Comments Add Comment

हिरोइनलाई हप्काउने ‘छुच्ची बुढी’

लक्ष्मी गिरीलाई सधैं 'छुच्ची आमा'कै भूमिका फिट

२८ असोज, काठमाडौं । ‘मेरो सुपारीसमेत नखाने छोरालाई तँ चुरोट खान सिकाउने ?’

कलाकार लक्ष्मी गिरीले यसो भन्दै चप्पलले हिर्काएको दृश्य धेरै दर्शकले ‘मार्क’ गरेका छन् ।

चलचित्र ‘छक्का पञ्जा-२’को टे्रलरमा लक्ष्मी गिरी ‘हिरो’ नै बनेकी छन् । तीन मिनट तीन सेकेन्डको टे्रलरमा उनी दुई वटा दृश्यमा देखिएकी छन् ।

कलाकार माग्ने बुढालाई एक किक हानेर ‘बारीका पाटामा’ पुर्‍याइदिएको दृश्यले हलमा पनि ताली पाइरहेको छ । चलचित्रमा उनको दमदार भूमिका देख्न पाइन्छ ।

यसबाट स्पष्ट हुन्छ, व्यस्ततालाई उमेरले छेक्दो रहेनछ ।

‘मलाई काम गर्दा थकाइ लाग्दैन,’ लक्ष्मीले भनिन् ।

उमेरले हजुरआमा भए पनि उनी त्यस्ती देखिन्नन् । सुटिङमा त उनी कमान्डरै हुन्छिन् । हिरोइनलाई थर्काउनेदेखि कुकलाई सघाउनेसम्मका काम सम्हाल्छिन् ।

‘फुर्सद भयो भने सुटिङको कुकसमेत म आफैं हुन्छु । सेवा गर्दा सन्तुष्टि मिल्छ,’ उनले भनिन् ।

बुढीमाउको किचकिच

सुटिङमा लक्ष्मीको उमेरका कलाकार थोरै हुन्छन् । धेरै त युवा-युवती नै हुन्छन् । सुटिङका लागि जहाँ पुगे पनि बिहान चाँडै उठ्ने लक्ष्मी सकेसम्म छिटो काम सुरु होस् भन्छिन् र किचेनमा गएर हेर्छिन् । हिरोइनहरुलाई मेकअप गर्न धेरै समय लाग्छ भन्नेमा उनी सचेत छिन् ।

‘ए केटीहरु अझै चिया खाएनौ ?’ उनी कराउँछिन् ।

‘यी बुढीमाउ कति कराएकी होलिन्,’ हिरोइनहरु प्याच्च भन्छन् । तर, उनी वास्तै गर्दिनन् ।

‘मलाई काम गर्दा थकाइ लाग्दैन । फुर्सद भयो भने सुटिङको कुकसमेत म आफैं हुन्छु । सेवा गर्दा सन्तुष्टि मिल्छ ।’

लक्ष्मीका अगाडि कुनै हिरोइन चुरोट खान्नन् । वाइन पिउन पनि धक मान्छन् ।

बरु, ‘बुढीमाउ किच किच गर्छिन्, माथि बसेर खाउँ’ भन्दै केटीहरुको समूह उठेर हिँड्छ । सुटिङमा रिसाए पनि छुट्टनिे बेलामा भने प्रायःले भन्ने गरेका रहेछन्, ‘बुढीमाउ छुच्ची भनेको त आमाजस्तै केयर गर्ने पो हुनुहुँदो रहेछ ।’

आफ्ना पालामा लुकेर अभिनय गरेकी लक्ष्मीले अहिलेका हिरोइनबाट धेरै कुरा सिक्न सकिने अनुभव गरेकी छन् । उनको बुझाइमा अहिलेका केटीहरु आफ्नो रोलका बारेमा आफैं अध्ययन गर्छन् ।

‘उनीहरु ट्वीटर, फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालमार्फत् धेरै ज्ञान हासिल गर्छन्,’ लक्ष्मी भन्छिन्, ‘कतिपय हिरोइन त सुटिङ स्पटमा पनि फुर्सद हुँदा पढेरै बिताउने गर्छन् ।’

 

हजुरआमाको काख

बुवा सानैमा बितेकाले लक्ष्मीको स्याहार उनकी हजुरआमाबाट भयो ।

हजुरआमा नेपालकै पहिलो नर्स । पाल्पा अञ्चल अस्पतालमा हजुरआमा नर्स थिइन् । ०१६ सालमा अञ्चल अस्पताल ‘मिसन’मा परिणत भयो, हजुरआमा काठमाडौं आइन् । केही समय वीर अस्पतालमा काम गरेपछि उनकी हजुरआमा पशुपति देवपाटनस्थित पशुपति होमियोप्याथिक हस्पिटलमा काम गर्न थालिन् ।

लक्ष्मीको मुलघर विमानस्थलपारि काँडाघारीमा थियो । हजुरआमा देवपाटनमा जागिर खान थालेपछि घर जान ढिला हुने भयो । अनि, उनको परिवार देवपाटनमै नयाँ घर किनेर बस्न थाल्यो ।

‘अहिलेजस्तो बसको सुविधा थिएन । घरजान ढिला हुने भएकाले हजुरआमासँगै हामी पशुपतिमै बस्न थाल्यौं,’ लक्ष्मी भन्छिन् ।

खासमा, त्यतिबेला पशुपति क्षेत्रमा दुइटा जात थिए । एकथरि भण्डारी, जसले वनकाली क्षेत्रभन्दा बाहिर गएर बच्चा जन्माउन पाउँदैनथे । अलि पर अहिलेको त्रिमुर्तीमार्गमा हरिजन टोल, पोडेहरु बस्थे ।

दुवै समुदायमा सुत्केरी बेथा लागेकालाई लक्ष्मीकै हजुरआमाले प्रसुती गराउँथिन् ।

‘मैले हुनेखाने र केही नहुने दुवैथरिको जीवनशैलीलाई नजिकवाट हेरेकी छु,’ लक्ष्मी भन्छिन् ।

सानैमा फन्टुस ‘कृष्ण’

डेढ दर्जन विज्ञापन, आधा दर्जन मेगा सिरियल, ६ सयभन्दा बढी लघु सिरियलमा अभिनय गरेकी गिरीले डेढ सयभन्दा बढी फिचर फिल्ममा काम गरेकी छन् । उनलाई अहिले पनि धेरैले ‘छुच्ची आमा’को भूमिका दिन्छन् ।

सानोमा पनि उनी हक्कि र छुच्ची थिइन् । पशुपति छेउछाउमा बस्ने ब्राम्हणकी छोरी । औंशी, पूणिर्मालगायत चाडपर्वमा धेरैले टीका लगाएर दक्षिणा दिन्थे । टीका लगाएर पाएको पैसा संकलन गर्न घरमा खुत्रुकेको व्यवस्था पनि थियो । तर, उनले कहिल्यै खुत्रुकेमा पैसा हाल्ने झण्झट कहिल्यै गरिनन् ।

बरु, गोजीमा पैसा हुनेबित्तिकै चकलेट र भटमास किन्थिन् र साथीहरुलाई लिएर शिवपुरी जान्थिन् । कुनै रुखको ढल्केको हाँगामा बस्थिन् र साथीहरुलाई भन्थिन्, ‘म भगवान कृष्ण, तिमीहरु चाहीं मेरा चेला ।’

उनीहरु खेलिरहेको ठाउँमा अन्य भक्तजन आउँथे । ती भक्तजनलाई लक्ष्मी रुखमै बसेर आदेश दिन्थिन्, ‘यो पशुपतिनाथको सानो रुप हो । यहाँ पैसा चढाउनुस् त ।’ भक्तजन खुकुरी भएको २५ पैसा चढाउँथे । लक्ष्मी र उनका साथी पैसा बोकेर चकलेट किन्न कुदिहाल्थे ।

जागिर छाडेर अभिनय

२०२८ सालतिर लक्ष्मी राष्ट्र बैंकमा जागिरे थिइन् ।

सानैमा बाबु गुमाएकी अनि पढाइमा तगडा भएकाले उनलाई माया गर्नेहरु धेरै थिए । दामोदर दवाडीकी पत्नीले उनलाई स्कुल पढाएकी थिइन् । दामोदर राष्ट्र बैंकमा थिए । पत्नीकी असल शिष्य भएकाले दामोदरको कृपाले उनले राष्ट्र बैंकमा जागिर पाएकी थिइन् ।

‘मलाई त्यतिबेला मायाले जागिर लाइदिनु भएको थियो । सोर्सफोर्स भन्ने केही हुन्नथ्यो,’ उनी सम्झिन्छिन् ।

‘हरेक दिन विदा माग्ने चिठ्ठी लिएर हाकिमकहाँ जाँदा असाध्यै दिक्क लाग्थ्यो । सधैं कति विदा माग्ने भनेर मैले राजीनामाकै चिठ्ठी लेखें ।’

राष्ट्र बैंकको जागिरे भएपछि परिवारमा छुट्टै खालको उत्साह थियो । मासिक तलबले घर चलाउन निकै सजिलो भयो । जागिरसँगै प्रतिभा प्रष्फुटनको अवसर पनि उनले पाइन् । सानैदेखि कविता लेख्ने र अभिनय गर्न मन पराउने उनलाई राष्ट्र बैंकको वाषिर्क उत्सवमा हुने कार्यक्रम पनि अभिनय तृष्णा मेट्ने गतिलो ‘प्लेट र्फम’ बन्यो ।

नाटक, टेलिशृंखला हुँदै विभिन्न चलचित्रमा उनको उपस्थिति बाक्लिँदै गयो । आज सुटिङ, तीन दिनको लागि विदा । तीन दिनपछि फेरि सुटिङ, थप चार दिन विदा ।

‘हरेक दिन विदाको चिठ्ठी लिएर हाकिमकोमा जाँदा असाध्यै दिक्क लाग्यो,’ लक्ष्मी सम्भिmन्छिन्, ‘सँधै कति विदाको लागि चिठ्ठी लेख्नु । मैले राजीनामा लेखें ।’

राजीनामा दिन लागेको थाहा पाएर उनलाई धेरैले त्यसो नगर्न सल्लाह पनि दिए । ‘जागिर नछोड्नु बरु विदा लिएरै काम गर्नु,’ धेरैको सल्लाह रह्यो ।

उनको मनले मानेन र राजीनामा दिने अन्तिम निर्णय गरिन् । उनलाई थाहा थियो, राष्ट्र बैंकमै रहेको भए जागिर छाड्ने बेलामा उनको हातमा एकमुष्ठ डेढ करोड आउने थियो ।

लाखौं लाखका बिटा गन्न नपाए पनि उनले त्यसभन्दा ठूलो धन पाएकी छन् । त्यो हो, दर्शकको अमूल्य माया । उनलाई जहाँसुकै जाँदा ‘लक्ष्मी दिदी’ रुपमा मानिसले चिन्छन् ।

‘यही हो मेरो उपलब्धि । म फराकिलो चिनारीमै सन्तुष्ट छु,’ उनी भन्छिन् ।

जीवन्त अभिनय

चलचित्र ‘सिमाना’मा दृष्टिविहीन महिलाको भूमिका निर्वाह गर्दा लक्ष्मी एक सातासम्म आँखा अस्पताल धाएकी थिइन् ।

एक साताको दौरान उनले धेरै बिरामी भेटिन् । उनीहरुसँग कुरा गरिन् र उनीहरुलाई नजिकबाट बुझेर अभिनय गरिन् ।

यही नै लक्ष्मीको जीवन्त अभिनयको शैली हो ।

‘नेपाली चलचित्रमा कहिलेकाहीं मुख्य पात्रलाई आँखा नदेख्ने, कान नसुन्ने भूमिकामा देखाइन्छ,’ लक्ष्मीको बुझाइ छ, ‘तिनले जीवन्त अभिनय गरिरहेको पाउँदिनँ ।’

आँखा नदेख्ने वा कान नसुन्नेलाई पात्र बनाएर केही फिल्म नबनेका होइनन् । तर, त्यस्ता फिल्मले ती समुदायलाई नै गिज्याएको उनको अनुभव छ ।

पुराना पुस्ताका प्रेम बानिया -कुमारीका निर्देशक)बाहेक सबैसँग काम गरेकी लक्ष्मीले नयाँ पुस्ताका पनि धेरै निर्देशकसँग काम गरिसकेकी छन् ।

पछिल्लो छिमलका केही निर्देशकको कामबाट उनी असाध्यै प्रभावित छिन् । तर, चलचित्र अझै ‘आवाजविहीनहरुको आवाज’ हुन नसकेको उनको ठम्याइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment