Comments Add Comment

९२ करोडमा जोरखानेको बहुद्देश्यीय स्टेडियम बन्ने

२६ असोज, काठमाडौं । नेपाल जोरखाने खेलकुद संघले कीर्तिपुरमा करिब ९२ करोड लागतमा बहुउद्देश्यीय स्टेडियम बनाउने भएको छ । त्यसका लागि नेपाल जोरखाने खेलकुद संघ, अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघ र कीर्तिपुर नगरपालिकाबीच बिहीबार त्रिपक्षीय सम्झौता भएको छ ।

नेपाल जोरखाने खेलकुद संघका अध्यक्ष सुरेन्द्र मानन्धर र अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघका अध्यक्ष समेत रहेका इरानका पूर्व उपराष्ट्रपति मोहसेन मिरालिजादेले आर्थिक सहयोगका विषयमा सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कुल लागतको ७५ प्रतिशत महासंघ र बाँकी २५ प्रतिशत संघले व्यवस्था मिलाउने गरी सम्झौता भएको अध्यक्ष मानन्धरले त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

त्यसैगरी, अध्यक्ष मानन्धर र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जग्गा सम्बन्धमा सम्झौता पत्रमा पनि हस्ताक्षर गरे । कीर्तिपुर नगरपालिका वडा नम्बर १० मा संघलाई नगरपालिकाकाले १८ देखि २० रोपनी जग्गा स्टेडियम निर्माणका लागि उपलब्ध गराउने मेयर महर्जनले बताए ।

अध्यक्ष मानन्धरले चाँदै नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी निर्माण कार्य थाल्ने बताउदै ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए । महासंघका अध्यक्ष एवं पूर्व उपराष्ट्रपति मोहसेनले नेपाली जोरखानेका लागि ठूलो अवसर भएको बताउदै जोरखाने संघलाई निर्माण कार्यमा सक्रिय हुन आग्रह गरे ।

जोरखाने संघका महासचिव रवि घिमिरे स्टेडियम हातामा जोरखाने स्टेडियमसहित बहुउद्देश्यीय कभर्डहल, स्विमिङ पुल, आवास गृह, रेस्टुरेन्ट र जिम्नेजियम रहने जानकारी गराए । महासचिव घिमिरेले सानो आकारमा ओलम्पिक एकेडेमीको अवधाराणामा स्टेडियम निर्माण गर्न लागिएको बताए ।

दक्षिण एसियाली जोरखाने भोलिदेखि

कार्यक्रममा प्रथम दक्षिण एसियाली जोरखाने तथा कुस्ती पेहलवानी प्रतियोगिता शुक्रबारदेखि हुने जानकारी गराइयो ।

नेपाल जोरखाने खेलकुद संघले आयोजना गर्ने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान गरी ८ राष्ट्रका ८० खेलाडी सहभागी हुने महासचिव घिमिरेले जानकारी गराए ।

जोरखानेमा ७ र कुस्तीमा ५ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । भारतका खेलाडी बिहबिार बेलुकी आइपुग्ने तथा भुटान, माल्दिभ्स र अफगानिस्तानका खेलाडी शुक्रबार बिहानसम्म आइपुग्ने बताइएको छ ।

नेपालबाट सुमिर साह, मुकेशकुमार ठाकुर, कुन्दन साह तुराहा, रोहित महर्जन, रोजन महर्जन, राजु महर्जन र रोजित महर्जनले प्रतिस्पर्धा गर्नेछन् । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment