१७ मंसिर, काठमाडौं । नलिञ्चोक हेलिप्याड निर्माणको क्रममा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी र निर्देशक मुरारी भण्डारी दुई दिन हिरासतमै रहने भएका छन् ।
उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको थियो । आज समय अभावका कारण इजलासकै आदेश अनुसार उनीहरूलाई हिरासतमा राखिने विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए ।
उनका अनुसार, अब शुक्रबार मात्रै उनीहरूको बयान र थुनछेक बहस हुनेछ । ‘आज ढिलोगरी अभियोगपत्र दायर भएको हुनाले उहाँहरूको बयान तथा थुनछेक गर्ने कार्य समय अभावले नभ्याइने हुँदा पर्सि शुक्रबारमात्रै हुनेछ,’ उनले भने ।
उनका अनुसार महानिर्देशक अधिकारी र निर्देशक भण्डारीलाई बुधबार आरोपपत्रसहित अदालत उपस्थित गराइएको थियो । अख्तियारले उनीहरू दुई जनासहित अन्य पाँच जनाविरुद्ध अख्तियारमा मुद्दा दायर गरेको छ ।
अन्य पाँच जनाको हकमा भने अदालतबाटै म्याद जारी गरि कानुन बमोजिम गरिपाउँ भनी आरोपपत्र तयार भएको उनले जानकारी दिए ।
‘इजलासको आदेशले नै अख्तियारले नै हिरासतमा राख्छ । शुक्रबार उहाँहरूलाई उपस्थित गराएर बयान तथा थुनछेक बहस हुन्छ,’ प्रवक्ता लामिछानेले भने ।
भक्तपुरको नलिञ्चोक हेलिप्याड निर्माणका क्रममा भएको अनियमिततालाई लिएर अख्तियारले उनीहरूविरुद्ध अभियोगपत्र दायर गरेको हो ।
अधिकारी सहित क्यानका निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक निर्देशक सम्वृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, अभियन्त्र कन्सलटिङ प्रालि र सो प्रालिका प्रमुख विजय थापा, निजी इन्जिनियर गुरुदत्त अधिकारीलाई प्रतिवादी कायम गरिएको छ ।
कूल १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा बिगो कायम गरि मुद्दा दायर भएको उनले बताए ।
भक्तपुरको नलिन्चोकमा हेलिप्याड बनाउँदा अनियमितता भएको विषयमा पनि उजुरी परेपछि अख्तियारले अनुसन्धान गरिरहेको थियो ।
प्रतिक्रिया 4