Comments Add Comment

श्रीमानलाई घरको काम लगाएर त हेर्नुस !

प्रकृतिले नै पुरुष र महिलाले गर्ने काम छुट्याइदिएको कतिपयले मान्छन् । यद्यपि, यो मान्यता आफैंमा सही होइन । पुरुषले गर्ने भनिएका काममा महिलाले र महिलाले गर्ने भनिएका काममा पुरुषले सफलता पाएका धेरै उदाहरण छन् ।

परिवारको कुरा गर्दा पनि श्रीमानले गर्ने कपिय काम श्रीमतीले सुन्दर ढंगबाट निभाएको पाइन्छ भने श्रीमतीको काम श्रीमानले । हुन सक्छ, सुरुसुरुमा यसरी भूमिका परिवर्तन गर्न गाह्रो होला, तर विस्तारै सही नतिजा आउने निश्चित छ ।

श्रीमान हुन सक्छन् कुशल भान्से

श्रीमतीहरुले भान्सामा श्रीमानको उपस्थितिलाई प्रोत्साहित गर्नुपर्छ । यदि तपाईंको श्रीमानले सलाद काट्न, पुरी तार्न रुचाउँछन् भने उनको भावनाको कदर गर्नुहोस । कैयन महिलाहरु भान्सामा श्रीमानको उपस्थिति चाहँदैनन् । उनीहरु ठान्छन् कि श्रीमानले भान्सामा सहयोग गर्न आए भने सारा सामान भद्रगोल बनाउँछन्, र काम कम कुरा बढि हुन्छ ।

तर, यस्तो सोच सँधै सत्य हुँदैन । यो जान्ने प्रयास गर्नुस कि पतिलाई भान्साको कुन काममा रुची छ । छुट्टीको दिन भान्सा श्रीमानलाई नै जिम्मा दिनुस । श्रीमानको हातको खाना खाएर त हेर्नुस, न तपाईंले पकाउनेभन्दा मिठो पो हुन्छ कि ?

को बढि खर्चालु ?

महिलाहरुको धारणा हुन्छ कि पुरुषहरु पैसा जथाभावी खर्च गर्छन् । करिब ४० प्रतिशत गृहिणीहरु पैसाको व्यवस्थापनमा आफूलाई श्रीमानभन्दा अब्बल ठान्छन् । ‘गृहमन्त्री’को संज्ञा उनीहरुलाई त्यसै दिइएको होइन ।

तर, हाम्रो समाजको यथार्थ हेर्दा पुरुषभन्दा महिला बढि खर्चालु पाइन्छन् । हातमा पैसा छ भने खर्च गरिहाल्ने स्वभाव उनीहरुको हुन्छ । जबकि पुरुषहरु तौली तौली खर्च गर्छन् । त्यसैले घर खर्च गर्ने जिम्मेवारी आफूबाट आफ्नो श्रीमानमा सारेर हेरौं र नतिजाको प्रतिक्षा गरौं ।

प्याकिङको काम पनि श्रीमानलाई

यदि बाहिर कतै घुम्न जाँदै हुनुहुन्छ भने सुटकेस प्याक गर्ने काम श्रीमानलाई जिम्मा दिनुहोस् । बाहिर भ्रमणमा जाँदा महिलाहरुले आवश्यकताभन्दा बढि सामान प्याक गर्ने गरेको पाइन्छ । यसको कारण यो हो कि महिलाहरु दिनचर्याका हरेक वस्तुलाई आवश्यक ठान्छन् । यसको विपरित पुरुष केवल सिमित र अत्यावश्यक सामानहरु मात्रै बोक्न अभ्यस्त हुन्छन् ।

श्रीमानबाट सिकौं सपिङ

यसपटक सपिङका लागि एक्लै नहिँड्नुस । श्रीमानलाई पनि साथमा लैजानुस । पसलमा सामान किन्दा श्रीमानलाई अघि सर्नुहोस् । त्यसपछि थाहा पाउनुहुनेछ, तपाईंले लठ्ठु ठानेको श्रीमानले कति राम्ररी सपिङ गर्न सक्छन् ।

अनि अर्कोचोटि बच्चाको कपडा वा घरको पर्दा किन्नका लागि श्रीमानलाई एक्लै पठाउनुस । फर्केर आउँदा उनले पक्कै पनि तपाईंलाई निराश पार्ने छैनन् । एक सर्भेक्षणको नतिजाअनुसार पुरुषहरु आफूलाई भन्दा परिवारका लागि सपिङ गर्न रुचाउँछन् ।

र, यो पनि

कैयन् कुराहरुमा महिला र पुरुष आफैंलाई एक अर्काभन्दा अब्बल सम्झिन्छन् । यदि समझदारी नअपनाउने हो भने यही बहानामा श्रीमान र श्रीमतीबिच बारम्बार ठाकठुक पर्न सक्छ । त्यसैले एक अर्काको क्षमतालाई सम्मान गर्न सिक्नुस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment