Comments Add Comment

शालिक निर्माणमा प्रतिस्पर्धा,संरक्षणमा वेवास्ता

३ कात्तिक, रामेछाप । जिल्लामा शहीद, नेता तथा साहित्यकारहरुको शालिक बनाउने प्रतिस्पर्धा देखिए पनि त्यसको संरक्षणमा भने सरोकारवालहरु उदासिन देखिएका छन् ।

उचित संरक्षण नहुँदा जिल्लामा निर्माण भएका राष्ट्रिय व्यक्तित्वहरुको शालिकको उपेक्षा गरिए जस्तै भएको छ ।

रामेछाप जिल्ला सबैभन्दा पहिला २०५४ को स्थानीय निर्वाचनमा निर्वाचित भएका तत्कालीन जिल्ला विकास समितिले रामेछापका तीन लालहरु: शहीद गंगालाल श्रेष्ठ, नेपाली साहित्यका प्रथम शहीद सुब्बा कृष्णलाल र नेपाल कम्यूनिष्ट पार्टीका सँस्थागत महासचिव पुष्पलाल श्रेष्ठको शालिक मन्थलीमा राख्ने निर्णय भयो ।

निर्णयअनुसार नै शालिकहरु ल्याइयो । शालिक राख्ने ठाउँको विवादको कारण धेरै समय शालिक त्यतिकै थन्किए ।

अन्ततः मन्थलीको हाटेचौर नजिकै गढवारीको तामाकोसी किनारको खालि चौरमा शालिक राख्ने सहमति भयो र त्यही लगेर तीन लालको शालिक स्थापना गरियो ।

शालिक स्थापना गरेपछि निर्माण समितिको काम सकियो । त्यसपछि त्यसको संरक्षण तथा सो क्षेत्रको विकासको लागि समितिको कुनै ध्यान गएको छैन् ।

सुख्खा चौरमा लगेर राखिएको शालिकको वरिपरि न त पार्क न बस्ने अन्य कुनै ठाउँ बनाउने कुरामा सरोकारवालाको ध्यान पुगेको छ ।

यतिसम्मकि वर्षाैसम्म रंगरोगन समेत नगर्दा शालिक पुरै खुइलिएर गए । लेखिएका नाम समेत नचिनिने भए । त्यस्तो दुरावस्था भए पछि स्थानीयले रंगरोगन गराएर नामसम्म चिनिने बनाएका छन् ।

शालिक निर्माण भए पनि त्यसको व्यवस्थापनको कुनै काम नहुँदा राष्ट्रिय व्यक्तित्वको नै अपमान जस्तै हुने स्थानीय रामप्रसाद देवकोटाले बताए ।

तीन लालको शालिकको दुरावसस्था हेर्न पुष्पलालका छोरा पनि पुगे । उनले तीनलालको शालिक व्यवस्थापनको लागि सहयोग गर्ने बाचा पनि गरेर हिँडेका थिए । तर, त्यसपछि न उनी फर्किएनन् ।

महाकवी र विपीको शालिकको हालत पनि उस्तै 

तीन लालको शालिकको मात्र है जननेता विश्वेश्वरप्रसाद कोइरालाको शालिकको पनि उस्तै छ ।

निकै उत्साहको साथ मन्थलीको तामाकोसी सहकारी अस्पताल नजिकै निर्माण गरिएको विपीको शालिकको निकै तामझामको साथ उद्घाटन पनि गरियो । तर, त्यस पछि शालिकमा न त रंग रोगन गरिएको छ न मर्मत संभार नै ।

शालिकको तल्लो पटि्टको भाग चर्किएर भत्कन लागेको छ । त्यसको मर्मतको लागि सरोकारवालाको ध्यान गएको छैन । विपीको शालिक दोवाटोमा फलिएको उपयोग विहिन वस्तु जस्तै भएको छ ।

मन्थलीको मुख्य बजार मन्थली भञ्ज्याङमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिकले पनि त्यहि नियति भोग्यो ।

जनस्तरबाट अति उत्साहका साथ मध्य बजारमा निर्माण गरिएको सो शालिकमा वर्षको एकदिन लक्ष्मी जयन्तीको दिन पनि रंग रोगन र सरसफाई गर्न समेत हानाथाप हुने गरेको छ ।

यस अघि रहेकेा ढुङ्गाको शालिकलाई प्रतिस्थापन गरी यस वर्ष मात्र देवकोटाको ढलौटको शालिक स्थापना गरिएको छ । महाकवि देवकोटाको शालिकले समेत अव्यवस्थाको नियति भोगिरहेको छ ।

मन्थलीकै खाँदवारी चोकमा जननेता मदन भण्डारी र उनीसँगै दाशढुँगामा ज्यान गुमाएका एमाले नेता जीवराज आश्रतिको पनि शालिक निर्माण गरिएको छ ।

निर्माण भएको प्रारम्भिक चरण नै भएर होला सायद सो शालिकको भने अहिलेसम्म राम्रै व्यवस्था भएको छ । शालिकको कम्पाउण्ड, वाल लगायतको व्यवस्था गरिएको छ ।

गंगालाल र पुष्पलालको जन्मथलो रामेछाप नगरपालिकाको भंगेरीमा निर्माणको लागि लगिएको २ लालको शालिक निर्माण गर्नु अघि नै बेवारिसे बनेको छ ।

शालिक निर्माणको लागि मूर्ति बनाएर भंगेरी पुर्याएको २ वर्ष विति सक्यो तर निर्माण कार्य नहुँदा मूर्ति त्यतिकै फालिएको छ ।

त्यहाँ पुग्ने प्रतिष्ठिति राष्ट्रिय व्यक्तित्व भनिएकाहरु त्यही फालिएको मूर्तिमा फोटो खिचेर सामाजिक सञ्जालमा फोटो हाल्न पछि पर्दैनन् । तर, शालिक निर्माण गर्ने र व्यवस्थापन गर्ने तर्फ उनीहरुको ध्यान गएको पाईदैन ।

शालिक बनाउन प्रतिश्पर्धा गर्ने तर त्यसको संरक्षणमा ध्यान नदिने समस्या नै बनेको नेपाल पत्रकार महासंघ रामेछाप अध्यक्ष रमेश ढुँगेल बताउँछन् ।

‘शालिक नबनाउँदा बरु केही फरक पर्दैन तर, बनाएपछि त्यसको संरक्षण भएन भने त्यो राष्ट्र र राष्ट्रिय व्यक्तित्वकै अपमान हो । यसमा सालिक बनाउनु अघि नै ध्यान दिनु पर्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment