Comments Add Comment

विमलेन्द्रविरुद्ध राजेन्द्र महतोको उम्मेदवारी, देउवाले बोलाए बालुवाटार !

महन्थ ठाकुर अन्ततः प्रतिनिधिसभामै चुनाव लड्ने

१५ कात्तिक, काठमाडौं । कांग्रेस नेता विमलेन्द्र निधीले चुनाव लड्न लागेको धनुषा क्षेत्र नम्बर ३ मा राजपा नेता राजेन्द्र महतोले उम्मेदवारी घोषणा गरेका छन् । विमलेन्द्रकै क्षेत्रबाट महतोले उम्मेदवारी घोषणा गर्नासाथ बुधबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले राजपा नेताहरुलाई बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्रीको निम्तोलगत्तै राजपा नेताहरु साँझ ६ बजेतिर बालुवाटारतर्फ लागेका छन् ।

बालुवाटार जानुपूर्व बुधबार दिनभरि बसेको राजपाको शीर्ष बैठकले ६ जना अध्यक्ष मण्डलका नेताहरु प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव लड्ने निर्णय गरेको छ । राजपा बैठकले प्रतिनिधिसभातर्फ ८३ जना र प्रदेशसभातर्फ १४५ जना उम्मेदवारको टुंगो लगाएको छ ।

राजपाका शीर्ष नेतामध्ये महन्थ ठाकुर महोत्तरी ३ बाट प्रतिनिधिसभामा चुनाव लड्ने भएका छन् । ठाकुरलाई मुख्यमन्त्रीका रुपमा प्रदेशसभामा चुनाव लडाइने राजपा नेता लक्ष्मणलाल कर्णले बताएका थिए । तर, अन्ततः उनी प्रतिनिधिसभामै लड्ने भएका छन् ।

त्यसैगरी अर्का शीर्ष नेता राजेन्द्र महतो धनुषा ३ बाट चुनाव लड्ने राजपा नेता जितेन्द्र सोनलले अनलाइनखबरलाई जानकारी दिए ।

त्यसैगरी अर्का नेता शरतसिंह भण्डारी सर्लाही २ बाट चुनाव लड्ने भएका छन् । अनिल झा रौतहट १ बाट प्रतिनिधिसभामा लड्ने भएका छन् ।

अध्यक्ष मण्डलका अर्का नेता राजकिशोर यादव सिराहा ४ बाट चुनाव लड्ने निर्णय भएको राजपाले जनाएको छ । अर्का केन्द्रीय नेता जितेन्द्र सोनल बारा ४ बाट चुनाव लड्ने भएका छन् ।

नेपाली कांग्रेसले तालमेलका लागि प्रयास गरे पनि मनोनयन दर्ता गर्ने अघिल्लो साँझसम्म कांग्रेस र राजपावीच ठोस तालमेल हुन सकेको छैन । राजपाले प्रतिनिधिसभातर्फ ८३ सीटमा उम्मेदवारी घोषणा गरिसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले तालमेलका लागि अन्तिम प्रयास गरेका छन् ।

तर, राजपा नेताहरुले भने आफ्नो पार्टीका ठूला नेताहरु लड्न लागेको क्षेत्रमा कांग्रेसले छाडिदिनुपर्ने माग अघि सारेको स्रोतले अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment