Comments Add Comment

विष्फोटक पदार्थ नपाउँदा आधा दर्जन सडक निर्माण अलपत्र

सेनाले विष्फोटक पदार्थ नदिँदा निर्माण अड्कियोः सडक विभाग

२७ असोज, काठमाडौं । सडक विभागले सडक निर्माणका क्रममा कडा चट्टान फोर्न आवश्यक पर्ने विष्फोटक पदार्थ सेनासँग मागेको तीन वर्ष बित्यो । तर, नेपाली सेनाले उपलब्ध गराउन सकेको छैन ।

सोही कारण विभिन्न ठाउँमा सडक निर्माण अड्किएको छ ।

आधा दर्जनभन्दा बढी सडक निर्माण अड्किएको सडक विभागका उपमहानिर्देशक अर्जुनजंग थापाले बताए । उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाका लागि ठूलो मात्रामा विष्फोटक पदार्थको आवश्यकता छ ।

उत्तरी भेगमा सडक निर्माण क्रममा कडा चट्टानहरु रहेको र त्यस्ता स्थानमा मेसिनले चट्टान फोड्न नसकिने थापाको भनाइ छ ।

बाँकेको जमुनहाबाट हुम्लाको सिमिकोट हुँदै चीन सीमावर्ती हिल्सा जोड्ने ६ सय ८२ किलोमिटरको कर्णाली राजमार्गको अहिलेसम्म ८३ किमि ट्रयाक खोलिएको छ । उक्त सडक निर्माण क्रममा विभिन्न स्थानमा कडा चट्टान देखिएका छन् । तिनलाई पन्छाउन विष्फोटक पदार्थ आवश्यक छ ।

यस्तै, कालीगण्डकी र कोशी करिडोरमा पनि विभिन्न स्थानमा कडा चट्टान देखिएका छन् ।

कान्ती राजपथको दुई किमि खुलाउन बाँकी

यस्तै, काठमाडौंदेखि हेटौंडा जोड्ने ९० किमिको कान्ती राजपथको काम पनि विष्फोटक पदार्थ नहुँदा रोकिएको छ । हालसम्म ८८ किमिको ट्रयाक खुलिसकेको छ । बाँकी दुई किमिमा ट्रयाक तयार पार्न कडा चट्टान अवरोधका रुपमा देखिएको छ ।

विभागका उपमहानिर्देशक थापाका अनुसार विभिन्न स्थानमा सयदेखि दुई सय मिटरसम्म कडा चट्टानका कारण सडक फराकिलो पार्न सकिएको छैन ।

कान्ती राजपथ खुलेको भए हाल मुग्लिन-नारायणगढ सडकको अवरोधका कारण मुलुकभरबाट राजधानी आउजाउ प्रभावित हुने थिएन । र, मुग्लिन-नारायणगढ सडक विस्तार पनि सहज ढंगले अगाडि बढ्थ्यो ।

हाल काठमाडौंबाट बाहिरिने बीपी राजमार्ग र काठमाडौं-सिस्नेरी-हेटौंडा सडकमा ठूला सवारी साधन चलाउन मिल्दैन । बढी भारवहन क्षमताका सवारी साधनलाई मुग्लिन-नारायणगढ सडकको विकल्प छैन ।

उक्त सडक विस्तारका लागि पनि विष्फोटक पदार्थ आवश्यक छ । यसअघि मेसिनबाटै उक्त सडक विस्तार गर्ने सरकारी योजना थियो । तर, त्यसको जिम्मा पाएका कम्पनीहरुले कडा चट्टान फोर्न विस्फोटक पदार्थबाट मात्र सम्भव रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment