Comments Add Comment

स्थानीय तहमा ११ दलको स्थानः एमाले ४० प्रतिशत, कांग्रेस ३२

माओवादी १५ प्रतिशत, नेमकिपा अन्तिममा

२८ असोज, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि समानुपातिक उम्मेदवार मनोनयनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले सबै ७५३ स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । शुक्रवार आयोगले आधिकारिक रुपमा सार्वजनिक गरेको निर्वाचन परिणाम अनुसार तीन चरणमा गरेर देशभर जम्मा ३५ हजार ४१ जनप्रतिनिधि चुनिएका छन् ।

सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाको वडा नम्बर ६ तिङ्लाबाहेक अन्य सबै वडामा निर्वाचन सम्पन्न भएको छ । तिङ्लामा भने स्थानीय तह बिभाजनमा अशन्तुष्टि जनाउँदै जनताले नो भोट नो क्याण्डिेट अभियान चलाएका कारण मतदान हुन सकेन ।

समग्र निर्वाचन परिणामले नेपालका राजनीतिक दलहरुको आकार परिवर्तन गरिदिएको छ । संविधानसभा २०७० को निर्वाचनबाट पहिलो बनेको नेपाली कांग्रेस २०७४ को स्थानीय चुनावबाट दोस्रो बनेको छ ।

२०७० को चुनावमा दोस्रो बनेको एमाले यसपटक पहिलो बनेको छ । माओवादी केन्द्रले आफ्नो तेस्रो स्थान कायमै राखेको छ भने २०७० मा चौथो शक्ति बनेको राप्रपा नेपाल हाल पार्टी एकीकरणबाट राप्रपा बनेपछि सातौं स्थानमा धकेलिएको छ ।

राप्रपाको चौथो स्थानमा संघीय समाजवादी फोरम पुगेको छ भने पाँचौ स्थानमा राजपा पुगेको छ । बिजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम छैटौं स्थानमा रहदा राप्रपा भने सातौं स्थानमा पुगेको छ । आठौं स्थानमा राष्ट्रिय जनमोर्चा रहेको छ भने नवौं स्थानमा नेपाली जनता दल,दशौंमा नेपाल मजदूर किसान पार्टी र एघारौं स्थानमा नेपाल मजदूर किसान पार्टी रहेको छ ।

पार्टीहरुले स्थानीय तहका प्रमुख,उपप्रमुख र वडाध्यक्ष सहित सदस्यहरु जितेका आधारमा उनीहरुको संख्या निर्वाचन आयोगले उपलव्ध गराएको छ । जस अनुसार सबै पदमा सबैभन्दा बढि जितेर एमालेले पहिलो स्थान कायम राखेको छ ।

एमालेःसबै पदमा पहिलो शक्ति

नेकपा एमालेले दुई महानगरपालिका २ महानगरपालिका र ७ उपमहानगरपालिका सहित १२३ नगरपालिकाको प्रमुख जितेको छ । त्यस्तै १७१ गाउँपालिकाको अध्यक्ष जितेर दुवै निकायमा पहिलो बनेको छ ।

एमालेले कुल स्थानीय तहको प्रमुख जितेको छ । पछिल्लो पटक मुस्ताङका एक र डोल्पाका २ स्थानीय तहमा स्वतन्त्र उम्मेदवार बनेर जितेका प्रमुखहरु एमाले प्रवेश गरेपछि उसको आन्तरिक खातामा प्रमुखेको संख्या २९७ पुगेको छ । निर्वाचन आयोगले भने उनीहरुलाई स्वतन्त्रको हैसियतमै राखेको छ ।

त्यस्तै एक महानगरपालिका र ७ उपमहानगरपालिका सहित १३७ नगरपालिकाको उपप्रमुखमा एमालेका उम्मेदवार बिजयी भएका छन् । प्रमुखमा १२३ नगरपालिका जितेको एमालेले उपप्रमुखमा भने थप १४ नगरपालिकामा उपस्थिति जनाएको छ ।

त्यस्तै १९४ गाउँपालिकाको उपाध्यक्षमा एमालेका उम्मेदवार जितेका छन् । १७१ गाउँपादिलकाको प्रमुख जितेको एमालेले थप २३ गाउँपालिकामा उपाध्यक्ष जितेको हो ।

एमालेले कुल ७५३ स्थानीय तहमध्ये ३३१ ठाउँमा उपाध्यक्ष जितेको छ । प्रमुखको तुलनामा एमालेले ३७ ठाउँमा उपप्रमुख बढि जितेको छ । एमालेले २५६० वडामा वडाध्यक्ष जितेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै २७७६ महिला सदस्य,२६८० दलित महिला सदस्य र ५४५८ खुला वडा सदस्य सहित एमालेले देशभरका ३५०१ जनजप्रतिनिधिमध्ये १४ हजार ९८ पदमा बिजय हासिल गरेको छ । यो भनेको ४० दशमलब २३ प्रतिशत हो ।

कांग्रेसःएमालेको पछि-पछि

नेपाली कांग्रेसले २ महानगरपालिका,२ उपमहानगरपालिका सहित १०५ नगरपालिकाको प्रमुख जितेर दोस्रो स्थानमा रहेको छ । नगरपालिकातर्फ प्रमुखमा एमाले र कांग्रेसबीच १८ स्थानको फरक छ ।

कांग्रेसले १६१ गाउँपालिका अध्यक्ष जितेको छ । कुल मिलाएर कांग्रेसले ७५३ स्थानीय तहमध्ये २७४ स्थानीय तहको प्रमुख जितेर एमालेभन्दा २० स्थान कम सिट सहित दोस्रो स्थानमा रहेको छ ।

कांग्रेसले ८४ नगरपालिकाको उपप्रमुख र १६१ उपाध्यक्ष सहित देशभरमा २४५ स्थानीय तहको उपप्रमुख जितेको छ । यो भनेको एमाले भन्दा ८६ स्थान कम हो ।

वडाध्यक्षतर्फ भने कांग्रेस एमाले भन्दा करीव ३ सय स्थान तल छ । कांग्रेसले २२८६ वडाध्यक्ष,२१५७ दलित महिला सदस्य,२१०१ महिला सदस्य र ४४२३ खुला सदस्य जितेको छ । कुल ३५ हजार ४१ पदमध्ये काग्रेसले ११ हजार ४५७ पदमा बिजय हासिल गरेको छ ।यो भनेको ३२ दशमबल ६९ प्रतिशत हो ।

माओवादी केन्द्रःधेरै पछाडि तर तेस्रो

माओवादी केन्द्रले एक महानगर सहित ३४ नगरपालिकाको प्रमुख र ७२ गाउँपालिका अध्यक्ष सहित १०६ स्थानीय तहको प्रमुख जितेर तेस्रो स्थान सुरक्षित गरेको छ । त्यस्तै ४३ नगरपालिकामा उपप्रमुख र ६८ गाउँपालिकामा उपाध्यक्ष जितेर उपप्रमुखतर्फ माओवादीले १११ स्थानीय तहमा उपप्रमुख जितेको छ ।

वडाध्यक्षतर्फ माओवादीले कांग्रेसभन्दा आधा अर्थात ११०३ वडा जितेको छ भने १०३५ महिला सदस्य,१०३० दलित महिला र २०५६ खुला सदस्य गरि माओवादीले कुल ५ हजार ४४१ पदमा बिजय हासिल गरेको छ । यो भनेको १५ दशमलब ५२ प्रतिशत हो ।

संघीय समाजवादी फोरमःचौथो शक्ति

उपेन्द्र यादव नेतृत्व्को संघीय समाजवादी फोरम १० नगरपालिका प्रमुख र २४ गाउँपालिका अध्यक्ष सहित ३४ स्थानीय तहमा प्रमुख जितेर चौथो शक्ति बन्न सफल भएको छ । फोरमले ६ नगरपालिकामा उपप्रमुख र २६ गाउँपालिकामा उपाध्यक्ष सहित ३२ स्थानीय तहमा उपप्रमुख जितेको छ ।

फोरमले २६२ वडाध्यक्ष,२९० महिला सदस्य,२८१ दलित महिला सदस्य र ५४० खुला सदस्य गरि कुल १ हजार ४३९ पदमा बिजय हासिल गरेको छ । यो भनेको ४ दशमलब १ प्रतिशत हो ।

राजपाःफोरमको पछि पछि

पहिलो र दोस्रो चरणको स्थानीय तह चुनाव बहिस्कार गरेको राजपा १४ नगरपालिका प्रमुख र ११ गाउँपालिका अध्यक्ष सहित २५ स्थानीय तहको प्रमुख जितेर पाँचौ शक्ति बनेको छ ।

राजपाले १७ नगरपालिकामा उपमेयर,१३ गाउँपालिका उपाध्यक्ष सहित ३० स्थानीय तहमा उपप्रमुख जितेको छ । १९४ वडाध्यक्ष ,२११ महिला सदस्य,२१४ दलित महिला सदस्य र ४३७ खुला सदस्य सहित राजपाले कुल ११११ पदमा बिजय हासिल गरेको छ । यो भनेको ३ दशमलब १७ प्रतिशत हो ।

साना दल र स्वतन्त्रको भागमा २२ सिट

फोरम लोकतान्त्रिकले १ नगरपालिका प्रमुख र ४ गाउँपालिका अध्यक्ष सहित ६ स्थानीय तह जितेर छैटौं स्थान सुरक्षित गरेको छ । राप्रपाले एक उपमहानगरपालिका प्रमुख र तीन गाउँपालिका अध्यक्ष सहित ४ स्थानीय तह जितेर सातौ स्थानमा छ ।

उसलाई ३ स्थानीय तह जितेको राजपाले आठौं स्थानमा पछ्याइरहेको छ । नेपाली जनता दलले एक नगरपालिका र एक गाउँपालिका सहित २ स्थानीय तहको प्रमुख जितेर नवौं स्थान सुरक्षित गरेको छ भने २ गाउँपालिका प्रमुख जितेर नयाँ शक्ति पार्टी दशौं स्थानमा छ । नेपाल मजदूर किसान पार्टी १ नगरपालिका जितेर एघारौं स्थानमा रहेको छ । अन्य ४ स्थानमा स्वतन्त्रले जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment