Comments Add Comment

ओखलढुंगाको चुनावः रामहरि र यज्ञराजको रोचक भिडन्त

एमाले महासचिवको गृहजिल्लामा कसले जित्ला ?


६ कात्तिक, रामेछाप । दोस्रो संविधानसभा र त्यसपछि रुपान्तरित व्यवस्थापिका संसदमा प्रभावकारी प्रस्तुतिका कारण चर्चित सांसद बनेका एमालेका यज्ञराज सुनुवार र कांग्रेसका रामहरि खतिवडाबीचको प्रतिस्पर्धाले ओखलढुंगाको चुनाव केन्द्रीय चासोमा परेको छ । दुई चर्चित युवा नेता प्रतिनिधिसभा सदस्यका लागि भिड्दैछन् ।

दोस्रो संविधानसभा चुनावमा एमाले नेता सुनुवार ओखलढुंगा १ बाट निर्वाचित भएका थिए भने खतिवडा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । यसपटक ओखलढुंगा एउटै क्षेत्र भएपछि दुवैले एकै ठाउँमा भिड्ने अवस्था सिर्जना भएको हो ।

यज्ञराज र रामहरिको प्रतिष्ठा

विसं. ०१५ सालदेखि नै कांग्रेसको गढ मानिने ओखलढुंगामा पछिल्लो समय वामपन्थी प्रभाव बढेको छ । यद्यपि स्थानीय तह निर्वाचनमा प्रदेश नम्बर १ का १४ जिल्लामध्ये कांग्रेसले बहुमत जितेको र एकल जिल्ला समन्वय समिति गठन गरेको जिल्ला ओखलढुंगा नै हो ।

चार महिनाअघि मात्रै सम्पन्न स्थानीय तह चुनावमा एमालेको कमाण्ड सुनुवारले गरेका थिए भने कांग्रेसको चुनावी रथ खतिवडाले हाँकेका थिए । यसपटक दुवै सारथीहरु मैदानमा उत्रिँदा चुनावी नतिजा आँकलन गर्न कठिन भएको छ ।

विद्यार्थी राजनीतिबाट अघि बढेका सुनुवार र कृष्णप्रसाद भट्टराईको सान्निध्यबाट राजनीतिमा लागेका खतिवडा दुवैजना ओखलढुंगाका लागि हेबिवेट उम्मेदवार हुन् ।

जिल्लामा एमाले र माओवादीको गठबन्धन नहुँदा कांग्रेस र एमालेको कडा टक्कर हुने अनुमान गरिएको थियो । गत स्थानीय तहको मतका आधारमा कांग्रेस एमालेभन्दा करीव २ हजार मतले अगाडि छ । तर, माओवादी थपिएपछि बामपन्थी गठबन्धनभन्दा कांग्रेस करीव ६ हजार मतले पछाडि देखिन्छ ।

तर, स्थानीय तहको निर्वाचनमा आएको मत र प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा उम्मेदवारलाई आउने मत उस्तै नहुने निश्चित छ । त्यसैले ओखलढुंगामा कांग्रेस र एमालेका दुई चर्चित युवा नेताबीच कडा टक्कर हुने प्रष्ट छ ।

स्थानीय तहको मत यस्तो छ

स्थानीय तहको चुनावका आधारमा जिल्लामा कांग्रेसको २६ हजार १३६ मत छ । त्यस्तै एमालेको २३ हजार ८३५ मत छ । माओवादीले ९ हजार ६८६ मत स्थानीय चुनावमा पाएको छ । एमाले र माओवादीको मत जोड्दा ३३ हजार ५३१ हुन्छ ।

जिल्लाका ८ स्थानीय तहमध्ये कांग्रेसले चार वटा गाउँपालिका जितेको थियो भने एमालेले सिद्धिचरण नगरपालिका सहित ३ स्थानीय तह जितेको छ । माओवादीले एउटा गाउँपालिकाको प्रमुख जितेको थियो ।

जिल्लामा एमालेले प्रतिनिधिसभा र प्रदेश (क) मा क्रमशः यज्ञराज सुनुवार र अमिबरबाबु गुरुङलाई उम्मेदवार बनाएको छ । कांग्रेसले प्रतिनिधिसभामा रामहरि खतिवडा र प्रदेशमा क्रमशः मित्रसेन दाहाल र प्रदीप सुनुवारलाई उम्मेदवार बनाएको छ ।

जातीय समीकरण र उम्मेदवारीको सन्तुलन

पछिल्ला दुई निर्वाचन परिणामले प्रदेश क मा एमाले बलियो देखिन्छ भने ख मा कांग्रेस बलियो छ । सुनुवार, राई, तामाङ र गुरुङ समुदायको बाहुल्य रहेको ओखलढुंगामा दलहरुले सकेसम्म जातीय सन्तुलन मिलाएर उम्मेदवारी दिन खोजेका छन् ।

एमालेले यज्ञराज सुनुवारलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउँदा कांग्रेसले प्रदीप सुनुवारलाई प्रदेश ख को उम्मेदवार बनाएको छ । एमालेले अमिर गुरुङलाई प्रदेश क को उम्मेदवार बनाएर रावादोलु, भुसिंगा र रुम्जाटारका गुरुङको मतमा आँखा गाडेको प्रष्टै बुझ्न सकिन्छ ।

प्रदेश क मा पर्ने खिजिदेम्बा गाउँपालिकाका बासिन्दा कांग्रेस जिल्ला सभापति प्रदीप सुनुवार प्रदेश ख मा उम्मेदवार बनेका छन् । क भन्दा कांग्रेसका लागि सुरक्षित देखेर उनले क्षेत्र परिवर्तन गरेका हुन् ।

प्रदेश क मा भने शुरुमा लिलाबल्लभ दाहाल (काका) ले टिकट पाए पनि अन्तिममा मित्रसेन दाहालले टिकट लगेपछि रामपुरकै दाहालबीचको अन्तरबिरोध हल गर्न कांग्रेसलाई समस्या परेको छ ।

कुन स्थानीय तहमा कसको प्रभाव ?

प्रदेश क अन्तर्गत सिद्धिचरण नगरपालिकाका एउटा बाहेक सबै वडाका साथै खिजिदेम्बा,मोलुङ र चिसंखुवढी गाउँपालिका पर्छन् । यी मध्ये खिजिदेम्बा कांग्रेसले जितेको छ भने सिद्धिचरण र मोलुङमा एमालेले जितेको छ । चिसंखुगढीमा माओवादीले जितेको छ ।

प्रदेश ख अन्तर्गत लिखु, सुनकोशी, चम्पादेवी र मानेभन्ज्याङ गाउँपालिका पर्छन् । तीमध्ये लिखुमा एमालेले जितेको छ भने अरु तीनवटै गाउँपालिका कांग्रेसले जितेको छ । सो क्षेत्रमा एमालेले माओवादीका उम्मेदवार मोहन खड्कालाई समर्थन गरेको छ ।

कांग्रेसले प्रदेश ख मा एमालेको सबै भोट माओवादीलाई नजाने भएकाले आफ्नो बल लगाएको छ । माओवादी नेता बालकृष्ण ढुंगेल सोही क्षेत्रबाट ०६४ मा निर्वाचित भए पनि पछिल्लो स्थानीय तह चुनावमा माओवादीले ५ हजार मत मात्र पाएको छ । एमालेको करीव १२ हजार मत रहेको छ भने कांग्रेसको १३ हजार ७६७ मत छ ।

को हुन् यज्ञराज र रामहरि ?

एमाले केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्ला इञ्चार्ज यज्ञराज सु्नुवार कुनै बेला विद्यार्थी राजनीतिमा सक्रिय थिए । ०५३ मा आर आर क्याम्पस र ०५५ मा महेन्द्र रत्न क्याम्पस ताहाचालको स्ववियु सभापति निर्वाचित भएका सुनुवार अनेरास्ववियुको अध्यक्षमा ठाकृुर गैरेसँग पराजित भएपछि जिल्लाको राजनीतिमा गएका थिए ।

ओखलढुंगामा एमालेको तीन कार्यालय पार्टी प्रमुख भएका सुनुवार ०६४ मा ओखलढुंगा १ बाट संविधानसभा सदस्यमा पराजित भए । त्यसपछि उनी ०७० सालमा करीव ३५ सय मतान्तरले कांग्रेसका बालकृष्ण दाहाललाई पराजित गरेर बिजयी भए ।

कांग्रेसका तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईको सान्निध्यबाट राजनीति थालेका रामहरि खतिवडा ०४८ सालमा वलवहादुर राई मन्त्री बन्दा स्वकीय सचिव थिए । त्यसयता उनी जिल्लाबाट लगातार महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहँदै आएका छन् ।

सांसद नहुँदा पनि चर्चामा रहिरहने खतिवडाले ओखलढुंगाका धेरै युवालाई जागिर लगाएका कारण पनि कांग्रेस वृत्तभन्दा बाहिरको मत पनि तान्न सक्ने उम्मेदवार मानिन्छन् । ०७० को संविधानसभा निर्वाचनमा ओखलढुंगा २ बाट एमालेका नानीबाबु बुढाथोकीलाई करीव ५ हजार मतान्तरमा पराजित गर्दै खतिवडा निर्वाचित भएका थिए ।

सुनुवार र खतिवडा जसले जिते पनि एउटा प्रखर युवा नेता आगामी संसदमा प्रवेश गर्नेछन् भने एकजनाले ५ वर्ष संसद बाहिरै रहनुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment