Comments Add Comment

ओभरलोडेड भारतीय ट्रकलाई नियन्त्रण गर्न ट्रक व्यवसायीको माग

१४ कात्तिक, बुटवल । भारतीय ओभरलोडेड सवारी साधनले नेपालमा गर्नेे दादागिरीको बिरुद्धमा प्रशासन रमिते बनेको भन्दै ट्रक व्यवसायीहरुले बिरोध जनाएका छन् ।

भारतीय मालबहाक सवारी साधनको ओभरलोड नियन्त्रणका लागि नारायणी पश्चिमका ट्रक व्यवसायीहरु एकजुट भएका हुन् । लामो समयदेखि भारतबाट आउने मालवाहक सवारी साधन ओभरलोडमा नेपाली सडकमा हिँडिरहदा पनि प्रशासनले कारवाही नगरेको भन्दै त्यसका विरुद्ध एकजुट भएको बताएका छन् ।

पश्चिमाञ्चल यातायात ब्यबसायी समिती, लुम्विनी ट्रक यातायात ब्यबसायी सघं र बाणगंगा यातायात व्यवसायी समिति एकजुट भएर संयुक्त रुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मंगलबार बुटवलमा तीनै संस्थाले संयुक्त पत्रकार सम्मेलन गर्दै भारतीय गाडीको ओभरलोड नियम विपरित भएकाले त्यसका विरुद्ध संघर्ष गर्ने स्पष्ट गरेका छन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रानाभाटले बर्षौंदेखि नेपालमा माल ढुवानी गर्दै आएका व्यवसायीहरु भारतीय गाडीको ओभरलोडका कारण मर्कामा परेको बताए ।

उनले मापदण्ड विपरित ओभरलोड बोकेका सवारी साधन चल्दा पनि सरकारले कारवाही नगर्नु लज्जास्पद भएको टिप्पणी गरे । ७२ घन्टा मात्रै चल्न पाउने मालवाहक ट्रक बढी समयसम्म गुड्दा पनि प्रहरी मुकदर्शक बनेको व्यवसायीहरुको आरोप छ ।

‘भारवहन कार्यविधि अनुसार ६ चक्के ट्रकले नौ दशमलव ६ टन, दश चक्के ट्रकले १६ दशमलव पाँच टन, १२ चक्के ट्रकले २१ टन र १४ चक्के ट्रकले ३० टन सम्म बोक्न पाउने व्यवस्था छ’ महासंघ अध्यक्ष रानाभाटले प्रश्न गरे, ‘तर अहिले ट्रकहरुले सो प्रावधान भन्दा दोब्बर तेब्बर माल सामान बोकिरहेका छन् कारबाही खोइ ?’

पटक पटक स्थानीय प्रशासनलाई ओभरलोडका बिषयमा जानकारी गराउँदा पनि प्रहरी र प्रशासनले वेवास्ता गरेकाले आफूहरु अन्यायमा परेको पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष टिकाराम गौतमले बताए ।

नेपालमा मालवाहक सवारी साधनहरुले ९.६ देखि अधिकतम २५ टनसम्म मात्रै मालसमान ढुवानी गर्न पाउने कानुनी व्यवस्था छ ।

तर, यो नियम भारतीय मालवाहक सवारीको हकमा लागु हुन नसकेको संघका पूर्व अध्यक्ष लोकराज पोखरेलले बताए । उनले सरकारले नेपाली व्यवसायीलाई धारासायी बनाउन खोजेको आरोप लगाए ।

व्यवसायीहरुले जनाए अनुसार नारायणीदेखि राप्तीसम्म दैनिक १ सयको हाराहारीमा भारतीय ट्रक नेपालमा भित्रन्छन् । यसमा करिव ६० वटा अत्यधिक भारसहित आउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment