+
+
मौद्रिक नीति समीक्षा :

बैंकहरूलाई सेयरमा लगानी गर्न प्रोत्साहन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते १५:१७

४ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर तथा अन्य धितोपत्रमा लगानी गर्नका लागि प्रोत्साहनमूलक नीति बनाइदिएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयरसहितका अन्य क्षेत्रमा गरेको लगानीबाट बाहिरिनका लागि सहज नीति बनाइदिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरूले १ वर्ष अवधि व्यतित भइसकेको लगानीबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था समीक्षामा गरिएको छ । यो व्यवस्थाले लगानीको १ वर्ष पूरा भइसकेपछि  बैंकहरूले पर्याप्त रकमको सेयर तथा अन्य लगानी बिक्री गर्न सक्ने छन् ।

यसअघिसम्म १ वर्ष व्यतित भइसकेको लगानीबाट प्राथमिक पूँजीको १ प्रतिशत मात्रै बेच्न पाइने व्यवस्था थियो । यसले गर्दा चाहेकै रकमको सेयर तथा अन्य धितोपत्र बेच्न समस्या हुँदा बैंक तथा वित्तीय संस्थाहरु लगानी गर्नका लागि नै हच्किरहेका थिए । बैंक तथा वित्तीय संस्थहरु हच्किँदा धितोपत्रको मागलाई संकुचित गराएको थियो ।

तर अब लगानी बिक्रीको सीमा नै बढाइएपछि बैंकहरुलाई सेयरमा लगानी गर्नका लागि प्रोत्साहन मिल्नेछ । ‘लगानीबाट बाहिरिनका लागि सहज व्यवस्था भयो, यसले सेयरमा मात्रै होइन, अरु क्षेत्रमा पनि लगानी गर्न प्रोत्साहन नै गर्छ’ एक बैंकका सीईओले भने ‘तर लगानी कुन कुन क्षेत्रमा गर्छन् भन्ने विषय बैंकका आफ्नै योजना हुन्छन् ।’

चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल प्राथमिक पूँजी ७ खर्ब १६ अर्ब रुपैयाँ बराबर छ । सेयर, डिवेन्चर र सामुहिक लगानी कोषमा मात्रै बैंकहरुले कुल प्राथमिक पूँजीको ३० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । हाल पर्याप्त कर्जा प्रवाह नभइरहेको अवस्थामा बैंकहरुले सेयरमा लगानी बढाउन सक्ने र यसले बजार बढ्नमा टेवा पुग्ने अनुमान गरिएको छ ।

सेयर बजारसँग सम्बन्धित अन्य विषयमा भने मौद्रिक समीक्षाले छोएको छैन । सेयर कर्जा एक व्यक्तिका लागि अधिकतम १५ करोड र संस्थालाई २० करोडको सीमा, सेयर कर्जाको जोखिमभार ठूलो कर्जामा १२५ प्रतिशत र सानोमा १०० प्रतिशतको व्यवस्थालाई यथावत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?