+
+

पशुपालनबाट लाभ लिँदै शिक्षित युवा

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २९ गते १०:५७


२९ असोज, पथरी । मोरङको उर्लाबारी–४ का विज्ञान ढुंगानाले गाईपालन गरेर वार्षिक १० लाख  रूपैयाँ आम्दानी गरिरहेका छन् । कृषि र पशुपालन व्यवसायबाट पलायन हुँदै सयौँ युवा जनशक्ति भविष्य निर्माणको सपना बोकेर खाडीतर्फ विदेशिइरहेका बेला उनले स्वदेशमै मेहनत गरेर वार्षिक १० लाखभन्दा बढी कमाइ गरेका हुन् ।

विसं २०६१ मा दमक बहुमुखी क्याम्पस झापाबाट बिबिएस उत्तीर्ण गर्नुभएका ढुंगाना आफन्त र नातेदारलाई मात्र होइन पूरै समाजलाई चुनौती दिँदै कृषि कर्ममा होमिएका छन्। हामीकहाँ पढेलेखेका व्यक्तिले जागिर खानुपर्छ, पैसा कमाउन युरोप अमेरिका जानुपर्छ भन्ने सामाजिक मान्यता स्थापित हुँदै गएको छ । तर त्यो मानसिकतालाई उनले तोडेका छन् ।

विसं २०६६ मा भारतको हरियाणाबाट ब्राउन सुइस जातका दुई वटा गाई ल्याएर गोठमा बाँधेपछि पशुपालनमा उनको रुचि झनै बढ्यो । आठ वर्षको अवधिमा उनको गोठ ब्राउन सुइस, क्राउनडाउन, होलस्टेन, इजेट थारोपकार, जर्सी, लियङ्दी जातका दुधालु गाईले भरिभराउ छ । उनी भन्छन्, “६० वटा गाई छन्, जसमध्ये १८ वटा दुहुना छन् । १९ वटा ब्याउने छन् भने अन्य कोरली छन् । “अहिले दैनिक १५० लिटर दूध उत्पादन हुन्छ ।

त्यसो त ढुंगानाले माता पार्वतादेवी एण्ड आविष्कार बहुउद्देश्यीय कृषि फार्म नै दर्ता गरेका छन् । उनको फार्मबाट उत्पादित दूध उर्लाबारी, तरहरा, विराटनगर, धरान, काँकडभिट्टालगायतका शहरमा दैनिक बिक्री हुने गरेको छ । भन्छन्, “खर्च कटाएर वार्षिक रु सात लाख आम्दानी हुने गरेको छ ।”

ढुंगाना थप्छन् , “साथीभाइ मात्र होइन आफन्त र नातागोताले पनि विदेश जान सुझाउँछन् तर आफ्नो देशमा दुःख, सुख साट्ने परिवार साथमा छ ।”

फेरि विदेशमा पैसाका लागि काम गर्नै पर्छ । व्यवसाय शुरु गर्दा मलिन अनुहार बनाएका बुबाआमा मात्र होइन आफन्त नातागोता र साथीभाइ अहिले खुशी छन् ।

गाउँ समाज पनि विज्ञानको पशुपालनप्रतिको मोहबाट प्रशन्न छ । ११ जना कामदारका साथ दैनिक सँगै खटेर काम गर्नुहुन्छ । गोबर सोहोर्ने, गाई दुहुने मात्र होइन चारोको प्रबन्ध मिलाउने काममा पनि नी खट्छन् ।

भन्छन्, “सय माउ पाल्ने योजना छ ।” ढुंगानाको फार्ममा अहिले गाईका अतिरिक्त २९९ वटा कुखुरा, ५० वटा बाख्रा र १२ वटा टर्कीसमेत रहेका छन् । यी सबैबाट वार्षिक रु १२ लाख आम्दानी हुने उनी बताउँछन् ।

दूध डेरी उद्योगले प्रतिलिटर रु ४८ मा किनिदिने गरेको छ । अझ गोबर मलबाट झनै राम्रो आम्दानी छ । गोबर प्रतिटिपरको रु १० हजार र प्रति ट्र्याक्टर रु चार हजारले बिक्री हुने गरेको छ ।

वार्षिक रु दुई लाख गोबर मलबाट मात्र आम्दानी हुने उनको भनाइ छ । नजिकै पशु प्राविधिक नहुँदा विभिन्न समस्या झेल्नु परेपछि उनले आफैँ भेटेनरी शिक्षा अध्ययन गरे । अहिले उनी गाईलाई लाग्ने सामान्य रोगको आफैँ उपचार गर्छन् । ढुंगानाको कामलाई उनकी पत्नी भावनाले पनि सघाउँदै आएकी छिन् ।

दुई वटा गाईको रु दुई लाख ५० हजार र फार्म निर्माणमा रु २२ लाख खर्चेका ढुंगानाको फार्ममा अहिले रु ५० लाख मूल्य बराबरका गाई रहेका छन् ।

पछिल्लो समय यस क्षेत्रमा लाग्न चाहने किसानलाई निःशुल्क तालीम तथा परामर्श दिँदै आएको जिल्ला पशु सेवा कार्यालय मोरङले यस वर्षको उत्कृष्ट कृषक घोषणा गर्दै ढुंगानालाई सम्मान गरेको छ । नगद रु पाँच हजारसहित प्रमाणपत्रले सम्मानित भएपछि ढुंगानाको आँट र इच्छा शक्ति अझ बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?