Comments Add Comment

स्थानीयलाई निकुञ्जको निर्देशन– हात्ती लखेटेर उत्तेजित नपार्नू

१० कात्तिक, चितवन । हिउँदको समयमा मानव बस्तीमा आउने जंगली हात्तीलाई तर्साएर उत्तेजित नपार्न चितवन राष्ट्रिय निुकञ्जले सर्वसाधारणलाई निर्देशन दिएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जबाट ठोरी, माडी हुँदै चितवन राष्ट्रिय निकुञ्जमा आउने जंगली हात्तीले निकुञ्ज आसपासका बस्तीमा सताउँदै आएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा जंगली हात्ती प्रवेश गर्ने गर्दछ । धानलगायतका बाली खाएसँगै स्थानीयवासीले लखेट्ने क्रममा हात्ती उत्तेजित भई धनजनको क्षति पु¥याउँदै आएको छ ।

कँडेलका अनुसार राँको बालेर लखेट्दै जाने, छर्रा हान्ने, भाला हान्ने, होहल्ला गर्ने, निकुञ्जसँगै जोडेर छिरोलिएर बस्ती बस्ने, रात बिहानको समयमा एक्लै जंगलमा हिँड्नेजस्ता कार्य गर्दा हात्तीले आक्रमण गर्ने गरेको पाइन्छ । हात्तीलाई नजिस्काएर छाड्दा धानलगायतका बाली खाने भएपनि अन्य क्षति नहुने हुँदा नजिस्काउन र उत्तेजित नपार्न उनले आग्रह गरे ।

जंगली हात्तीले निकुञ्ज जोडिएका नवलपरासीको नन्दपुर, सेरे, तमासपुर, चितवनको मेघौली, सौराहा, माडीको अयोध्यापुरी, गर्दी, सौराहाको हात्ती प्रजनन केन्द्र लगायतका क्षेत्रमा दुःख दिँदै आएको छ । एक–दुई हुँदै बथानमा भाले जंगली हात्ती गाउँ पस्ने गर्दछ ।

कँडेलले बाली नास गरेमा क्षतिपूर्ति दिने व्यवस्था भएकाले हात्तीलाई नजिस्काएमा जनधनको कम क्षति हुने बताए । निकुञ्जभित्र हिउँदमा पानी र घाँसको अभाव भएसँगै जंगली हात्ती बस्ती पस्ने गर्दछ ।

निकुञ्ज आसपासका खरले छाएका झुप्रामा हात्तीले बढी आक्रमण गर्ने गर्दछ । ती घरमा राखिएका नून, मसला, तेल र धान हात्तीले खाने गर्दछ । सँगै हात्तीको सबैभन्दा बढी रोजाइ स्थानीय मदिरा हुने भएकाले त्यसको खोजीमा पनि हात्तीले मानिसलाई दुःख दिँदै आएको छ । निकुञ्ज आसपासमा एकीकृत बस्ती निर्माण गर्नसकेमा हात्तीको आक्रमण कम हुने पनि कँडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment