Comments Add Comment

यसरी बनाइँदैछ आइतबारबाट ठमेललाई ‘भेहिकल फ्रि जोन’


३ कात्तिक, काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय ठमेल आइतबारदेखि ‘भेहिकल फ्रि जोन’ अर्थात सवारी साधनमुक्त क्षेत्र हुने भएको छ । ठमेललाई पैदलयात्रा गर्ने क्षेत्र अर्थात वाकिङ स्ट्रिट बनाउनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न तयारी गरिरहेको छ ।

नरसिंहचोकबाट पश्चिम, जेपी मोडबाट उत्तर, सातघुम्तीबाट दक्षिण र ठमेलको चोकबाट पश्चिम-दक्षिणका क्षेत्र समेटेर भेहिकल फ्री जोन घोषणा गरिएको छ । यस बाहेकका ठमेल क्षेत्रका सडकलाई पनि ‘वान-वे’ गर्न लागिएको छ ।

ठमेल विकास परिषदको अग्रसरता तथा महाशाखाको नेतृत्वमा ठमेलको मुख्य क्षेत्रलाई ‘भेहिकल फ्रि जोन’ बनाउन लागिएको हो । अब आइतबारदेखि सवारीमुक्त भनेर तोकिएको क्षेत्रमा अत्यावश्यक सवारी साधनमात्रै प्रवेश पाउनेछन् ।

पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक सवारी साधनलाई प्रवेशमा रोक नलगाइने ट्राफिक प्रहरीले जनाएको छ । अन्य सबै प्रकारका सवारीको प्रवेशमा रोक लाग्नेछ ।

यसबाहेक अन्य सवारी साधनलाई प्रवेश गर्न नदिइने ट्राफिक महाशाखाका बरिष्ठ प्रहरी उपरीक्षक उमेश रञ्जितकारले अनलाइनखबरलाई जानकारी दिए ।  ठमेल वाकिङ स्ट्रिटका रूपमा विकास गर्ने स्थानीयको योजनामा महाशाखाले सहयोग गरेको हो ।

कुन-कुन सडकमा जान पाइन्छ ? 

अब ठमेलभित्र जाने सवारीले त्रिदेवी मार्गबाट प्रवेश पाउनेछन् । ट्राफिकले ठमेल क्षेत्रमा जथाभावी हुने पार्किङलाई पनि रोक्ने बताएको छ । वान-वेहरुमा पनि विशेष कडाइ गरिनेछ । त्यसका लागि ट्राफिकले अहिले विभिन्न ठाउँमा ट्राफिक सिग्नल राखिरहेको रञ्जितकारले बताए ।

त्यहाँका पसल तथा होटलमा सामान ओसारपसार गर्ने सवारीलाई रातको १०बजेदेखि विहान ५ बजेसम्म चल्न दिइनेछ ।

भेहिकल फ्री जोनभित्र घर भएकाहरुलाई सवारी साधन लैजान पाउने गरी विशेष व्यवस्था गर्ने योजना छ । अहिलेसम्म उनीहरुलाई कस्तो खालको सुविधा दिने भन्ने निर्णय भने नभएको महाशाखाले जानकारी दियो ।

ट्राफिकले ज्याथा, त्रिदेवी मार्ग दुईतर्फी हुने जनाएको छ । थँहिटीबाट ज्याथा आउने बाटो पनि ‘टु-वे’ गरिनेछ ।

बैशाली होटलबाट जाँदा दायाँ मोड्न पाइने छैन । क्षेत्रपाटीबाट जेपी मोड हुँदै थँहिटीसम्म पुग्न मोटरसाइकललाई टु-वे प्रयोग गर्न दिइनेछ ।

ठमेलबाट बाहिरिने मोटरसाइकलले सातघुम्ती, सोह्रखुट्टे ओरालो, क्षेत्रपाटी, भगवतीबहाल,अमृत साइन्स क्याम्पसमार्ग र थहिँटीबाट दाहिने भएर जान पाउने छन् ।

पार्किङको व्यवस्थापन हुँदै

काठमाडौं महानगरपालिकाले ठमेललाई ‘वाकिङ स्ट्रिट ‘ कार्यान्वयन गराउन मनाङ होटलदेखि काठमाडौं गेस्ट हाउस र वैशाली होटलदेखि ठमेल मार्ग तथा भगवानपाउ मार्गसम्म सडक कालोपत्रे गर्दैछ ।

सवारी निषेध गरिएको क्षेत्रमा धेरै व्यापारिक स्टल र फर्महरु छन् । होटलर रेष्टुरेन्टको संख्या अधिक छ भने क्लब, हस्तकला, ट्राभल एजेन्सी, मनी एक्सचेन्ज, सजावटका पसल लगायत पनि छन् ।

ठमेल आउने नयाँबजारतर्फको रोडसहित सोह्रखुट्टे-शोभाभगवती सडक र बालाजु रिङरोडमा पार्किङको व्यवस्था मिलाउने तयारी छ ।

लैनचौरस्थित समाज कल्याण परिषदको खाली जग्गामा पनि पार्किङ गराउन वडा कार्यालयहरुले छलफल अघि बढाएको ट्राफिक प्रवक्ता रञ्जितकारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment