Comments Add Comment

गौचनका हत्यारा नपक्रेसम्म देशभर निर्माणका काम रोक्ने घोषणा

२३ असोज, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शरद गौचनका हत्यारालाई पक्राउ नगरेसम्म देशभर निर्माणसम्बद्ध सबै काम रोक्ने घोषणा गरेको छ ।

काठमाडौंको शान्तिनगर खरिबोटमा  गोली प्रहार गरेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या भएको भन्दै महासंघले सुरक्षाको प्रत्याभूति नभएसम्म निर्माणका सबै काम रोक्ने घोषणा गरेको हो ।

महासंघका महासचिव रामशरण देउजाले यो घटनाबाट देशभरका निर्माण व्यवसायीमा त्रासको वातावरण सिर्जना भएको बताए ।

‘काठमाडौंमा दिउँसै भएको हत्याको घटनालाई सरकारले गम्भीर रुपमा लिएको पाइएन,’ देउजाले भने, ‘घटना भएको ३ घण्टा पुग्न लाग्दा पनि प्रहरी प्रशासनका तर्फबाट दोषीलाई कारवाहीको दायरामा ल्याउने गरी सशक्त एक्सन लिएको जानकारी हामीलाई आएको छैन ।’

महासंघले देशका विभिन्न विकट स्थानमा पनि विभिन्न निर्माणको काम चलिरहेको भन्दै काठमाडौंमै सुरक्षा दिन नसक्ने सरकारले दूर्गम क्षेत्रमा व्यवसायीको कसरी सुरक्षा दिन सक्छ ? भनेर प्रश्न गरेको छ ।

‘यो निजी क्षेत्रमाथि बढेको असुरक्षाको प्रतिनिधित्व गर्ने घटना हो । यस्तो असुरक्षाको स्थितिमा हामी काम गर्नै सक्दैनौं,’ देउजाले भने, ‘देशभरका निर्माण व्यवसायीले अहिलेको काम गर्न नसकिने जानकारी हामीलाई गराउनुभएको छ । सुरक्षाको प्रत्याभूति नभएसम्म निर्माणका सबै काम रोक्ने निर्णयमा हामी पनि पुगेका छौं ।’

यसैबीच गृहमन्त्री जनार्दन शर्माले शंकास्पद तीनजना पेस्तोलसहित पक्राउ परिसकेको भन्दै हत्यामा संलग्न व्यक्तिलाई छिट्टै सार्वजनिक गरिनेे बताएका छन् । उनले शोकाकुल परिवार र निर्माण व्यवसायीलाई धैर्यधारण गर्न आग्रह पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment