१५ कात्तिक, गुल्मी । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा भिड्दैछन्, दुई नेता प्रदीप ज्ञवाली र चन्द्र भण्डारी । ज्ञवाली एमाले सचिव हुन् भने भण्डारी कांग्रेस केन्द्रीय सदस्य ।
गुल्मीमा प्रतिनिधि सभाका दुई निर्वाचन क्षेत्र छन् भने प्रदेशका चार । प्रतिनिधि सभाको १ नम्बरमा भिड्न लागेका हुन्, ज्ञवाली र भण्डारी । दुवै आ-आफ्ना पार्टीमा प्रभावशाली मानिन्छन् ।
यसअघिको गुल्मी २ बाट ज्ञवाली ०५६ र ०६४ सालका चुनावमा दुई पटक निर्वाचित भएका थिए । र, एक पटक मन्त्री पनि बने । भण्डारीले सोही क्षेत्रमा ०७० सालको संविधान सभामा ज्ञवालीलाई हराएका थिए ।
उक्त क्षेत्र अहिले गुल्मी १ बनेको छ, जहाँ ०५१ देखि ०६४ सम्म लगातार एमालेले जित हात पारेको थियो ।
१० वर्षयता ज्ञवाली र भण्डारी एकै क्षेत्रमा प्रतिस्पर्धा गर्दै आएका छन् । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा भण्डारी पराजित भए, ज्ञवालीसँग ।
स्थानीय तह निर्वाचनमा गुल्मी १ का ६ मध्ये चार वटामा कांग्रेस र दुईमा एमालेले जितेको थियो । स्थानीय तहको मत हेर्दा उक्त क्षेत्रमा कांग्रेसको पकड बलियो देखिन्छ । ०७० को संविधानसभा निर्वाचनमा तीनमध्ये दुईमा कांग्रेस र एकमा एमालेले जितेका थिए ।
उक्त निर्वाचनमा एमालेको समानुपातिक मत भने कांग्रेसको भन्दा बढी थियो ।
यस्ता छन् दुवैका सबल-दुर्बल पक्ष
ज्ञवालीमाथि आरोप छ, उनी जिल्ला र क्षेत्रको विकासमा कम तथा पार्टी र केन्द्रीय राजनीतिमै बढी चासो राख्छन् । मतदाताका स-साना काम त उनी ध्यानै दिँदैनन् भन्ने आरोप पनि छ, पार्टी इतरबाट ।
एमाले कार्यकर्ता पंक्तिबाट पनि त्यस्तै गुनासो आउने गरेको छ । तथापि, जिल्लामा महत्वपूर्ण काम गरे पनि प्रचारबाजीमा नलागेकाले आफूमाथि आरोप लाग्ने गरेको ज्ञवालीको तर्क छ ।
भण्डारीमाथि कामभन्दा प्रचारबाजी ज्यादा गर्ने गरेको आरोप छ, विपक्षीबाट । र, गरेका काममा पनि व्यक्ति विशेषमा मात्र केन्दि्रत रहने गरेको आरोपबाट मुक्त छैनन्, उनी ।
जिल्लाका लागि केही ठूला आयोजना भित्र्याए पनि ती समयमा सम्पन्न गर्न नसकेर सस्तो प्रचारबाजीमा अल्भिmएको आरोप पनि लाग्ने गरेको छ, भण्डारीमाथि । सरकारी र नियमित तवरबाट आएका आयोजना पनि आफैंले ल्याएको प्रचार गर्ने गरेको आरोपबाट पनि मुक्त छैनन् ।
साना र छिटफुट योजनाहरुबाट भने सबैलाई सन्तुष्ट पार्ने उनको शैली छ ।
सांसद रहँदा जिल्लाका लागि फराकिलो सडक, दुर्घटना न्यूनीकरण तथा तम्घास र बुटवललाई छोटो दूरीमा जोड्ने तम्घास-सालझण्डी सडकलाई प्राथमिकता दिएका थिए ।
यस्तै, रिडीमा तीन जिल्ला जोड्ने पुल र बोटे माझीलाई आवासजस्ता कार्यक्रम उनका प्राथमिकतामा थिए ।
एउटै एजेन्डा समृद्धि
ज्ञवालीले यस पटकको निर्वाचनमा ‘समृद्ध गुल्मी, सम्पन्न गुल्मी’ नारा अगाडि सारेका छन् । र, देशमा राजनीतिक स्थिरता नभई विकास नहुने उनको तर्क छ ।
संविधान निर्माण प्रक्रियामा आफ्नो सक्रिय सहभागिता रहेकाले त्यसको कार्यान्वयनको दायित्व पूरा गर्ने मतदातामाझ बताउने गरेका छन् । र, अबको यात्रा आर्थिक समृद्धि रहेको उनको तर्क छ ।
कालीगण्डकी करिडोर, रेसुंगा विमानस्थल, रिडी-तम्घास सडकलगायत पूर्वाधार विकास गर्ने आश्वासन बाँडिरहेका छन्, ज्ञवालीले ।
लुम्बिनी आउने पर्यटकलाई रुरु र रेसुंगासम्म ल्याउन सकिने उनको सोचाइ देखिन्छ । र, पर्यटन विकास गुल्मीका लागि कोशेढुंगा बन्न सक्ने उनको तर्क छ ।
भण्डारीको चुनावी नारा छ, पाँच वर्षभित्र गुल्मीलाई नमूना जिल्ला बनाउने ।
आफू सांसद रहँदा थालेका विकास आयोजना पूरा हुँदा पाँच वर्षे रणनीतिक लक्ष्य पनि प्राप्त हुने उनको तर्क छ । थप नयाँ आयोजनाहरु जिल्लामा भित्र्याउने आश्वासन बाँडिरहेका छन्, भण्डारीले ।
तम्घास-बुटवल सडकको सिद्धबाबा खण्डमा निरन्तर भूक्षयका कारण उत्पन्न जटिलता व्यवस्थापनका लागि वैकल्पिक मार्ग तम्घास-सालझण्डी हुन सक्नेमा उनको जोड रहने गरेको छ ।
फेरि पनि पिछडिएका बोटे र माझी समुदायको उत्थानमा काम गर्ने एजेन्डा अगाडि सारेका छन् ।
गुल्मीमा कम्युनिस्टहरु बलियो रहेको आकलन गर्ने गरिन्छ । ०४६ सालपछिका निर्वाचनहरु हेर्दा पनि त्यस्तै विश्लेषण गर्न सकिन्छ । एमाले र माओवादीबीचको चुनावी गठबन्धनका कारण ज्ञवालीको पल्ला भारी हुने विश्लेषण गर्नेहरु पनि छन् ।
तर, जनताले विकास चाहेको र त्यो आफ्ना उम्मेदवार भण्डारीबाट मात्र सम्भव रहेकाले जित सुनिश्चित रहेको दाबी कांग्रेस नेता/कार्यकर्ताको छ । अघिल्लो निर्वाचनको मत परिणाम र मतदाताहरुलाई स्थिर राखेकाले भण्डारीले ज्ञवालीलाई दोस्रो पटक हराउने उनीहरुको दाबी छ ।
प्रदेश ५ टुक्र्याउने गरी संविधान संशोधन विधेयक संसदमा टेबल भएपछि बुटवल र भैरहवासहित उक्त प्रदेशका सबै जिल्लामा आन्दोलन चर्कियो । त्यसको अगुवाइ एमाले नेता विष्णु पौडेलले गरेका थिए ।
उनका दुई सारथि थिए, ज्ञवाली र भण्डारी । ती दुवै चुनावी मोर्चामा आमनेसामने बनेका छन् । मतदाताले कसलाई पत्याउने हुन् भन्ने मतपरिणामले नै देखाउने छ ।
प्रतिक्रिया 4