Comments Add Comment

के नेपालमा बसेर साइबर आक्रमण गर्छन् उत्तरकोरियाली ह्याकर ?

बैंकहरुबाट पैसा चोर्ने गतिविधिमा संलग्नता रहेको दाबी

९ कात्तिक, काठमाडौं । उत्तरकोरियाको कूटनीतिक उपस्थिति रहेका नेपालसहितका आधा दर्जन देशबाट प्योङयाङले आफ्ना हृयाकरहरू मार्फत साइबर हमला गरिरहेको हुन सक्ने एक अध्ययनले औंल्याएको छ ।

किम जोङ उनको सरकारले साइबर हमला गर्न सक्ने क्षमतामा उल्लेख्य वृद्धि गरेको र ६ हजार जना हृयाकर तयार पारी गोप्य सामरिक सूचना तथा बैंकहरुबाट अर्बौँ डलर चोरी गर्ने गरेको समाचारदी न्युयोर्क टाइम्सले हालै प्रकाशित गरेको थियो ।

उक्त पत्रिकाका अनुसार गत वर्ष कोरियाली हृयाकरहरूले बंगलादेशको केन्द्रीय बैंकको स्विफ्ट प्रणाली हृयाक गरेर एक अर्ब डलर चोरी गर्न खोजेका थिए । तर, आठ करोड १० लाख डलर मात्र चोर्न सफलता पाए ।

अमेरिकास्थित सामरिक गतिविधि अध्ययन गर्ने संस्था ‘रेकर्डेड फ्युचर’का अनुसार उत्तरकोरियाली हृयाकरहरुले यी सबै काम आफ्नै देशभित्र रहेर मात्र गरिरहेका छैनन् । गत अपि्रलदेखि जुलाईसम्मका गतिविधिलाई निगरानी गरी उक्त संस्थाले तयार पारेको प्रतिवेदनमा उत्तरकोरियाले अरु देशहरुमा रहेका आफ्ना मिसनलाई पनि यस्ता काममा प्रयोग गरेको हुन सक्ने उल्लेख छ ।

उत्तरकोरियामा इन्टरनेट प्रतिबन्धित छ । तर, उच्चपदस्थ सरकारी कर्मचारीले मात्र इन्टरनेटको निर्वाध प्रयोग गर्न पाउँछन् । उनीहरूले पनि धेरैजसो सामाजिक सञ्जाल र विदेशी समाचार संस्थाहरुका वेबसाइट मात्रै हेरेको पाइन्छ ।

तर, उत्तरकोरियाका तीन आईपी एड्रेसहरुबाट हुने गतिविधिको २० प्रतिशत ट्राफिक भारततर्फ र बाँकीमध्येको ठूलो हिस्सा नेपाल, न्युजिल्यान्ड, मलेसिया, केन्या, मोजाम्बिक, फिलिपिन्स र इन्डोनेसियातर्फ रहेको देखिएको छ ।

‘रेकर्डेड फ्युचर’का अनुसार उत्तरकोरियाले साइबर हमलाका लागि आफ्ना मिसनको प्रयोग गरिरहेको यकिन प्रमाण भने प्राप्त हुन सकेको छैन । विगतमा उक्त देशले चीनलाई आधार बनाई गर्ने गरेको साइबर हमलासँग नयाँ घटनाहरु पनि मिल्दाजुल्दा देखिएका छन् । नेपाललगायत देशहरुसँग भने उत्तरकोरियाले हृयाकरहरू मार्फत् यस्ता काम गरिरहेको सूचना नभएको उक्त प्रतिवेदनमा उल्लेख छ ।

नेपाल र उत्तरकोरियाबीच सन् १९७४ मा दौत्य सम्बन्ध स्थापना भएको हो । तत्कालीन प्रधानमन्त्रीहरु टंकप्रसाद आचार्य र कीर्तिनिधि विष्टले उत्तरकोरियाको भ्रमण गरेका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालमा उत्तरकोरियाले तीन आयोजनाहरुमा तीन करोड २० लाख रुपैयाँ लगानी गरेको छ । ती आयोजना के के हुन् भन्ने विषयमा भने स्पष्ट जानकारी मन्त्रालयले खुलाएको छैन । दुई देशका राजधानी शहरहरु काठमाडौं र प्योङयाङबीच भगिनी सम्बन्ध स्थापना भएको १६ वर्ष पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment