाहा पाएका सफलताका कथा पनि म यहाँ राख्छु । किनकि, म वरिपरि राम्रा कुराहरु भइराखेको देख्छु र ती कुरा अरुलाई बताउन चाहन्छु । साथै, म आफ्ना आग्रह पनि राख्न चाहन्छु । जस्तै- मतदान गरौं ।

लोकतन्त्रमा विविध विषयबारे खुला छलफल हुनु जरुरी छ । समस्या जटिल हुन्छन् र समाधान पनि सहज नहुन सक्छन् । त्यसैले गतिला छलफल हुनु र ती छलफल सुरु गर्नु आवश्यक हुन्छ । छलफल लोकतन्त्रका लागि सधैं स्वस्थ नै हुन्छन् ।

यो तपाईंको व्यक्तिगत रुचि हो कि सबै अमेरिकी राजदूत यस्तै हुन् ?

त्यस्तो कुनै नीति नै त छैन तर धेरै अमेरिकी राजदूत टि्वटर प्रयोग गर्छन् । हामी जहाँ छौं, त्यही ठाउँ सुहाउँदो क्रियाकलाप गर्छौं । हामी आफैं निर्णय गरेर अगाडि बढ्छौं । हाम्रा आफ्नै शैली छन् ।

नेपाली टि्वटर प्रयोगकर्तासँगको कुनै अन्तक्रिर्या स्मरणीय छ भने बताउनूस् न ।

हालसालै मात्र मैले एउटा दैनिक पत्रिकामा भ्रष्टाचारबारे लेख लेखेकी थिएँ र यसबारे धेरै प्रतिक्रिया प्राप्त भएका थिए । प्रतिक्रिया खासै लामा नभए पनि यहाँका मानिस जिम्मेवार निकायको उत्तरदायित्व तथा पारदर्शिताको अभ्यासबाट सन्तुष्ट रहेनछन् भन्ने मैले बुझें । म यस्ता संवादलाई राम्रै दृष्टिकोणले हेर्छु र जनतालाई आफूले भविष्यमा के हेर्न चाहेको हो सोच्नका लागि प्रेरित गर्न चाहन्छु ।

स्थानीय चुनावका विभिन्न चरण अगाडि मैले जनतालाई मतदान गर्न र नागरिकका चाहनाप्रति नेतृत्वलाई जिम्मेवार बनाउन गरेको आह्वान पनि म सम्भिmन्छु । जनताले नेतालाई भन्नुपर्छ, ‘मैले तिमीलाई निर्वाचित गरेपछि तिमीले पनि मलाई त्यसको गुन तिर्नुपर्छ । पैसा चाहिँदैन, कुनै कृपा गर्नुपर्दैन । तर, तिमीले मलाई सुशासन र समृद्ध देश दिन सक्नुपर्छ ।’

नेपालका विभिन्न स्थानको भ्रमणमा यहाँको विशेष रुचिको कारण के हो ?

मेरो भ्रमणका विविध आयाम छन् । पहिलो कुरा त हामीले देशका विभिन्न भागमा अंग्रेजी भाषा तालिम, कृषि विकासका लागि तथा बेचविखनविरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गरेका छौं । म ती कार्यक्रम सञ्चालन भएको हेर्न र यसमा संलग्न मानिसहरुसँग कुरा गर्न चाहन्छु । म यहीँ बसेर तिनका प्रतिवेदन पढ्न त सक्छु तर मान्छेलाई भेटेरै कुरा गरेजस्तो हुँदैन । एक हिसाबले मेरा भ्रमणहरु कार्यक्रम अनुगमनका अंग हुन् ।

नेपाल आफैंमा विविधतापूर्ण छ । तराई, पहाड, हिमाल अनि सयभन्दा बढी जातजाति र भाषाहरु । त्यसैले पनि मलाई घुम्न मन लाग्छ । घुम्दा मलाई अमेरिका नेपालमा किन र के काम गर्दै छ भनेर जनतालाई बताउने अवसर प्राप्त हुन्छ । साथै, काठमाडौंबाट निस्कने एउटा राम्रो बहाना पनि । काठमाडौंमा त हामी सजिलै दिन बिताउन सक्छौं तर यहीं बसेर मात्र नेपाललाई बुझ्नै सकिँदैन ।

समग्रमा मेरो भ्रमणका तीन वटा पाटा छन् । म जनता हाम्रा कार्यक्रमबारे के भन्छन् सुन्न चाहन्छु र आफ्ना कुरा राख्न चाहन्छु । अनि, देश सँगसँगै यहाँका जनता के सोच्दै छन्, अझ राम्ररी बुझ्न चाहन्छु ।

म तराई र पहाडसँगै केही हिमाली भूभाग घुमेकी छु । सबैभन्दा राम्रो भन्ने कुनै ठाउँ छैन । सबै ठाउँ एकअर्काभन्दा फरक छन् र आफैंमा राम्रा छन् । जनकपुर, लुम्बिनी र मुस्ताङजस्ता ठाउँहरुमा जान जोकसैले कहाँ सकेका छन् र ! त्यसैले म आफूलाई भाग्यमानी सम्झन्छु ।

अमेरिकाले नेपाललाई आफ्नै आँखाबाट हेर्छ भनेर यहाँले बारम्बार भन्ने गर्नुभएको छ । के यी भ्रमणहरु पनि त्यही दृष्टिकोण निर्धारण गर्ने माध्यम हुन् त ?

हाम्रो दृष्टिकोण निर्धारणमा यस्ता भ्रमणले पनि सहयोग गर्छन् । हामी जहाँ छौं, त्यहाँको वातावरणलाई राम्रोसँग नबुझी न म मेरो काम राम्ररी गर्न सक्छु, न त मेरो दूतावासले नै । हाम्रा नीति निर्धारणका लागि अझ सुसूचित सुझाव दिन तथा हामी अब नेपालमा कसरी काम गर्न चाहन्छौं भन्ने निर्णय गर्न यस्ता भ्रमणले सहयोग गर्छन् । वास्तविक वातावरण बुझ्नका लागि घुम्नु त अत्यावश्यक छ ।

भ्रमणका क्रममा स्थानीय रेडियोहरुमा अन्तर्वार्ता दिनुको उद्देश्य के हो ?

सबै नेपाली टि्वटरमा छैनन् नि त । अनि फेरि रेडियो सुन्ने जनसंख्या पनि धेरै छ । त्यसैले भ्रमण अवधिभर म के गर्दै छु भन्ने मात्र नभएर नेपालमा अमेरिकाले के गर्दै छ भन्ने कुरा स्थानीय जनतालाई बताउनका लागि पनि म त्यसभन्दा राम्रो अवसर भेटि्दनँ । रेडियोमा म अनुवादकमार्फत् आफ्ना कुरा नेपालीमै राख्न सक्छु । जसरी भए पनि संवाद हुनु अत्यन्त महत्वपूर्ण छ ।

अमेरिकी राजदूतहरुका लागि मुस्ताङ सधैं विशेष रहेको पाइन्छ । मुस्ताङ अमेरिकाका लागि किन विशेष छ ?

मुस्ताङ जाने म तेस्रो अमेरिकी राजदूत हुँ । त्यहाँ हामीले दुई वटा कार्यक्रम सञ्चालन गरिरहेका छौं । पहिलो, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनासँग मिलेर वन्यजन्तुको अध्ययन तथा संरक्षण । दोस्रो, एउटा सांस्कृतिक सम्पदा संरक्षण कार्यक्रममार्फत् हामीले त्यहाँका मन्दिर र अन्य सम्पदा जोगाउन अनुदान दिएका छौं ।

मुस्ताङ पर्यटन र उद्यमशीलताको सम्भावना भएको क्षेत्र पनि हो । यात्राका क्रममा मैले त्यहाँको विकासका लागि विभिन्न योजना भएका मानिसलाई भेटेकी छु । यहाँका मानिस जुन कठिनाइका साथ जिन्दगी बिताइरहेका छन्, त्यो आफैंमा उल्लेख्य पक्ष हो । जाडो महिनामा त त्यहाँ अझै कठिन हुन्छ । त्यसैले म जान्न चाहन्छु त्यस्तो ठाउँमा जीवन कसरी चल्ने रहेछ ।

सांस्कृतिक सम्पदा, धार्मिक तथा जातीय विविधताका हिसाबले नेपाल जति सम्पन्न छ, त्यसलाई अझ नजिकबाट नियाल्ने अवसर पनि हो मुस्ताङ भ्रमण । उपल्लो मुस्ताङमा रहेको तिब्बती बुद्धमार्गीको सानो समुदायसँग भएको सांस्कृतिक सम्पदा नेपालको सांस्कृतिक इतिहासको विशिष्ट पक्ष हो ।

हामी एक पटक जोमसोमबाट लोमान्थाङसम्म पदयात्रामा गएका थियौं, जुन मेरा लागि अविस्मरणीय छ । जोमसोममा नेपाली सेनाको एउटा शिक्षालय पनि छ, जहाँ हरेक वर्ष अमेरिकी सेनाका जवानहरु उच्च भूबनोट भएका स्थानमा प्रयोग हुने सैन्य सीप सिक्न आउँछन् । मैले त्यहाँ सैनिकले हिमाल आरोहण तथा हिमाली उद्धारबारे आफ्ना सीप प्रदर्शन गरेको हेरेकी थिएँ र रमाइलो लागेको थियो । मुस्ताङको उचाइ अमेरिकाको जुनसुकै भूभागको उचाइभन्दा बढी छ । त्यसैले पनि मुस्ताङ भ्रमण हाम्रा लागि विशिष्ट रहन्छ ।

यो वर्षभरि नेपाल र अमेरिका कुटनीतिक सम्बन्ध स्थापनाको ७०औं वाषिर्कोत्सव मनाउँदै छन् । यस अवसरमा के के कार्यक्रम आयोजना भए र यिनले द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउन के के योगदान दिन्छन् ?

हो, हामी यो वर्ष कुटनीतिक सम्बन्ध गाँसिएपछिको ७०औं वर्षमा छौं । हालसम्म प्राप्त गरेका उपलब्धिमा खुशी हुँदै आगामी बाटो तय गर्न यो एउटा राम्रो अवसर हो । डिसेम्बरमा हामी यस अवसरका कार्यक्रमहरु टुंग्याउनेछौं । हामी चाहन्नौं, यस अवसरमा हुने कार्यक्रम खालि विगतमा मात्र केन्दि्रत होऊन्, हामी अबको यात्रा कस्तो हुन्छ, हाम्रा अगाडि के के अवसर तथा चुनौती छन् भन्ने विषयमा कुराकानी गर्न चाहन्छौं ।

हामीले वर्षभरि छलफल गरेका विषयवस्तु हाम्रो द्विपक्षीय सम्बन्धका लागि महत्वपूर्ण मुद्दा नै हुन् । विपद् व्यवस्थापन, समावेशिता, सुरक्षा सम्बन्ध, शिक्षा, मानव बेचविखन, लोकतन्त्र र सुशासन तथा स्वास्थ्यलगायत विषयमा चर्चा भएका छन् । यी छलफलमार्फत् हामीले हामी आफैं तथा सम्बन्धित सबैलाई हाम्रा आपसी संलग्नताका मुद्दा के के हुन् र हरेक मुद्दामा के के पक्ष महत्वपूर्ण छन् भन्ने कुरा सम्झाएका छौं । हाम्रो सम्बन्धबारे थप छलफल गरी अगाडि बढ्नका लागि यो अवसरले महत्वपूर्ण मञ्च प्रदान गरेको छ ।

७० वर्षमा दुवै देशमा धेरै परिवर्तन भएका छन् । तर, यो वर्षका लागि योजना बनाउँदा मलाई के कुराले अचम्मित बनायो भने धेरै कुरा पहिले जस्ता थिए, आज पनि त्यस्तै छन् । हामीबीच बलियो साइनो छ, हामी एकअर्काका आकांक्षाहरुलाई सुन्छौं र सम्बोधन गर्छौं ।

विकासका लागि हामीबीच सहकार्य छ र हामी यही सहकार्यलाई भविष्यको यात्राको जगका रुपमा अगाडि बढाउन चाहन्छौं । पिस कप्र्सलगायत हामीबीच भएका संस्था र संगठनको पनि आफ्नै स्थान छ । फुलब्राइट पनि त्यस्तै सम्बन्धको उदाहरण हो । यस्ता सम्बन्धले हामीलाई हामी कहाँ छौं र कहाँ जान चाहन्छौं भन्ने बुझाउँछन् ।

नेपाललाई विकास सहायता प्रदान गर्नमा अमेरिका सधैँ अगाडि छ । विगत ७० वर्षमा आफूले नेपाललाई प्रदान गरेको सहयोग र यसको प्रभावबारे अमेरिकाको मूल्यांकन के छ ?

हाम्रा कार्यक्रम कत्तिको प्रभावकारी भएका छन् भन्ने कुरामा हाम्रो सदैव चासो रहन्छ । हाम्रा कार्यक्रममा लगानी गर्ने अमेरिकी कंग्रेस र जनता पनि आफूले दिएको पैसा चाहेकै ठाउँमा पुगोस् भन्ने चाहन्छन् । हामी सानै स्तरमा भए पनि कार्यक्रमहरुको नियमित अनुगमन गर्छौँ र सरकारसँग मिलेर तिनको समीक्षा गर्छौं ।

हाम्रा कार्यक्रमका सफलता हाम्रा अगाडि छर्लंग छन्, विशेषतः शिक्षा र स्वास्थ्य क्षेत्रमा । महिलाको साक्षरता दर निरन्तर बढ्दो छ । औसत आयु ३५ बाट दोब्बर भई ७० वर्ष कटेको छ । यी परिवर्तनका लागि अमेरिकी सहायता एक मात्र कारक त होइन तर हाम्रो सहयोगको पनि महत्वपूर्ण योगदान छ भन्ने मेरो विश्वास हो ।

हाम्रो सम्बन्धका कारण स्थापित संगठनले ल्याएका परिवर्तनलाई पनि हेरौँ । महिला सामुदायिक स्वयंसेविका आज हरेक गाउँ र कतिपय सहरका महत्वपूर्ण अंग बनेका छन् । भूकम्पपछि नेपाली सेना र नेपाल प्रहरीले छिटोछरितो उद्धार सेवा दिन सके, विस्थापित जनताले स्वच्छ पानी पिउन पाए । हो, यसका लागि हाम्रो मात्र योगदान त छैन तर हाम्रो सहयोग पनि उल्लेख्य छ ।

गत महिना मात्र वासिङ्टनमा हस्ताक्षर भएको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट’ पनि सरकारले गर्नुपर्ने कामका लागि उसलाई सघाउने एउटा माध्यम हो ।

धेरै कार्यक्रम सरकारभन्दा बाहिरका निकायबाट पनि सञ्चालित छन् । नागरिक समाज, उद्योगी व्यवसायी र अन्य पक्ष पनि समाजलाई समृद्ध, स्थिर र सुरक्षित बनाउनका लागि महत्वपूर्ण साझेदार हुन् । सबै साझेदारसँग सहकार्य गर्दै समस्या समाधान गर्नु नै हाम्रो दर्शन हो ।

हामी चाहान्छौं, कुनै एक कार्यक्रम मात्र नभई समग्र सहयोगले नै अपेक्षित नतिजा निकालोस् । पुनश्चः सहयोगको प्राथमिकता भने नेपाल आफैंले निर्धारण गर्नुपर्छ ।

नेपाल र अमेरिकाबीच कुनै उच्चस्तरीय भ्रमण नभएको लामो समय भइसकेको छ । ७०औँ वर्षगाँठकै अवसरमा हामी कुनै उच्चस्तरीय भ्रमणको अपेक्षा गर्न सक्छौं ?

मेरो जानकारीमा छिट्टै कुनै विशिष्ट व्यक्तिको भ्रमण भइहाल्ने योजना तय भएको त छैन तर भविष्यमा के हुन्छ, कसले पो जानेको छ र ? हाम्रो सम्बन्धलाई अभिव्यक्त गर्ने माध्यम भ्रमण आदानप्रदान मात्र होइन । अहिलेको हाम्रो जोड नेपाली समाजसँग संवाद गर्ने र आपसमा जोडिने हाम्रो क्षमता कस्तो छ भन्ने हो । सम्बन्धको वास्तविक सबलता पनि यही नै हो । स्थानीय स्तरमा हुने दुई राष्ट्रबीचको सम्बन्धमा हाम्रो ध्यान केन्दि्रत छ । हाम्रो सम्बन्ध अब सरकार र सरकारबीच मात्र होइन, जनता र जनताबीच हुनुपर्छ भन्नेमा हाम्रो ध्यान केन्दि्रत छ ।

सन् २००१ देखि २०१५सम्मको तथ्यांकलाई हेर्दा अमेरिकाले नेपाललाई दिने सहयोगमा धेरै भिन्नता आएको देखिन्छ । के अमेरिका र नेपालमा कसले सरकारको नेतृत्व गरेको छ भन्ने कुराले सहयोगको मात्रालाई असर गर्छ ?

स्पष्ट छ, सहयोगको आकार सधैं उस्तै छैन । हाम्रो संसद्ले तय गर्ने प्राथमिकता यसमा प्रतिविम्बित हुन्छन् । सन् २०१५ एउटा अस्वाभाविक वर्ष थियो । भूकम्पका कारण उत्पन्न संकटलाई सम्बोधन गर्न, पुनर्निर्माणका लागि हामीले धेरै मानवीय सहायता उपलब्ध गराएका थियौं । नेपालसँगको सम्बन्धबारे हाम्रा सांसद् तथा सरकारको बलियो प्रतिबद्धता यसमा देखिएको थियो ।

धेरै कुराले सहयोगको आकारमा असर पुर्‍याउँछन्, दलगत राजनीतिदेखि आपसमा प्रतिस्पर्धा गरिरहेका प्राथमिकताहरुसम्म । त्यसैले आगामी वर्ष हामी कति सहयोग गर्नेछौं भनेर त म भन्न सक्दिनँ । तर, आजका आवश्यकतालाई सम्बोधन गर्ने तथा भोलिका समस्या समाधान गर्न पनि आधार तयार गर्ने गरी नेपाललाई सहयोग गर्ने हाम्रो चाहना अपरिवर्तित छ भन्ने कुरा म सुनिश्चित गर्न चाहन्छु ।

अमेरिकाले नेपाललाई प्रदान गर्ने सहयोगमा जनसंख्या तथा प्रजनन् स्वास्थ्यलाई पनि महत्व दिँदै आएको छ । के राष्ट्रपति ट्रम्पको विश्वव्यापी ‘ग्याग रुल’ले यसमा केही असर गर्छ ?

अमेरिकी सरकारले यसै वर्ष जीवन सुरक्षा तथा विश्वव्यापी स्वास्थ्य सहायता नीति जारी गरेको छ । हामी यसलाई हाम्रा सबै कार्यक्रममा कार्यान्वयन गर्ने तयारीमा छौं । तर पनि, मातृ र प्रजनन् स्वास्थ्यमा हामी पहिलेदेखि नै प्रतिबद्ध छौं ।

सरकारले नयाँ नीति ल्याउन सक्छ । आज हाम्रो नीति फरक छ । तर, मलाई लाग्छ यसले नेपालमा खासै केही प्रभाव पार्नेवाला छैन । कार्यक्रमका स्वरुपमा केही परिवर्तन आउलान् तर यहाँ सञ्चालित कार्यक्रममा पनि नयाँ नीतिको अक्षरशः पालना हुनुपर्छ भन्ने छैन । नयाँ नीतिअनुसार कार्यक्रमका केही व्यवस्थापकीय पाटा बदलिन सक्छन् ।

आसन्न प्रादेशिक र संघीय संसद् निर्वाचनका सन्दर्भमा नेपाली जनतालाई यहाँको सन्देश के छ ?

मेरो पहिलो सन्देश छ, मतदान गर्न जानुहोस् । किनकि, नागरिकका लागि लोकतन्त्रको सबभन्दा महत्वपूर्ण अवसर यही नै हो । तपाईंको एक मतले पनि अर्थ राख्छ । दोस्रो, मतदान गर्दै गर्दा तपाईं आफ्ना नेताबाट के चाहनुहुन्छ अनि देश कता गएको हेर्न चाहनुहुन्छ राम्ररी सोच्नुहोस् ।

लोकतन्त्रमा नागरिकले आफ्ना भावना अभिव्यक्त गर्ने र आफ्ना प्रतिनिधिलाई आफूप्रति जिम्मेवार हुन लगाउने संयन्त्र निर्वाचन नै हो ।

मेरो आशा छ, साना-ठूला सबै पार्टीले भविष्यका लागि आफ्ना प्राथमिकताबारे राम्रोसँग सोचून् । लोकतन्त्र र सुशासन भनेर मात्र पुग्दैन, अर्थतन्त्र पनि उत्तिकै महत्वपूर्ण छ । लोकतन्त्रको सफलताका लागि आन्तरिक तथा बाह्य लगानीको सदुपयोग हुने वातावरण हुनुपर्छ भन्ने मेरो विश्वास हो । जागिर, भविष्य र समृद्धिको आशा नभएका नागरिक खुशी हुन सक्दैनन् । हुन त, मैले भेटेका सबै नेताले पनि यस्तै कुरा गर्नुहुन्छ तर अब भने उहाँहरु अगाडि बढ्दै गर्दा यसलाई गम्भीरतापूर्वक लिएर केही परिवर्तन ल्याउनुहुन्छ भन्ने विश्वास छ ।

आम जनता, नागरिक समाज र राजनीतिक दललगायत सबैलाई मेरो अन्तिम सन्देश छ, अब भ्रष्टाचार र उत्तरदायित्वका मुद्दाहरुलाई पनि साँच्चिकै सम्बोधन गरिनुपर्छ । यदि समुदायले नै भ्रष्टाचार अस्वीकार गर्ने हो भने एक दिन यसको अन्त्य निश्चित छ । नेपाल भ्रष्टाचारकै लागि संसारमा चिनियोस् भन्ने जनताको चाहना छैन र उनीहरुले चाहेमा भ्रष्टाचार रोकिन सक्छ । एक उम्मेदवारका विरुद्ध अर्कालाई मत दिएर वा अब निर्वाचित हुने सरकारबाट आफूले राखेका अपेक्षा स्पष्ट बताएर यसका लागि पहल गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment