Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः गठबन्धनमा बाँडफाँटको सकसदेखि त्रासमा निर्माण व्यवसायीसम्म

२६ असोज, काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै दलहरुले गठबन्धन निर्माण गरे पनि बाँडफाँटको सकस देखापरेको छ । वाम र लोकतान्त्रिक दुवै गठबन्धनमा बाँडफाँटको समस्या देखापरेको हो । आज राजधानीबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरुले यो विषयलाई महत्त्वका साथ लेखेका छन् ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यापछि निर्माण व्यवसायीहरु त्रसित बनेका छन् । हत्यालगत्तै अपरिचित व्यक्तिबाट धम्की आउन थालेपछि निर्माण व्यवसायीहरु त्रस्त बनेका हुन् । आजका पत्रपत्रिकाहरुले तारन्तारको फोनले निर्माण व्यवसायी त्रसित भएको लेखेका छन् ।

नयाँ परराष्ट्र नीतिको मस्यौदा तयार भएकोदेखि अनशनरत डा. गोविन्द केसी बोल्नै नसक्ने अवस्थामा पुगेको सम्मका खबर आजका पत्रपत्रिकाको पहिलो पृष्ठमा प्रकाशित छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णालीको विकासका लागि प्रभावकारी नीति आवश्यक रहेको भनेर व्यक्त गरेको भनाइलाई गोरखापत्र दैनिकले मुख्य खबर बनाएर छापेको छ । घोषित मितिमै निर्वाचन हुने प्रमुख आयुक्त अयोधीप्रसाद यादवको दाबीलाई पनि गोरखापत्रले लेखेको छ । त्यस्तै कांग्रेसको संसदीय बोर्ड गठनको खबर पनि गोरखापत्रको पहिलो पृष्ठमा छ ।

संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकमा डा. गोविन्द केसीले उठाएका विषय समेट्न प्रमुख प्रतिपक्षी दल एमाले र सत्तासाझेदार दल माओवादी केन्द्र तयार नभएपछि विधेयक पारित हुनेमा शंका उब्जिएको नागरिकले लेखेको छ । तारन्तार फोन गरेर धम्की आएपछि निर्माण व्यवसायी त्रसित बनेको अर्को खबर पनि नागरिकको पहिलो पृष्ठमा पढ्न सकिन्छ ।

प्रशासकलाई ट्रेड युनियनले धम्की दिएको विषयलाई मुख्य समाचार बनाएको अन्नपूर्ण पोस्टले मुग्लिङ-नारायणगढ क्षेत्रका पुराना पुल विस्थापित गरेर नयाँ बनाउन लागिएको लेखेको छ ।

कान्तिपुर दैनिकले गलत आचरणका व्यक्ति प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा हाबी बन्दै गएको लेखेको छ भने नयाँ पत्रिका दैनिकले ‘देशभर कसको मत कति ?’ शीर्षक दिएर मुख्य खबर लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment