Comments Add Comment

विद्यार्थीले प्रस्तुत गरे ‘नमूना जु्म्लाको’को खाका

८ कात्तिक, काठमाडौं । तिहारको मेसोमा जन्मथलो जुम्ला पुगेका युवाहरु बेग्लै धपेडीमा थिए । उनीहरु देउसी भैलो छाडेर विज्ञान-प्रविधि प्रदर्शनीमा जुटे ।

विकास-निर्माणमा पछौटे भनिएका जुम्ली युवाहरु आफैले बनाएका विभिन्न उपकरण प्रदर्शन गरेर आगन्तुकलाई लोभ्याइरहेका थिए ।

खासगरी उच्च शिक्षाका क्रममा जिल्लाबाहिर गएका विद्यार्थीहरुले यस्तो मेलोमेसो मिलाएका थिए । उनीहरुलाई हातेमालो गर्न भने स्थानीय कर्णाली युथ क्लबले सहयोग गरेको थियो ।

प्रदर्शनीको खास बिशेषता भनेको,जुम्ला जिल्लाकै भौतिक विकास र निर्माणलाई कसरी व्यवस्थापन गर्ने भनेर नमूना प्रविधिहरु प्रस्तुत गरिएको थियो ।

जुम्ला जिल्लालाई रिङरोडले जोडेको परिकल्पना गर्दै बनाइएको प्रोजेक्टमा धेरैको आकर्षण देखिए । जुम्लाको सबै ग्रामीण क्षेत्र जोड्ने सडक सञ्जाललाई नमूनाको रुपमा पेश गर्दै युवाहरुले त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुरा समेत सुझाएका थिए ।

जुम्लाको जुगाड खोलाको ढल इन्जिनियरिङ तरिकाबाट कसरी व्यवस्थि तगर्न सकिन्छ भन्ने समेत उनीहरुले देखाएका थिए ।

त्यस्तै जुम्लाको गुठीचौरलाई पर्यटन गन्तव्य बनाउने सम्भाव्यता खोतल्दै नमूना पर्यटकीय स्थल प्रदर्शन गरिएको थियो ।

मेलामा कृषि उपकरण, विद्युतिय उपकरण, स्वास्थ्यसँग सम्बन्धित उपकरणको नमूना प्रस्तुत गरिएको थियो ।

स्थानीय विद्यार्थीले बनाएको भुँइ सफा गर्ने रोबर्ट, अटोमेटिक स्टि्रट लाईट, सोलारबाट खसीको उन काट्ने उपकरण आदि प्रदर्शन गरिएका थिए ।

भुकम्प प्रतिरोधी घर कसरी बनाउने, बोत्तलमा कसरी खेती गर्ने, थोपा सिंचाई प्रविधि कसरी गर्ने भन्ने जस्ता कुरा पनि प्रदर्शनीमा देखाइएको ज्ञानी बुढा क्षेत्रीले बताए ।

प्रदर्शनीमा कागजबाट उपयोगी बस्तु बनाउने सीप सिकाएका थिए स्थानीय कनिका निशा स्कुलका विद्यार्थीले । सोही मेसोमा जुम्लामा लोप हुन लागेको पञ्चे बाजा र मागल देखाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment