Comments Add Comment

भिडियोमार्फत अभियुक्तको म्याद थप

३० असोज, रुपन्देही । मुलुकमै पहिलो पटक प्रहरी कार्यालय रुपन्देहीबाट अनलाइन लाइभ ‘भिडियो कन्फ्रेन्स’ मार्फत अभियुक्तको म्याद थप गर्ने कार्य सुरु भएको छ ।

सुरक्षाको समस्या, जनशक्ति बचत, काम गर्ने सहजताका लागि मुलुकमै पहिलो पटक जिल्ला प्रहरी कार्यालय रुपन्देही र रुपन्देही जिल्ला अदालतको पहलमा ‘भिडियो कन्फ्रेन्स’ मार्फत अभियुक्तहरु म्याद थप गर्ने कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

विगतमा विभिन्न आरोपमा पक्राउ परेका आरोपीहरुलाई प्रहरीले अदालतमा उपस्थिति गराई म्याद गराउने गरेको थियो । तर, अबदेखि रुपन्देही जिल्लामा यो समस्या समाधान भएको छ ।

प्रहरीको कार्यमा सहजता ल्याउनका लागि रुपन्देही जिल्ला अदालतले प्रहरीलाई लाइभ भिडियो कन्फ्रेन्सको सुविधा दिएको हो ।

मानव बेचबिखन तथा ओसारपसारको मुद्दाका अभियुक्त हर्कबहादुर थापालाई १० दिनको म्याद थपको निवदेनसहित रुपन्देही प्रहरीले रुपन्देही जिल्ला अदालतमा फाइल पेश गरेको थियो ।

थापाको मन्जुरीमै रुपन्देही जिल्ला अदालतका जिल्ला न्यायाधिश नरिश्वर भण्डारीले ७ दिनको म्याद थप गरेर सेवाको शुभारम्भ गरे ।

अभियुक्तले जिल्ला प्रहरी कार्यालयमै बसेर लाइभ ‘भिडियो कन्फ्रेन्स’ मार्फत दिएको स्विकृतको आधारमा जिल्ला न्यायाधिशले ७ दिनको म्याद थप गरेका हुन् ।

यो सेवा अभियुक्तलाई अदालतमा नल्याई म्याद थप गर्न रुपन्देही जिल्ला अदालतले ल्याएको लाइभ भिडियो कन्फ्रेन्सले सम्भव भएको हो । जस अन्तर्गत अभियुक्तलाई जिल्ला अदालतमा नल्याई जिल्ला प्रहरी कार्यालयबाटै म्याद थप गर्न सकिन्छ ।

प्रहरी कार्यालयबाटै यसरी हुन्छ म्याद थप

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको थुनुवा कक्षमा रहेको अभियुक्तहरुलाई कार्यालयमा निर्मित लाइभ भिडियो कन्फ्रेन्स कक्षमा ल्याउने गरिन्छ ।

उता जिल्ला अदालतमा म्याद थप गर्ने सम्बन्धित मुद्दाका सम्बन्धित न्यायाधिश बसेका हुन्छन् । अदालतमा स्कृन  र प्रहरी कार्यालयमा ल्यापटप राखिएको छ ।

प्रहरीले अभियुक्तको मुद्दाको फाइल अदालतमा पेश गरेको हुन्छ । अभियुक्त कक्षमा पुगेर क्यामरा जडित ल्यापटप अगाडि बसेपछि न्यायाधिशले अभियुक्तको मुद्दा फाइल हेर्दै अभियुक्तसगँ अनलाइनमा लाइभ कुराकानी गरेपश्चात उचित म्याद थप गर्दछन् ।

सोमबारबाट रुपन्देहीमा सुरु भएको यो सुविधाले प्रहरीको कार्य दक्षता र कार्य सम्पादनमा थप मद्दत पुग्ने विश्वास लिइएको छ ।

सर्वोच्च अदालतले पनि अहिले स्मार्ट न्यायापालिकाको परिकल्पना गरेको आधारमा रुपन्देहीबाट लाइभ भिडियो कन्फ्रेन्स सेवाको प्रारम्भ गरिएको हो ।

न्यायापालिकाको काम कार्वाहीलाई सूचना तथा प्रविधिमैत्री बनाई यसलाई अझ ब्यवस्थित र छिटो छरितो बनाउन लाईभ भिडियो कन्फ्रेन्सको प्रबिधि ल्याइएको रुपन्देहीका जिल्ला न्यायाधिश नरिश्वर भण्डारीले बताए ।

यो काम जिल्ला अदालत एकल प्रयासमा सफल हुने काम नभएको कारण यसमा जिल्ला प्रहरी कार्यालयले पनि सहयोग गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment