Comments Add Comment

पहाड र काठमाडौंमा दुईपक्षीय भिडन्त, मधेस झरेपछि त्रिपक्षीय

प्रदेश नम्बर २ मा कांग्रेसले जोगाउला त साख ?

१६ कात्तिक, काठमाडौं । गैरमधेस क्षेत्रमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा वाम-लोकतान्त्रिक गठबन्धन मुख्य प्रतिस्पर्धी देखिएका छन् । तर, प्रदेश नम्बर २ मा भने वाम- कांग्रेसका साथै मधेसकेन्दि्रत दलवीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

विशेष गरी पहाडी जिल्ला र काठमाडौं उपत्यकाका साथै पूर्वीतराई एवं पश्चिमी तराईका जिल्लामा वाम-लोकतान्त्रिक शक्तिवीच दुईपक्षीय भिडन्त हुने देखिएको छ । तर, प्रदेश नम्बर २ का ८ जिल्लाको स्थिति भने दुईपक्षीय नभएर बहुपक्षीय देखिएको छ ।

कांग्रेस र मधेसकेन्द्रित दलवीच किन भएन तालमेल ?

लामो प्रयासका बावजुद पनि नेपाली कांग्रेस राजपा-फोरमसँग चुनावी तालमेल गर्न असफल भएको छ । वाम गठबन्धनबाट दबावमा परेको नेपाली कांग्रेसले प्रदेश नम्बर २ को प्रतिस्पर्धालाई सकेसम्म त्रिपक्षीयबाट दुईपक्षीय बनाउने प्रयास गरेको थियो ।

कांग्रेसले बुधबार राति अबेरसम्म मधेसकेन्द्रित दलहरुसँग सहमतिको प्रयास गरेको थियो । तर, राजेन्द्र महतो र विमलेन्द्र निधिको चुनाव क्षेत्रमा कुरा नमिल्दा सहमति हुन सकेन ।

राजेन्द्र महतोले लड्न चाहेको निर्वाचन क्षेत्र धनुषा ३ वा सर्लाही ४ नम्बर थियो । तर, राजपा-फोरमसँग तालमेलका लागि वार्ता चलिरहेकै बेला कांग्रेसले धनुषा ३ मा पूर्वगृहमन्त्री विमलेन्द्र निधिलाई टिकट दियो । धनुषा ३ निधिले लगातार चुनाव लड्दै आएको क्षेत्र हो, त्यसैले उनको उम्मेदवारी स्वाभाविकै थियो ।

धनुषा ३ विमलेन्द्रले लिएपछि राजपा नेता महतोले सर्लाही क्षेत्र नं. ४ आफूलाई छाड्न आग्रह गरे । तर, कांग्रेस नेतृत्व र निधिले पार्टीका निवर्तमान सांसद अमरेशकुमार सिंहलाई मनाउन सकेनन् । सिंहले अघिल्लो संविधानसभामा सर्लाही ६ मा तत्कालीन तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई हराएका थिए । अहिले सो ४ नम्बरमा पर्छ ।


आखिर दुबै क्षेत्र नपाएपछि राजपा नेता महतोले धनुषा ३ मा निधिविरुद्ध नै उम्मेदवार बन्ने निर्णय लिए । र, अब प्रदेश २ को सबैभन्दा रोचक भिडन्त यही धनुषा क्षेत्र नम्बर ३ मा हुनेछ ।

स्थानीय तह चुनावको मतका आधारमा धनुषा ३ नम्बर क्षेत्रमा कांग्रेस बलियो छ । तर, मधेस आन्दोलनको केन्द्र समेत भएकाले राजपा र उसका उम्मेदवार महतो पनि कमजोर छैनन् ।

यहाँ वाम गठबन्धनबाट रामसिंह यादव उम्मेदवार बनेका छन् । तर, धनुषाको राजनीतिमा रघुवीर महासेठ र हाल जेलमा रहेका सञ्जय साहको समर्थनले पनि भूमिका खेल्ने विश्लेषकहरुले दाबी गर्दै आएका छन् ।

यसबाहेक प्रदेश नम्बर २ का सबै सिटमा त्रिपक्षीय (राजपा-फोरम, कांग्रेस र वाम) प्रतिस्पर्धा हुने देखिन्छ ।

यसअघि तराई मधेसका २० जिल्लामा फैलिएको मधेस आन्दोलनको राजनीति यो चुनावमा प्रदेश २ मा केन्दि्रत भएको छ । सुनसरी र मोरङबाट चुनाव लड्दै आएका उपेन्द्र यादवसमेत सप्तरी जानुले यसैलाई पुष्टि गर्छ ।

फोरमसँग कुरा नमिलेपछि नेपाली कांग्रेसले अशोक राईलाई छोडिसकेको सुनसरी १ नम्बर आफैंले लिएको छ ।

विजय गच्छदार पनि कांग्रेसमै फर्किएकाले अब मधेसको राजनीति प्रदेश २ प्रदेशमा मात्रै सीमित हुनेजस्तो देखिएको छ । तर, राजपा र फोरमवीचको चुनावी तालमेलले प्रदेश २ मा मधेस केन्दि्रत दलहरुको अवस्था कांग्रेस र वाम गठबन्धनको भन्दा कमजोर हुने देखिँदैन ।

यस वीचमा प्रदेश नम्बर ५ मा रहेका राजपा र फोरमका नेताहरुले पार्टी परिर्वतन गरेका छन् । हृदयेश त्रिपाठी, वृजेशकुमार गुप्ता र पशुपतिदयाल मिश्रसहितका नेताहरु यो पटक एमालेको सूर्य चिन्ह लिएर निर्वाचनमा होमिएका छन् भने अभिशेकप्रताप साह सहितका नेताहरु कांग्रेसतिर लागेका छन् ।

दलबदलका कारण ५ नम्बर प्रदेशको चुनावी प्रतिस्पर्धा चाहिँ पहाडमा जस्तै वाम-कांग्रेस दुई पक्षीय नै हुनेजस्तो देखिएको छ ।

पछिल्लो समय मधेसमा रक्षात्मक बनेको एमालेले माओवादीसँग मिलेर वाम गठबन्धन बनाएको छ । यसले राजमार्ग क्षेत्रमा त उनीहरुलाई बलियो बनाएको छ नै, अन्य क्षेत्रमा पनि प्रतिस्पर्धामा उतारेका छन् ।

प्रदेश २ मा सीटका हिसावले सबैभन्दा धेरै घाटा भने कांग्रेसलाई नै हुने देखिएको छ । राजपा-फोरमसँग तालेमल गर्दा नेता कार्यकर्ता व्यवस्थापन गर्न नसक्ने र नगर्दा धेरै ठाउँमा पछि पर्ने दुबै अवस्था उसको अनुकुल छैन ।

यद्यपि कांग्रेसले आफ्नो भोट एकीकृत गर्न सक्यो भने चुनावी प्रतिस्पर्धामा कमजोर हुने छैन । प्रदेश २ को प्रतिनिधिसभाको ३२ र प्रदेशको ६४ सबै सिटमा कांग्रेस, राजपा-फोरम र वाम गठबन्धनले उम्मेदवारी दिएका छन् ।

कांग्रेसले नसकेको कसरत

एमाले र माओवादीले दशैंका बेलामा अप्रत्याशित सहकार्यको घोषणा गरेपछि सुरुमा नेपाली कांग्रेस निकै आत्तिएको थियो । त्यसपछि उसले ‘कम्युनिष्ट प्रभावलाई रोक्न’ भन्दै लोकतान्त्रिक गठबन्धनको प्रयास गर्‍यो ।

यही प्रयासस्वरुप कांग्रेसले विजय गच्छदारको पार्टीलाई आफूसँग समाहित गर्न सफल भयो । यही क्रममा उसले राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग पनि तालमेल गर्‍यो । यसलाई नेपाली कांग्रेसको एक हदसम्मको सफलता नै मान्न सकिन्छ ।

यसवीचमा ०७० सालमा पार्टी छाडेका पूर्वसभासद शम्भु श्रेष्ठ लगायतलाई आफूतिर तानेर कांग्रेसले विभिन्न जिल्लामा आफूलाई वाम गठबन्धनको समकक्षमा उभ्याउने प्रयास गर्‍यो । जस्तै कैलालीमा उसले एमालेका पूर्वसासदलाई नै आफूतिर ल्यायो ।

तर, वामपन्थी प्रभावलाई रोक्नका लागि कांग्रेसले महत्वपूर्णरुपमा ध्यान दिनुपर्ने क्षेत्र थियो- २ नम्बर प्रदेश । नेपाली कांग्रेस आफ्नो राम्रो जनाधार रहेको र एमाले केही कमजोर ठानिएको यो प्रदेशमा राजपा र फोरमलाई आफ्नो गठबन्धनमा मिसाउन सकेको भए उसले एमाले-माओवादी गठबन्धनसँग काउण्टर गर्न निकै सहज हुने थियो ।

तर, नेपाली कांग्रेस मधेसको त्रिपक्षीय शक्ति सन्तुलनलाई दुई पक्षीय बनाउन सकेन ।

वाम-कांग्रेसवीच बनिरहेका बेग्ला गठबन्धनका कारण अब नेपालको राजनीति बहुदलीयबाट दुई दलीयतर्फ जाने धेरैको अनुमान थियो । तर, मधेसकै कारण अब भावी संसद दुईपक्षीय मात्रै नभएर त्रिकोणात्मक बन्ने देखिएको छ ।

किनभने मधेसमा राजपा र फोरमले चुनावी तालमेल गरेका छन् । र, यो तालमेलबाट उनीहरुले केही न केही शक्ति सञ्चय गर्ने अवस्था आउन सक्छ । त्यो स्थितिमा मधेसको राजनीतिले फेरि पनि सिंहदरबारमा आफ्नो उपस्थिति यथावत राख्ने सम्भावना छ ।

भलै नयाँ संविधानले राखेको थ्रेस होल्डको प्रावधानले अन्य सानातिना दलहरुलाई विसर्जन गराएको छ ।

राजपा-फोरम गठबन्धनमा बागीको बाढी

आपसी तालमेल गरेका राजपा र फोरम गठबन्धनमा टिकट नपाएको भन्दै बागी उठ्नेहरुको संख्या पनि ठूलै देखिएको छ । फोरम अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुर र राजपा अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरविरुद्ध राजपाका निवर्तमान सांसद चन्द्रेश्वर झा उठेका छन् ।

६ पार्टी मिलेर बनेको राजपाले प्रदेश २ मा झण्डै आधामात्रै हिस्सा पाएको छ । धेरै आंकाक्षीले टिकट नपाएपछि उनीहरु स्वतन्त्र उम्मेदवार बनेका छन् ।

बागी प्रकरणका कारण प्रदेश नम्बर २ को चुनावी प्रतिस्पर्धालाई अझ रोचक त बनाएको छ नै, तर राजपा र फोरममा बागीहरुको बिगबिगी रोकिएन भने त्यहाँ नेपाली कांग्रेसले लाभ लिने र वाम-कांग्रेसवीचमै दुई पक्षीय प्रतिस्पर्धा नहोला भन्न सकिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment