२६ असोज, काठमाडौं । नेपाल टेलिकममा रणनीतिक साझेदार भित्रने खबर चल्न थालेपछि बजारमा कम्पनीको सेयर कारोबार बढेको छ ।
कम्पनीको ३ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएसँगै विहीवार कारोबार रकमको आधारमा यो दोस्रो स्थानमा रहेको छ । यो कम्पनी सूचीकृत ‘अन्य’ समूहको परिसूचक ३० अंक (४ प्रतिशतले) वृद्धि भएको छ ।
कम्पनीले गत वर्ष नै रणनीतिक साझेदार भित्र्याउन परामर्शदाता नियुक्त गरेको थियो । यता, लाभांश प्राप्त गर्ने अन्तिम दिन चिलिमे जलविद्युत् कम्पनीको सेयरमा पनि उच्च आकर्षण देखिएको छ । कम्पनीको सात करोड रुपैयाँको सेयर किनबेच भएको छ । कम्पनीले १५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
यस दिन नेप्से परिसूचक ४ अंकले बढेर १५१० बिन्दुमा आइपुगेको छ । यस दिन करोबार रकम केही बढेर ४० करोड रुपैयाँ पुगेको पनि छ ।
अहिलेकै अवस्थामा चुनाव अघि बजारको वृद्धि उच्च दरमा नहुने सेयर विश्लेषक प्रकाश तिवारी बताउँछन् ।
‘ठुला लगानीकर्ताहरुबीच भएको छलफलमा स्थिर सरकार निर्माणमा बाम एकताले सहयोग पुग्ने अर्थमा लिइन थालेको छ, यो लगानीकर्ताको वर्गले लगभग बजारको ४० प्रतिशत मनोविज्ञानलाई समेट्छ,’ तिवारीले भने ।
ठुला लगानीकर्ताको आफ्नै लगानी पनि धेरै हुने, बजारमा उनीहरुका अनुयायी पनि हुने हुँदा यो वृत्तमा बसेको बिचार बजारमा क्रमिक रुपमा पर्दै गयो र राजनीतिक परिस्थिती पनि त्यही अनुसार बन्दै गयो भने आगामी संघ र प्रदेशको चुनाव पछि बजारमा राम्रै वृद्धिको अपेक्षा गर्न सकिने तिवारीको विश्लेषण छ । उनी त्यसपछि बजारमा १ सय देखि २ सय अंकसम्मको वृद्धिको सम्भावना देख्छन् ।
तत्काललाई भने बजारमा आपुर्तीको बढ्दो चाप, अर्थतन्त्र ओरालो लाग्न सक्ने चिन्ताहरु आइरहेको र बजारले स्पष्ट बाटो तय गर्न नसकेकोले पनि बजार दिगो रुपमा अगाडी बढ्नेमा आशंका गरिएको छ ।
साता अघिको उच्च गिरावटपछि मंगलवारबाट बढ्न थालेको बजार सिमान्तदरमा बढ्दै गएको छ । यसदिन ‘अन्य’ समूहसहित बैंकिङ र व्यापारमुलक समूहको सूचकमा मात्र वृद्धि भएको छ ।
सिनर्जी फाइनान्स एक्वायर गर्न लागेको जनरल फाइनान्स (हाल नाम परिवर्तनपछि बेष्ट फाइनान्स)को पनि सेयर मूल्य ४ प्रतिशतले बढेर १ सय २७ रुपैयाँ पुगेको छ । एक्विजिशनपछि लगभग ७६ करोड चुक्ता पूँजी पुग्ने कम्पनी आगामी दिनमा बलियो हुने आशमा लगानीकर्ता आकर्षित भएका देखिन्छन् ।
प्रतिक्रिया 4