२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो संस्करणको ब्रोडकास्टिङ राइट्स दिँदा नेपाल क्रिकेट संघ (क्यान) ले हेलचेक्र्याइँ गरेको पाइएको छ । टेलिभिजनलाई मार्केटिङ समय नै नदिई क्यानले विभिन्न प्रकारका हेलचेक्रयाइँ गरेर समय घर्काएको पाइएको हो ।
सामान्यतया : दुई महिना अघि नै आह्वान हुनुपर्ने टेन्डर क्यानले एक साताअघि मात्रै खुलाएको थियो ।
पहिलो बिडिङ फारम बाँड्दा नेपालको टेलिभिजनलाई पनि एक्सक्लुसिभ भनिएकोमा अन्तिम समयमा त्यसलाई परिवर्तन गर्दै नेपाली टीभीलाई ननएक्सक्लुसिभ दिने जानकारी क्यानले गराएको हो ।
तर, सुरुमा एनपीएलको ब्रोडकास्टिङका लागि टेन्डर खुलाउँदा नेपाली च्यानललाई पनि एक्सक्लुसिभ राइट दिने र अन्तर्राष्ट्रिय गतिविधि गरेको नेपाली च्यानलले मात्र बिड गर्न पाउने उल्लेख गरेको थियो ।
टेन्डर खुलाउने समयभन्दा दुई घण्टाअघि मात्रै इमेलमार्फत् क्यानले नेपाली टेलिभिजनहरूलाई एक्सक्लुसिभ राइट काटिएकोबारे जानकारी गराएको थियो । मार्केटिङको समय नदिई अन्तिम समयमा गरिएको यस्तो निर्णयबारे क्यानले स्पष्ट जवाफ दिन सकेको छैन ।
क्यानले जारी गरेको टेन्डर रद्दको सूचना :

मंगलबार खुल्नुपर्ने टेन्डर साँझमात्रै इमेल गरेर मिति सकिएको जवाफ दिइयो । एक दिनपछि सारेर खुलाइएको टेन्डरमा पनि क्यानले सबैभन्दा बढी दाबी गर्ने कम्पनीलाई अस्वीकार गरिदिएको छ । जसका कारण नेपाली टेलिभिजन च्यानलहरू असन्तुष्ट बनेका छन् ।
टीभी टूडेका एमडी विकास लामिछाने भन्छन्, ‘बिडिङ फारम बाँड्दा नेपालका टेलिभिजनलाई पनि एक्सक्लुसिभ भनिएकोमा अन्तिम समयमा त्यसलाई परिवर्तन गर्दै नेपाली टीभीलाई ननएक्सक्लुसिभ दिने जानकारी दिइयो ।’
टेन्डर प्रक्रियामा नै क्यानको निहित स्वार्थ देखिएको लामिछाने बताउँछन् ।
‘स्टार स्पोर्ट्स एक्सक्लुसिभ लगेको र नेपाली च्यानललाई एक्सक्लुसिभ दिन नमिल्ने भन्यो । यस्तै तेस्रो यो प्रक्रियामा क्यानको निहित स्वार्थ देखियो,’ उनले भने, ‘आफूलाई जतिबेला मन लाग्यो परिवर्तन गर्दै जाने जस्तो देखियो । आप्नो स्वार्थ पूरा हुँदा जे पनि गर्न नमिल्ने स्वार्थ नमिल्दा नगर्ने जस्तो देखियो ।’
क्यानले टेन्डर रद्द गरेर पुन: नयाँ टेन्डर आह्वान गरेको छ । शुक्रबारसम्म टेन्डरका लागि दाबी गर्ने र शनिबार खुलाउने क्यानले बताएको छ ।
तर सोमबारबाट एनपीएल सुरु हुँदैछ । यस्तो अवस्थामा नेपाली टेलिभिजनलाई मार्केटिङको लागि एक दिनको मात्रै समय दिएर क्यानले जबरजस्त टेन्डर खुलाउन लागेको हो ।
बुधबार मात्रै क्यानले टेन्डर हालेका कम्पनीलाई इमेल गरेर स्टार स्पोर्ट्सले एनपीएलको प्रत्यक्ष प्रसारण गर्ने र नेपाली टेलिभिजन च्यानललाई ‘नन एक्सक्लुसिभ राइट्स’ दिने जानकारी गराएको थियो ।
अन्तिम समयमा ब्रोडकास्टिङ राइट्सको घोषणा गर्दा क्यानमा भेस्टेस्ट इन्ट्रेस्ट देखिएको अर्का एक टेलिभिजनका सञ्चालक बताउँछन् ।
बुधबार बिड ओपनका लागि क्यानको मुख्यालय मूलपानी पुगेका बिडरहरू सोही विषयमा कुरा नमिलेपछि त्यतिकै फर्किएका छन् ।
‘क्यानले आफ्नो स्वार्थ अनुसार काम गरेपछि आज सबै कुरा क्यान्सिल भयो । त्यतिकै फर्कियौं,’ एक टेलिभिजन सञ्चालकले भने । क्यानले अन्तिम समयमा बिड ओपन गर्दा मार्केटिङका लागि समय पनि नहुने ती सञ्चालकको गुनासो छ ।
क्यानले भित्रभित्रै सबै कुरा सेटिङ गरेर अन्तिम समयमा मात्र ब्रोडकास्टिङ राइट्सको बिड ओपन गरेका कारण केही शंका उब्जिएको ती सञ्चालक बताउँछन् । यस विषयमा बुझ्न क्यान सचिव पारस खड्कालाई सम्पर्क गर्दा उनको फोन उठेन ।
बुधबार बिहान क्यानले टेन्डर हालेका कम्पनीलाई पठाएको इमेल :

प्रतिक्रिया 4