+
+
Shares

मधेसमा एमाले र माओवादीबीच ‘बराबरी’ भागबण्डा

पूर्वी र पश्चिमी तराईमा माओवादी 'हाफ', एमाले दोब्बर

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १० गते १८:०५

 

१० कात्तिक, काठमाडौं । एमाले र माओवादीवीच सिट बाँडफाँटका लागि गठित कार्यदलले तराई मधेसका अधिकांश जिल्लामा आफ्नो काम सिध्याएको छ । प्रदेश नम्बर २ का ३२ सीटमध्ये एमाले-माओवादीले १२/१२ सिट बाँडेका छन् । ७ सिटमा सहमति जुट्न बाँकी छ भने एउटा सिट स्वतन्त्र उम्मदेवारलाई छाड्ने सहमति भएको छ ।

पूर्वी तराई र पश्चिमी तराईका ५ वटा जिल्लामा भने माओवादीले प्रतिनिधिसभामा एमालेको भन्दा करिब आधा सिटमात्रै पाउने भएको छ । त्यहाँ पनि अन्तिम सहमति जुट्न बाँकी रहेको कार्यदलका सदस्यले बताए ।

पूर्वी र पश्चिमी तराईका झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरमा प्रतिनिधिसभातर्फ कुल २३ सिट छन् ।

मधेसमा लगभग बराबरी

माअोवादी र एमालेले मधेसका ८ जिल्लामा लगभग बराबरी भागवण्डा गरेका छन् । सिद्धान्तः बराबर भागवण्डा गर्ने नभनिए पनि तालमेल मिलाउँदै जाँदा बराबरीजस्तै हुन पुगेको हो ।

प्रतिनिधिसभातर्फ सप्तरीका ४ सिटमध्ये एमाले र माओवादीले एक/एक सिटमा सहमति गरेका छन् । एउटा स्वतन्त्रलाई दिने सहमति भएको छ भने एउटामा निर्णय हुन बाँकी छ ।

सिराहामा दुबै दलले दुई/दुई सिटमा तालमेल गर्ने सहमति भएको छ । धनुषामा एक सिट एमालेले र दुई सिट माओवादीले लिएको छ भने थप एक सिटमा सहमति जुट्न बाँकी छ ।

महोत्तरीमा पनि माओवादीले २ र एमालेले १ सिट लिने सहमति भएको छ । त्यहाँ पनि एउटामा सहमति जुट्न बाँकी छ ।

सर्लाही जिल्लामा पनि एक सिट एमालेले र दुई सिट माओवादीले पाउने सहमति भएको छ भने एउटा सिट छलफलमा छ ।

रौतहटका ४ सिटमध्ये दुबै दलले दुई/दुई सिट बाँड्ने सहमति गरेका छन् । बाराका ४ मध्ये एक/एक सिटमा सहमति जुटेको छ भने बाँकी दुई सिटमा सहमति जुट्न बाँकी रहेको नेताहरुले बताएका छन् ।

पर्सामा भने एमालेले ३ सिट र माओवादीले १ सिट लिने सहमति जुटेको बताइएको छ ।

५ जिल्लामा एमालेलाई बढी सिट

प्रदेश नम्बर दुईमा माओवादीले धेरै सिट पाए पनि पूर्वी तराई र पश्चिमी तराईका जिल्लाहरुमा भने एमालेको तुलनामा माओवादीले थोरै सिट पाएको छ ।

झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरसमेत गरी ५ जिल्लामा प्रतिनिधिसभाका २३ सिटमध्ये एमालेले १२ र माओवादीले ६ सिट लिने सहमति भइसकेको छ । बाँकी ५ सिट अझै अनिणिर्त छन् ।

प्रतिनिधिसभातर्फ झापामा माओवादीले एक र एमालेले ४ सिट लिने सहमति भएको कार्यदलका एक सदस्यले बताए । मोरङमा एमालेले ३ र माओवादीले दुई सिट लिने सहमति भएको छ भने एउटा सिटमा अझै छलफल टुंगिएको छैन ।

सुनसरीमा वाम गठबन्धनले तालमेलको टुंगो लगाउन बाँकी छ । त्यहाँ उपेन्द्र यादवसँग पनि तालमेल गर्न खोजिएकाले तालमेल गर्न बाँकी रहेको एक नेताले अनलाइनखबरलाई बताए । सुनसरीमा माओवादीलाई प्रदेशसभा मात्रै दिनेबारे छलफल भइरहेको एमाले स्रोतले बतायो ।

कैलालीका ५ निर्वाचन क्षेत्रमध्ये एमालेले ३ र माओवादीले दुई वटा लिने सहमति भएको छ । कञ्चनपुरमा दुबै दलले एक/एक वटा सिटमा सहमति गरिसकेको र बाँकी एउटामा छलफल चलिरहेको स्रोतले जानकारी दियो ।

शुक्रबार बेलुकासम्म यसलाई कार्यदलले टुंगो लगाएपछि शनिबार बेलुकासम्म शीर्ष तहबाट अन्तिम टुंगो लगाइने कार्यदलमा सहभागी एक नेताले अनलाइनखबरलाई बताए ।

यो पनि पढ्नुहोस्

११० सिटमा वाम तालमेलः एमालेलाई ७२ र माओवादीलाई ३३ (सूचीसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?